३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चार दशकदेखि लालपुर्जाको आश्वासन

‘जसले पुर्जा दिने लिखित कागज गर्दछ, हामी बोटे, माझी मुसहर सबैले सोही व्यक्तिलाई भोट हाल्ने हो । अब पार्टी होइन व्यक्ति हेरेर भोट’
नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१५ का दानेश्वर माझी माछा मार्नका लागि नयाँ जाल बुन्न व्यस्त छन् । माछा मारेर दैनिक गुजारा चलाउने उनलाई चुनाव नजिकिएको थाहा नभएको हैन । तैपनि उनी यस पटक कुनै पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भएका छैनन् ।

चार दशकदेखि लालपुर्जाको आश्वासन

अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसकेका माझीलाई नेता र उम्मेदवारले दिएका आश्वासन पूरा भएका छैनन् । त्यसैले अहिलेको चुनावमा उनलाई खासै चासो लागेको छैन ।

२०३५ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा दिने नेता र जनप्रतिनिधिको ४० वर्षदेखिको आश्वासन कहिले पूरा हुने हो उनलाई पत्तो छैन । जग्गाको पुर्जा भएमा सानोतिनो भए पनि व्यवसाय गर्ने सोचमा रहेका उनीसँग आर्थिक स्रोत छैन । दिनहुँ नारायणी नदी र गुन्द्रही खोलामा माछा मारेर जीविकोपार्जन गर्छन् ।

‘४० वर्षदेखि पुर्जा दिन्छु भनेर भोट मागेको छन् । चुनाव जितेपछि अनेकौ बहाना बनाउँछन् । अहिले फेरि लालपुर्जा दिन्छौँ भन्दै भोट माग्न आएका छन्,’ उनले भने, ‘अब कसैको कुरामा विश्वास लागेको छैन । जसले पुर्जा दिने लिखित कागज गर्दछ, हामी बोटे, माझी मुसहर सबैले सोही व्यक्तिलाई भोट हाल्ने हो । अब पार्टी होइन व्यक्ति हेरेर भोट दिने हो ।’

कावासोती–१५ बोटे बस्तीकै ३१ वर्षीय सिखाराम माझी विदेश जाने सोचमा छन् । तर, लालपुर्जा नहुँदा बैंक र सहकारीले ऋण नदिएपछि गाउँघरमै मजदुरी गरेर दिनचर्या काटिरहेका छन् । करिब १० कट्ठा जग्गा उनीहरूले वर्षौंदेखि खेती गर्दै आएका छन् । जंगलको नजिकै भएकाले लगाएको खेती जंगली जनावरले नष्ट गरिदिन्छ । बाँकी रहेको खेतीले वर्षभरि खान पुग्दैन । ‘आफ्नो जग्गाको प्रमाण नहुँदा बेरोजगार भएर बस्नुपरेको छ । बुवाको पालामा नै पाउनुपर्ने पुर्जा अहिले पनि पाएका छैनौं,’ उनले भने, ‘आश्वासन दिएर हामी गरिबको भोट लिने र त्यसपछि एक्कासि चुनावमा मात्र फर्किएर आउने प्रचलन बन्द हुनुपर्छ । गाउँमा एक दिन आएर भोज गरेर भोट दिने प्रचलन अब हामीबाटै बन्द गर्नुपर्छ ।’

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो बस्तिमा बर्सेनि डुबानको समस्या आउने गर्छ । जंगल नजिकै रहेको बस्तीमा गैंडा, बँदेल, हरिणलगायत जंगली जनावरले मानिस तथा खेतीमा बर्सेनि क्षति पुर्‍याउँछन् । तर पनि अहिलेसम्म यो समस्या हटेको छैन । चुनावमा मात्र नेता यो बस्तीमा पस्ने गर्छन् । अन्य समयमा यहाँको समस्या र पिरमर्का सुन्ने, बुझ्ने कोही नरहेको स्थानीय बताउँछन । गरिबीको कारण कलिलो उमेरमा विवाह गर्ने र अध्ययन बीचमै छाड्नुपर्ने बाध्यतामा स्थानीय छन् ।

‘गरिबी र चेतनाको कमीको कारण यो बस्तीमा कलिलै उमेरमा विवाह गर्ने र यो बस्तीको मुख्य समस्या भोगचलन गरेको जग्गाको पुर्जा नपाउँदा सुकुम्बासी हुनुपरेको पीडा छ,’ भूमि अधिकारकर्मी सन्तबहादुर माझीले भने, ‘हामी जिल्लादेखि केन्द्रका नेतासम्म पुगिसकेका छौं । तर पनि अहिलेसम्म आश्वासनबाहेक केही पाएका छैनौं ।’ प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवार र स्वतन्त्र उम्मदेवार अहिले पनि यो बस्तीमा लालपुर्जा र गरिबी उन्मूलनको नारा लिएर घरदैलौ गर्दैछन् । पूर्वी नवलपरासीमा मात्र करिब १५ हजार भूमिहीन र अव्यवस्थित बसोबासी छन् ।

प्रकाशित : कार्तिक २४, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?