कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

प्रचारमा कडाइपछि उम्मेदवार घरघरमा

निर्वाचन आचारसंहिताले र्‍याली, माइकिङ, आमसभा, भोजभतेरलगायत प्रचारप्रसारमा कडाइ गरेपछि दलहरु मतदाता भेट्दै, गुनासो सुन्दै, मत माग्दै
गण्डकी प्रदेश ब्युरो

पोखरा — अघिल्ला निर्वाचनमा मनोनयन दर्ता लगत्तैका र्‍याली, माइकिङ, आमसभा र भोजभतेरले चुनावी माहौल बनाउँथ्यो । तर यसपटक मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा गर्न नपाउने निर्वाचन आचारसंहितापछि रौनक खासै देखिएको छैन । निर्वाचन आयोगको निर्णयले राजनीतिक दल र उम्मेदवार प्रचार प्रसारमा खुम्चिनु परेको हो ।

प्रचारमा कडाइपछि उम्मेदवार घरघरमा

उनीहरूले अहिले घरदैलो अभियान गरिरहेका छन । साथै प्रचारशैली बदल्दै सञ्चार प्रविधि केन्द्रित भएका छन् । विभिन्नि कोठे भेला, आन्तरिक तयारी र व्यवस्थापनमा लागेका छन् । निर्वाचन आचारसंहिताअनुसार कात्तिक १८ बाट मात्रै चुनावी सभा गर्न पाइनेछ । अहिले भने २५ जनासम्मको समुहमा मतदाताको घरदैलो कार्यक्रम भने गर्न सक्ने भएकाले सोही अनुसार दल र उम्मेदवार मतदाताकोमा पुग्न थालेका छन ।

पर्वतमा चुनावी गतिविधि उल्लेख्य मात्रामा देखिएको छैन । गत २३ कात्तिकमा उम्मेदवारी दर्ता गर्ने समय सदरमुकाम कुश्मामा गठबन्धन र एमालेका समर्थकको र्‍याली देखेका मतदाताले निर्वाचनको झल्को महसुस गरेका थिए । ‘ठाउँठाउँमा आमसभा, भोजभतेर हुन्थे । बाजागाजा, र्‍याली र नाराबाजी हुन्थे । चुनावको छुट्टै रौनक हुन्थ्यो,’ विगतका निर्वाचनको स्मरण गर्दै सदरमुकाम कुश्माकी शाबित्री थापाले भनिन्, ‘अहिले चुनाव आएको हो कि होइन अत्तोपत्तो छैन ।’

राजनीतिक दल र उम्मेदवारले प्रचारशैली बदलेका छन् । नाराबाजी, बिरोध र समर्थन, चुनावी सभामा सवारीसाधनको प्रयोग, शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतलाई आचारसंहिताले रोक लगाएसंगै प्रचारको शैली बदलिएको छ । उम्मेदवारले प्रचारलाई सामाजिक सञ्चाल केन्द्रित गर्दै कोठे भेला, आन्तरिक तयारी, घरदैलो लगायतमा लागेका छन् । एमालेको चुनावी प्रचार अभियानका संयोजक एवं जिल्ला उपाध्यक्ष पदमपाणि शर्माले युग सुहाउँदो प्रचार अभियानको शैली अपनाइएको बताए । ‘अहिले प्रचार गर्ने भनेको प्रविधिमार्फत हो । युगसुहाउँदो शैली नअपनाए मतदाता आकर्षित गर्न सकिँदैन,’ उनले भने, ‘पहिलाजस्तो भाषण गरेर, एकअर्काको बिरोध गरेर कसैले मत दिनेवाला छैनन् । आफ्ना एजेन्डा मतदातालाई जानकारी गराउने हो ।’

उनका अनुसार प्रदेश र संघका उम्मेदवार घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । कांग्रेसका सहसचिव एवं प्रवक्ता अच्यूत तिवारीका अनुसार आचारसंहिता पालना मात्रै नभएर युवा मतदाताले अधिक प्रयोग गर्ने सामाजिक सञ्जालको प्रयोग गरेर प्रचारमा तीव्रता दिइएको छ । ‘गठबन्धन दलका छलफल, भेला र अन्तरक्रिया भइरहेका छन्,’ उनले भने, ‘मान्छे भेला पारेर भाषण गरेर मात्रै मत बढ्ने होइन ।’ उम्मेदवारले व्यक्तिगत र आफ्ना दलका पालामा भएका विकासनिर्माणका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्दै मतदाता प्रभावित पार्न लागिपरेका छन् ।

