२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मतदान केन्द्रमा अनुगमन गरिँदै

आश गुरुङ

लमजुङ — प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतदानस्थल तथा मतदान केन्द्रबारे निर्वाचन र सुरक्षा निकायले चासो देखाएको छ ।विगतका निर्वाचनका आधारमा तोकिएका मतदानस्थल र केन्द्रको अवस्थाबारे सूक्ष्म तवरबाट बुझ्न सुरक्षा निकाय र निर्वाचनको टोलीले अनुगमन तथा निरीक्षण थालेको छ ।

मतदान केन्द्रमा अनुगमन गरिँदै

टोलीले मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौतीको अवस्था, यातायात सुविधा, नागरिकलाई मतदान गर्न आउँदाको सहजतालगायतबारे स्थलगत अनुमगन तथा निरीक्षण थालेको हो ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको समय कात्तिक १७ देखि तोके पनि राजनीतिक दलले विभिन्न माध्यमबाट अप्रत्यक्ष रूपमा चुनावी अभियान थालिसकेका छन् । ‘चुनाव नजिकिँदै गर्दा सुरक्षा चुनौती बढ्दै जाने हो । हामीले मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन थालेका छौं । ती ठाउँको वस्तुस्थिति बुझ्न थालेका छौं,’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भने ।

टोलीले हालसम्म बेंसीसहर नगरपालिका र सुन्दरबजार नगरपालिकाका अधिकांश मतदानस्थल र केन्द्रको अनुगमन गरिसकेका छन् । थप ठाउँहरूमा जाने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार सुरक्षा निकायबाट सुरक्षाबारे निरीक्षण तथा अनुगमन हुन्छ । निर्वाचनको टिमबाट भौगोलिक अवस्था, सहजता, यातायात, विपद् आइपरेमा तत्काल उद्धारसमेतको अवस्थाबारे हेरेको उनले बताए । ‘चुनावलाई निष्पक्ष, भयरहित र शान्तपूर्ण ढंगबाट सम्पन्न गराउने मूल उद्देश्य हो,’ उनले भने ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले गाउँ–गाउँमा निर्वाचनको आचारसंहिता उल्लंघन भए/नभएको बारे अनुगमन गरिएको बताए ।

निरीक्षण तथा अनुगमन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसमेत छन् । जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित १ सय ३० मतदानस्थल र १ सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा १ लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । लमजुङमा निर्वाचन सुरक्षार्थ २ हजार ३ सय ७६ सुरक्षाकर्मी खटिँदै छन् ।

प्रकाशित : कार्तिक १, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?