कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महेन्द्रराजमार्गको काम फेरि ठप्प

नारायण शर्मा

पूर्वी नवलपरासी — बुटवल–नारायणगढ अन्तर्गत महेन्द्रराजमार्ग फराकिलो पार्ने काम मंगलबारबाट फेरि रोकिएको छ । पूर्वी नवलपरासीको देवचुली, गैंडाकोट, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले सडक पुर्न दिनपर्ने खोलाजन्य पदार्थ नदिएकाले काम रोकिएको सडक कार्यालयको भनाइ छ ।

महेन्द्रराजमार्गको काम फेरि ठप्प

सडक निमार्णको ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोेरेशन लिमिटेडले नगरपालिकासँग सम्झौता गरिएको खोलाजन्य पदार्थ (ढुंगा, माटो) लैजान नदिएका कारण निर्माणको काम रोकिएको दाबी गरेको छ ।

कावासोती र देवचुली नगरपालिकाले थुपारेको खोलाजन्य पदार्थ सडकमा लैजान प्रहरीले नदिएको ठेकेदार कम्पनीको भनाइ छ । ग्राभेल र माटो बोकेका टिपर प्रहरीले रोकेपछि काम रोकिएको सडकका कन्सल्टेन्ट इन्जिनियर राकेश झाले बताए । 'खै किन रोकियो थाहा छैन,' झाले भने । नगरपालिकासँग सम्झौता गरेर खरिद गरिएको खोलाजन्य पदार्थ लैजान नपाएका कारण काम रोकिएको उनले सुनाए ।

यता सडक विभागका महानिर्देशक अर्जनजंग थापाले आफ्नो फेसबुकमा कावासोती र देवचुली नगरपालिकावाट राजश्व तिरेर नदीजन्य पदार्थ ल्याउँदा स्थानीय प्रशासनले अवरोध गरेका कारण रोकिएको दुखेसो पोखे । खोलाजन्य पदार्थ ल्याउन नपाउँदा हिजोबाट काम रोकिएको उनले फेसबुकमा लेखेका छन् । के कारणले कसले रोकेको हो भनेर बुझ्न खोज्दा महानिर्देशक थापाको मोबाइल अफ छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रशासनबाट कहीँ कतै कुनै प्रकारको अवरोध नभएको टेलिफोनमा बताए । 'हामी सबै हिसाबले काम चाडो होस् भन्ने गरेर सहयोग गरेकै छौं,' घिमिरेले भने, 'ठेकेदारहरु आफूले काम नगर्ने र दोष अन्यत्र लगाउने अभिप्राय के हो बुझी नसक्नु छ ।'

बुटवल नारायणगढ सडक खण्डका कन्सल्टेन्ट इन्जिनियर राकेश झाले नदीजन्य पदार्थ निकासी गर्न आफू अहिले कावासोती नगरपालिकामा आएर कुरा गरिरहेको टेलिफोनमा बताए । कावासोती नगरपालिका क्षेत्रमा सडक पिच गर्ने खोलाजन्य पदार्थ ठेकेदारले खरिद गरेको छ । त्यो नगरपालिकाबाट सडक पुर्ने ४३ हजार ५सय घन मिटर माटो र ग्राभेलका लागि नगरपालिकालाई १ करोड २३ लाख भुक्तानी गरेको छ ।

बुटवल नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमेटेडले १७ अर्बमा ठेक्का लिएको हो । ठेकेदारले समयमै काम नगरेका कारण राजमार्गमा खाल्डैखाल्डा र धुलाम्य छ । सडक बनाउने भनेर पिच उधिनेर फालेपछि फटाफट काम नगरेका कारण राजमार्गमा बनेका खाल्डाले यात्रा कष्टपूर्ण र जोखिम छ । राजमार्ग आसपासका घरहरुमा धुलोले बस्नै नसकिने अवस्था छ ।

घर र बिजुलीका पोल नभएको जंगल क्षेत्रमा समेत सडक पुर्ने र कालोपत्रे नगरेका कारण यात्रु मारमा परेका छन् । बजार र बिजुलीका पोल नसारिएका क्षेत्रमा काम गर्न अफठेरो भएपनि ठेकेदारले जंगल क्षेत्रमा समेत काम गरेका छैन । जंगल क्षेत्रमा बजार नरहेको र बिजुलीका पोलपनि किनारमा सारिसकेर पनि काम नहुँदा राजमार्ग धरापैधराप छ ।

सडक बिस्तारको काममा ढिलाइ गरेका कारण चिनियाँ ठेकेदारसँगको सम्झौता रोक्ने चेतावनी सडक विभागले दिएको थियो । नोभेम्बर १५ ( कात्तिक २९ गते) सम्मको अवधिमा काम सन्तोषजनक नभए चिनियाँ ठेकेदारसँगको सम्झौता रद्द गर्ने चेतावनी दिएपछि ठेकेदार कम्पनिले काम अघि बढाएको थियो । राजमार्गमा आवश्यक पर्ने खोलाजन्य पदार्थ र सरासर काम गर्ने सहज अवस्थामा काम नगरेर रमिता हेरेर बसेको भनेर ठेकेदारविरुद्ध स्थानीयले गैंडाकोट , प्रगतिनगर र दुम्कवासमा सडकमा प्रर्दशन समेत गरेका थिए ।

राजमार्ग फराकिलो पार्न भन्दै भएको पिच पनि भत्काएर खाल्डैखाल्डा बनाएर छोडेको र राजमार्गमा धुलो नउडाउन पानी समेत नहालेको भन्दै बेलाबेलामा स्थानीयले ठाउँठाउँमा ठेकेदारविरुद्ध प्रर्दशन हुने गरेको छ ।

प्रकाशित : मंसिर १, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?