म्याग्दीमा पनि उम्मेदवार मतदाताको घरदैलो, भेटघाट र आर्थिक व्यवस्थापनको चाँजोपाँजो मिलाउन व्यस्त छन् । खुल्ला चुनावी कार्यक्रमभन्दा आर्थिक स्रोत जुटाउने, कार्यकर्ता परिचालन गर्ने रणनीति तयार पार्न कोठे बैठक, भेला तीव्र पारेका छन् । भौगोलिक विकटता र छरिएका बस्तीका कारण सबै मतदाता र बस्तीमा पुग्न कठिन हुँदाहुँदै पनि उम्मेदवार भ्याएसम्म घरदैलो गरिरहेका छन् । ‘कार्यकर्ता भेटघाट, परिचालन गर्ने, मतदाताको घरदैलोमा पुग्ने काममा छु,’ एमालेका प्रदेशसभा क्षेत्र नं. १ का देवेन्द्रबहादुर कटुवालले भने, ‘आचारसंहिताले प्रचार समयावधि घटाउँदा सबै मतदाताको दैलोमा पुग्न नसकिने रहेछ । प्रचारको तडकभडक रोकेर भने राम्रो गरेको छ ।’

म्याग्दीमा ४ सय ५ वटा मुख्य बस्ती छन् । मोटरबाटोको पहुँच नपुगेका छरिएका बस्तीमा पुग्न र स्तरीय सडक नहुँदा पैदल हिँडेर मतदाताको दैलोमा पुग्न समस्या भएको दलहरूले गुनासो गरेका छन् । प्रदेश सभातर्फका उम्मेदवारलाई सवै वडामा पुग्न सजिलो भए पनि प्रतिनिधिसभाका उम्मेदवारलाई भने १५ दिनमा सबै वडामा पुग्न नभ्याइने भएको छ । दलहरूले चुनाव प्रचार अवधि थोरै र बस्ती धेरै भएपछि तीनदेखि चार वटासम्म बस्ती भ्याउने गरी चुनावी कार्यक्रम बनाएका छन् । ‘कार्यकर्ता भेटघाट, भेला, बैठक र व्यवस्थापकीय काममै लागेको छु,’ प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजाले भने, ‘ठूला कार्यक्रम बनाएको छैन । स–सानो संख्यामा दिनमा ३–४ वटा बस्तीमा पुग्ने गरी कार्यक्रम बनाएको छु । परम्परागत चुनावी प्रचारशैली फेरिएको छ ।’

गोरखामा उम्मेदवार आन्तरिक भेटघाटमा व्यस्त छन् । एमालेका उम्मेदवार कार्यकर्तासँग आन्तरिक भेटघाटमा छन् । कार्यकर्ता भेला र प्रशिक्षण भए पनि चोक र सहरमा कोणसभालगायत चुनावी गतिविधि सुरु भएको छैन । सत्ता गठबन्धनका उम्मेदवारले भने संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । गत २८ असोजमा माओवादी केन्द्रले कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दियो । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता, कार्यकर्ताले कार्यकर्तालाई चुनावी एजेन्डा र रणनीतिबारे प्रशिक्षित गरेका हुन् । २९ असोजमा सत्ता गठवन्धनले संयुक्त कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार परिचय कार्यक्रम गरे ।

तनहुँमा उम्मेदवारहरू गाउँ छिर्न थालेका छन् । प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनबाट अलग्गिएर नेकपा एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएको छ । गठबन्धनमा कांग्रेस र माओवादी मात्र सहभागी छन् । उनीहरू आ–आफ्नो उम्मेदवार लिएर मतदातासँग भेटघाट सुरु गरेका छन् । अन्य राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि यतिबेला मतदाताको घरदैलोमै व्यस्त छन् । सोमबार निर्वाचन क्षेत्र नं. १ को देवघाट गाउँपालिका र भानु नगरपालिका तथा क्षेत्र नं. २ को मादीखोला पारीको केही स्थानमा मतदातासँग भेटघाट कार्यक्रम गरेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । सत्ता गठबन्धनबाट घरदैलो कार्यक्रममा तनहुँ–१ का उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, १ (१) का उम्मेदवार कांग्रेसका अशोककुमार श्रेष्ठ र १ (२) का उम्मेदवार माओवादीका हरिबहादुर चुमान लागिपरेका छन् ।

