कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वास गुमाउँदै उम्मेदवार

सम्झना रसाइली

तनहुँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । विभिन्न आश्वासन बाँड्दै घरदैलो र कृषकका खेतबारीमा नै पुगे पनि मतदाता भने उम्मेदवारप्रति खासै उत्साहित देखिँदैनन् । पटकपटक भोट हाल्दा पनि गाउँमा विकासको अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ ।

विश्वास गुमाउँदै उम्मेदवार

आधारभूत सेवा पनि सहजरूपमा उपभोग गर्न नपाउँदा मतदाता भने राजनीतिक दल र उम्मेदवारसँग रुष्ट देखिएका हुन् । भोट दिएर जिताएका जनप्रतिनिधिले आशाअनुरूप केही पनि काम गर्न नसकेको भन्दै यो पटक सोचेर मात्रै भोट दिने व्यास नगरपालिका–५ चुदेरका सञ्जय थापा बताउँछन् । भने, ‘गाउँमा सहज सडकको पहुँच छैन । गुणस्तरीय शिक्षा, खानेपानीको व्यवस्था छैन । निर्वाचनका मुखमा देखा परेका नेताहरूलाई केही गर्छन् कि भनेर भोट दियो, गाउँमा विकास त परको कुरा, त्यही नेता जितेर गएपछि फर्केर पनि आउँदैनन् ।’ उक्त क्षेत्रमा कच्ची सडक गए पनि पानी पर्दा रातोमाटोमा सवारीसाधन चल्न पनि मुस्किल हुने उनले बताए ।

यस्तै, नेताका भाषणमा मात्रै सीमित बनेका विकासका योजना सुनेर भोट दिन जान मन पनि नलागेको व्यास–५ स्थित सागेफाँटमा धान झाट्दै गरेकी दिलमाया थापाले बताइन् । ‘पटकपटकको चुनावमा गरिएका प्रतिबद्धता पूरा नगर्दा गत स्थानीय तहकै चुनावमा भोट दिन मन थिएन तर श्रीमान्ले कर गरेपछि दिएकी हुँ,’

उनले भनिन्, ‘जितेर गएको यत्रो समय भइसक्दा पनि गाउँको लागि केही काम गरेका छैनन् । नेताले हाम्रो भोटको कदर नै गरेको पाइएन ।’

यतिबेला पाकेको धान थन्काउन बिहानदेखि बेलुकासम्म खेतबारीमै व्यस्त भइरहेकी थापाले थपिन्, ‘उम्मेदवार पनि खेतबारीमै आएर भोट मागेका छन् । तर तिनै पुराना अनुहार देख्दा यो पटक पनि पहिलेको जस्तै चुनाव जित्न मात्र हामीलाई सिंढीका रूपमा प्रयोग गर्न लागेका हुनजस्तो लागेको छ । त्यही भएर पनि भोट दिन जान मन छैन ।’

धानको कुन्यू लगाउँदै गरेका भेटिएका म्याग्दे गाउँपालिका–७ पवरका गोवर्धन काफ्ले युवा र सक्षम उम्मेदवारको खोजीमा रहेको बताउँछन् । उनले भने, ‘भोट माग्दै धेरै आए, सबैलाई हुन्छ त भनेका छौं । तर, यसपटक भोट हाल्न भने सोचविचार गर्नेछौं ।’ आधारभूत आवश्यकतालाई सहज रूपमा उपभोग गर्ने वातावरण बनाइदिने, उत्पादित कृषि उपजको उचित मूल्य र बजारीकरणको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र भोट दिने मनस्थिति बनाएका काफ्लेले भने, ‘चुनावका बेला घरआँगनमा आएर लोभलाग्दा आश्वासन बाढेर जितेर जाने तर पछि फर्किएर नआउने नेता हामीलाई चाहिएको छैन । हामीले जिताएका नेता हाम्रो आवश्यकता र समस्यासँग हातेमालो गर्ने खालको हुनुपर्छ ।’

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि ४ जना स्वतन्त्र र विभिन्न राजनीतिक दलका गरी ११ जना र तनहुँ–२ बाट विभिन्न राजनीतिक दलका गरी १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, तनहु–१ (१) मा २ जना स्वतन्त्र गरी ११, तनहुँ–१ (२) मा ७, तनहुँ–२ (१) ८ जना र तनहुँ–२ (२) मा ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित : मंसिर १, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?