कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्राफिक कार्यालयको राजश्व संकलन ८० प्रतिशतले वृद्धि

प्रकाश बराल

बागलुङ — जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा ८० प्रतिशतभन्दा बढी राजश्व संकलन गरेको छ । 

ट्राफिक कार्यालयको राजश्व संकलन ८० प्रतिशतले वृद्धि

गत आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा १० लाख ७३ हजार राजश्व संकलन भएकोमा चालु वर्षको सोही अवधिमा जिल्ला ट्राफिकले १८ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो ।

ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजश्वसमेत बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए । अघिल्लो वर्षको तुलनामा नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको केसीले जानकारी दिए ।

गत वर्षको तीन महिनामा १ हजार ८ सय सवारी साधन कारबाहीमा परेका थिए भने चालु वर्ष २ हजार ८ सय सवारी कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । लाइसेन्स बिनै हिड्ने, जथाभावी बाटो काट्ने, नियम पलना नगर्ने जस्ता धेरै अनियमितता हुने गरेको उनले बताए । त्यसपछि अनियमितता गर्नेमा रातो प्लेटका पिकअप जिपहरू रहेको केसीले जानकारी दिए ।

रातो प्लेटका पिकअप जिपमा यात्रु ओसार्ने साथै क्षमताभन्दा बढी यात्रु राखेर चलाउने गरेको भेटिएको हो । बागलुङ सदरमुकामबाट दक्षिणको जैमिनी र बरेङ तथा बलेवातर्फ १ सयभन्दा बढी, गलकोट, बुर्तिवाङ, ताराखोला लगायत स्थानमा २ सय ५० बढी रातो प्लेटका पिकअपले नियमित यात्रु बोकेको प्रहरीको तथ्यांक छ ।

‘गाडीभित्रका सिटमा मात्रै राखेर हिँड्दा हामीले चासो पनि गर्दैनौं, तर सामान राख्ने स्थान र छतमा समेत यात्री राख्दा कारबाही गरेका छौं,’ केसीले भने, ‘नियम पालना गर्दा कतिपय यात्रीले दुःख पाएका छन् ।’ ग्रामीण बस्तीमा रातो प्लेटका पिकअपले यात्री ओसोर्ने गरेका छन् । यहाँ कालो प्लेटका जिप चल्दैनन् । सामान ओसार्दा दुइ/चारजना यात्री लगेमा प्रहरीले वास्ता नगर्ने गरेको हो । चाडपर्वमा यो क्रम बढी छ । ‘ग्रामीण सडकहरू मर्मत नभएर जोखिमका छन्, त्यसमा कोचाकोच यात्री राख्दा दुर्घटनाको खतरा छ,’ केसीले भने, ‘सबैले यो समस्या व्यवस्थापनमा साथ दिनुपर्छ ।’

सदरमुकाम र मुख्य बजारी क्षेत्रमा हुने अव्यवस्थित पार्किङले पनि दुर्घटना बढाएको उनले बताए । त्यस्तै जथाभावी पार्किङ गरेकालाई कारबाही पनि चलाइएको छ । बिगत तीन वर्षदेखि बागलुङ बजारमा एकतर्फी नो पार्किङको व्यवस्था गरिएको छ ।

त्यसले बजारमा हुने दुर्घटनामा न्यूनिकरण गरेको छ । तर कतिपय स्थानमा दोहोरो पार्किङ गरेर छाड्ने प्रवृत्ति हटाउन ट्राफिकले जनप्रतिनिधि र व्यवसायीसँग समन्वयात्मक कार्यक्रम गरेको छ । उक्त अभियान सफल पार्न बागलुङ नगरपालिकलो व्यवस्थित पार्किङ स्थल बनाउन पहल गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । ट्राफिक व्यवस्थापनका लागि जनचेतना अभियान पनि चलाइएको छ । अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्ष सामुदायिक प्रहरी, जनप्रतिनिधि समेतको सहभागितामा यो क्रम बढाइएको छ ।

प्रकाशित : कार्तिक ८, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?