खनालले भने, ‘अहिले हामीले पालिकास्तरीय भेटघाट कार्यक्रमलाई अगाडि बढाएका छौं । अब एकदुई दिनमै वडास्तरीय भेटघाट कार्यक्रम अगाडि बढाउनेछौं ।’ एउटा पार्टीको व्यानर र एक/एकवटा पार्टीको झन्डा लिएर जनतामाझ पुगेको उनी बताउँछन् । उनले थपे, ‘खाली हात जाँदा जनतालाई को आयो को गयो हुने भएको थियो । दुई दिनअघि निर्वाचन कार्यालयले एउटा पार्टीको झन्डा र एउटा ब्यानर लिएर हिँड्न अनुमति दिएपछि सोहीअनुसार घरदैलो गरिएको हो ।’

मतदाता भेटघाटको कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको एमालेबाट तनहुँ–१ मा उम्मेदवारी दिएका एकबहादुर रानाले बताए । घरदैलो गर्दा मत मात्र नमागी मतदाताको आशा, आकांक्षा पनि सुनेको र मतदाताले सोचेको विकासलाई पूर्णरूप दिने रानाले बताए । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी पनि घरदैलोमा व्यस्त छन् । यता नेकपा एस भने प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनबाट बाहिरीएर आफ्नै उम्मेदवार उठाएर मत माग्न घरदैलो गरिरहेको जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए ।

बागलुङका उम्मेदवारहरू पनि घरदैलोमा छन । बागलुङ क्षेत्र नं. १ का सत्ता गठबन्धनका उमेदवार चित्रबहादुर केसी अहिले गाउँ पसिसकेका छैनन् । उनले पहिलो चरणमा सदरमुकाम आसपासमा घरदैलो र मतदाता भेट्न व्यस्त छन् । तिहारपछि मात्रै उनले गाउँ पस्ने संकेत गरे । प्रदेशसभा १ का दीपेन्द्रबहादुर थापा र २ का डिल्लीराम सुवेदीले पनि घरदैलो गरिरहेको बताए । सुवेदी दक्षिण बागलुङका केही गाउँमा पुगिसकेका छन् भने थापा सदरमुकाममै छन् ।

क्षेत्र नं १ कै एमालेका उम्मेदवार सूर्य पाठक भने दक्षिण बागलुङमा पसेका छन । ‘शनिबारदेखिनै दक्षिण बागलुङका क्षेत्रमा प्रचारमा छौं,’ पाठकले भने, ‘केही स–साना सभा आयोजना गरेर चुनावको जानकारी दियौं, अब अन्य कार्यक्रम बनाउँदै छौं ।’ उनले यसपटक आमसभा नभई फरक ढंगले लाग्ने बताए । आवश्यक सुझाव संकलनका लागि पनि लागेको उनको भनाइ छ ।

क्षेत्र नं २ मा भने सत्ता गठबन्धन र एमाले उम्मेदवारहरू चुनावी सभासमेत गर्न थालेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गलकोट क्षेत्रमा केही सभालाई सम्बोधनसमेत गरेका छन् । उनको क्षेत्रमा ४७ वटा वडा रहेकोले वडैपिच्छे कार्यक्रम गर्न नभ्याइने भएपछि केही बजार क्षेत्रमा आमसभा गर्ने र अन्यमा भेटघाटमा बढी केन्द्रित हुने योजना बनाएको बताए । एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसे पनि घरदैलोमै छिन् । यो पटक सार्वजनिक स्थानमा भाषण गरेरभन्दा जनतालाई भेट्ने गरी उनीहरू जुटेको देखिएको हो ।

