२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

उदीपुर सडक ४ महिनापछि खुल्यो

आश गुरुङ

लमजुङ — बेंसीसहर–डुम्रे राजमार्गमा पर्ने लमजुङको उदीपुर सडकमा अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको छ । वैकल्पिक सडक निर्माण गरिएसँगै ४ महिनापछि उक्त सडक भएर सवारी आवागमन हुन थालेको छ ।

उदीपुर सडक ४ महिनापछि खुल्यो

बेंसीसहर नगरपालिका–१ का वडाअध्यक्ष दुर्गाबहादुर बुढाथोकीका अनुसार गत असार ४ मा उदीपुरको देउराली डाँडाबाट पहिरो खस्दा डाइभर्सन बगाएको थियो । बेंसीसहर–डुम्रे सडकलाई उदीपुर चिप्लेटी नजिकै मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइड हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बाटो भएर पुरानो बाटो रिट्ठेबगर हुँदै उदीपुर निस्कने गरी डाइभर्सन सडक सञ्चालनमा ल्याइएको उनले बताए । डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने यो सडक मनाङ जाने एक मात्र बाटो हो । लमजुङ र मनाङका बासिन्दालाई प्रभावित पार्ने गरी पहिरो गएकोमा सडक निर्माणकार्य ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सडक कार्यालयका तर्फबाट सडक निर्माण गरिनुपर्नेमा स्थानीय तहकोसमेत दायित्व सम्झेर सडक निर्माण गरिएको बताए । ‘यसअघि पानी परिरहेको थियो । हामीले पानी पर्न रोकिएपछि अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गर्ने तयारी गरेका थियौं । पानी पर्न रोकिएपछि हामीले सडक निर्माण गरेका छौं । नगरपालिकाले इन्धन उपलब्ध गराएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बेंसीसहर नगरपालिकाले इन्धन उपलब्ध गराउने, मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रले आवश्यक फलामका पोल उपलब्ध गराउने र डुम्रे–बेंसीसहर–चामे सडक योजनाको प्राविधिक र मेसिनरी सामग्री सहयोग उपलब्ध गराउने छलफलपछि वैकल्पिक सडक निर्माण गरिएको उनले बताए । उनका अनुसार कात्तिक १६ गतेदेखि वैकल्पिक सडक निर्माण गरिएको र अहिले सवारी गुड्न थालिएको बताए । ‘डाइभर्सनबाट सवारी आवतजावत गर्दा दुर्घटना हुने, असहज हुने र घण्टौं जाम हुने समस्या भयो । हामीले वैकल्पिक उपाय निकाल्यौं । यो बाटो बर्खायाममा खोल्न सक्ने अवस्था थिएन,’ उनले भने । चुनावको समयमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै नेपाली सेनाको ब्यारेकभित्रै ओहोरदोहोर गर्ने कार्यलाई रोक्न पनि अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको उनले बताए ।

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार १ सय ६० मिटर चौडाइको पहिरो खसेको छ । अहिले कम्तीमा ५ मिटर चौडाइको १ सय मिटर लामो सडक बनाइएको उनले बताए । ‘अहिले वैकल्पिक रूपमा पहिरोबाटै अस्थायी सडक निर्माण गरिएको छ । सडक निर्माणका लागि टेन्डर खुल्दै छ,’ उनले भने । गतवर्ष भदौ ११ मा पहिरो खसेपछि अस्थायी रूपमा डाइभर्सन निकालेर सवारीसाधन आवागमन गरिएको थियो । उक्त सडक पनि गत असार ४ को पहिरोले बगाएपछि वैकल्पिक रूपमा मस्र्याङ्दी नदीको तीरैतीर डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाइभर्सनबाटै उठाइने र यसका लागि १८ करोड रुपैयाँ बजेट स्वीकृत भएको उनले बताए । उक्त बजेटबाट यसअघिको सडक नै जोडिने गरी १ सय ६० मिटरको सडक बन्ने छ । मर्स्याङ्दीको पानीको सतहबाट आरसीसी ढलान पर्खाल लगाएर अहिलेको डाइभर्सन सडकलाई पक्की बनाउने र त्यसपछि पर्खाल साथै जाली लगाइने उनले बताए । उनका अनुसार सडक निर्माण गर्दा ४५ लेयर मात्रै ग्याविन जाली लगाइनेछ । बायो इन्जिनियरिङका लागि तल्लो भागहरुमा बाँस लगाउने प्रविधि भित्र्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?