२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लमजुङ कारागारका बन्दीले लगाए भाइटीका

आश गुरुङ

लमजुङ — लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए ।

लमजुङ कारागारका बन्दीले लगाए भाइटीका

पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदै दक्षिणा र उपहार दिए । दाजुभाइले कारागारभित्रै मुडा बुनेर कमाएको रकम दिदीबहिनीलाई दक्षिण दिएका हुन् । टीका थाप्ने र लगाउने क्रममा कतिपय कैदीबन्दी र दिदीबहिनी रोएका थिए ।

कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाट गरी टीका लगाउने व्यवस्था मिलाएको जेलर तामाङले बताए । कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन गरेको थियो ।

बिहानको साइत ११ बजेर ३७ मिनेट जाँदाको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्था मिलाएको जेलर ताराबहादुर तामाङले बताए । उनका अनुसार अधिकांशले टीका लगाए पनि दिदीबहिनी नआउँदा र दिदीबहिनी नभएका कतिपयले टीका लगाउन पाएनन् ।

महिला कैदीबन्दीका आफन्तहरू भेटघाटका लागि आए पनि दाजुभाइ नआउँदा उनीहरूको हात खाली भएको जेलर तामाङले बताए । ३५ जना क्षमताको लमजुङ कारागारमा १ सय ४ जना कैदीबन्दी छन् । महिला कैदीबन्दी ५ जना छन् । टाढा–टाढाबाट दिदीबहिनीहरू आएकाले उनीहरूका लागि साँझ ५ बजेसम्म टीका लगाउने व्यवस्था मिलाएको जेलर तामाङले बताए ।

प्रकाशित : कार्तिक १०, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?