अघिल्लापटकजस्तो उनीहरूले सामाजिक सञ्जारमा तस्बिर राखेर प्रचार पनि गरेका छैनन् । बरु खेतबारीमा काम गरेका किसानलाई नै भेट्ने र चुनावको जानकारी गराउने काममा लागेका हुन् । ‘ताराखोलाका किसानसँग मत माग्दै छु,’ चालिसेले भनिन्, ‘ठूलो समूह नबनाई स–सानो समूहमा मत माग्न हिँडेका छौं ।’ उनले प्रचारको अन्तिमतिर केही आमसभा गर्नेबाहेक अरु समय घरघरमै पुगेर मत माग्ने बताइन् । हालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने सामाजिक सञ्जालमा पनि मत मागेको छ । उनीहरूले पुराना राजनीतिक दलभन्दा फरक बनेर मत माग्ने बताए । घरटोलमा पुग्दा उनीहरूले पुराना दलको आलोचना गरेर मत मागेका छन् । ‘तिहारपछि प्रचारका काम बढी हुन्छन्, अहिले तयारी र योजना बनाउनमा व्यस्त छौं’ कांग्रेस सचिव हरिहर शर्माले भने, ‘गठबन्धनको आवश्यकताबारे सबैलाई सन्देश पुर्‍याउने लक्ष्य छ ।’ एमाले जिल्ला अध्यक्ष हीराबहादुर खत्रीले प्रचारको शैली पुरानोभन्दा फरक बनाएको बताए ।

लमजुङमा राजनीतिक दलका उम्मेदवार, नेताहरू भेला, बैठक, छलफलमा जुटेका छन् । उनीहरूले यो समय दसैंतिहार, छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रसाद साथै उम्मेदवार परिचय कार्यक्रम भन्दै गाउँगाउँमा औपचारिक कार्यक्रम गरी चुनाव प्रचारप्रसार गरिरहेका छन् । एमाले सचिव शुभास पौडेलले चुनावका औपचारिक कार्यक्रम कात्तिक १७ पछि हुने र अहिले भने नेताहरूले भेटघाट गरिरहेको बताए ।

‘हामीले चुनावी आमसभाको आयोजना गरेका छैनौं । अहिले पार्टीका वडा तथा पालिकास्तरीय अनौपचारिक कार्यक्रममा हामी गइरहेका छौं’ उनले भने । प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन रहेको लमजुङमा एमालेका उम्मेदवार पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ छन् । प्रदेशसभा ‘१’ मा जमीन्द्रमान घले र ‘२’ मा कृष्णप्रसाद अधिकारी छन् । उनीहरूले घरदैलो अभियान पनि थालेका छन् ।

सत्ता गठबन्धनले छुट्टाछुट्टै तथा सँगसँगै कार्यक्रम गरिरहेका छन् । उनीहरूले गठबन्धनका तर्फबाट नागरिकलाई अपिल, पत्रकार भेटघाट, शुभकामना आदानप्रसाद, भेला, बैठक, छलफललगायत गरेका छन् । सत्ता गठबन्धनका शिक्षक संगठन, विभिन्न जातीय संगठनहरूले पनि उम्मेदवार बोलाएर चुनाव प्रचारप्रसार गरिरहेका छन् । उनीहरूले घरदैलो अभियान पनि थालेका छन् ।

कांग्रेस सचिव कृष्णबहादुर अधिकारीले गठबन्धनका तर्फबाट उम्मेदवारले घरदैलो, भेला, बैठक, छलफललगायत गरिरहेको बताए । माओवादी केन्द्रका कार्यालय सचिव हरिजंग तामाङले चुनाव प्रचारप्रसारका कार्यक्रम सुरु भएको बताए । उनले घरदैलो, भेला, बैठक, छलफललगायत कार्यक्रम भइरहेको बताए ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, प्रदेश सभा ‘१’ मा कांग्रेसका टकराज गुरुङ र ‘२’ मा कांग्रेसकै भेषबहादुर पौडेल उम्मेदवार छन् । यस्तै, राप्रपा, जसपा, बीपी कांग्रेस, स्वतन्त्रलगायतका नेता तथा उम्मेदवारले पनि आ–आफ्नो प्रचारप्रसार थालेका छन् ।

अगन्धर तिवारी (पर्वत), घनश्याम खड्का (म्याग्दी), हरिराम उप्रेती (गोरखा), सम्झना रसाइली (तनहुँ), प्रकाश बराल (बागलुङ) र आश गुरुङ (लमजुङ)

प्रकाशित : कार्तिक १, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?