३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

अस्पतालमै छैन न्यूनतम सेवा

बागलुङ

बागलुङ — संविधानले सबै नागरिकलाई न्यूनतम स्वास्थ्य सेवा पाउने हक दिएको छ । धारा ३५ ले दिएको स्वास्थ्यको हक पूरा गर्न सबै स्वास्थ्य संस्थामा न्यूनतम सूचक पूरा गर्नुपर्ने कानुनी प्रावधान छ ।

अस्पतालमै छैन न्यूनतम सेवा

तर बागलुङका सबै संस्थामा अझै न्यूनतम सूचक पूरा भएका छैनन् । कुल एक सय अंकमध्ये २० अंक सुशासनमा, ६० अंक चिकित्सकीय सेवामा र २० अंक सहयोग र व्यवस्थापनमा दिने प्रावधान छ । सोही अनुसार स्वास्थ्य कार्यालयले जिल्ला भरका ६० वटा संस्थामा अनुगमन गरेर सूचकको पहिचान गर्न थालेको छ । काम थालिएका संस्थामा न्यूनतम सूचक पूरा हुन नसकेको भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

सदरमुकामस्थित धौलागिरि अस्पतालमा गरिएको अध्ययनमा अस्पतालले ८३ अंक पाएको छ । मापदण्डअनुसार कम्तीमा ८४ अंक ल्याएपछि उक्त संस्थामा हरियो संकेत गरिन्छ । हरियो संकेत भनेको न्यूनतम मापदण्ड पूरा गरेको भन्ने हो । उत्कृष्ट बन्नका लागि ९० देखि शतप्रतिशत अंक पाउनुपर्छ । ‘तोकिएका सूचक पूरा गरी ८४ अंक पाएको संस्थाले न्यूनतम सेवा दिएको भन्ने ठहर हुन्छ,’ घिमिरेले भने, ‘बागलुङमा त्यस्तो भेटिएका छैनन्, अनुगमन पनि हुँदै छ ।’ कार्यालयले अनुगमन मूल्यांकनको काम थालेको उनले बताए ।

कार्यालयले वर्षमा दुई पटक ती संस्थाको अनुगमन र मूल्यांकन गर्नुपर्ने प्रावधान छ । संविधानले तोकेका हक जनताले पाए नपाएको र कार्यविधिले दिएका सूचक पूरा भए नभएको अनुगमन गर्ने सरकारी अभियानलाई गण्डकी प्रदेश सरकारले कार्यालयलाई जिम्मा दिएको हो । दुई वर्षअघि नै यो व्यवस्था शुरु भएपनि जिल्ला तहमा बल्ल सञ्चालनमा आउन थालेको हो । बागलुङले चालु वर्षदेखि मात्रै अनुगमनको काम थालेको हो । ‘एकैपटक सबै पालिका र स्वास्थ्य संस्थामा पुग्न नसकिने भएकाले पालिकाको समन्वयमा काम गर्छौं’, घिमिरेले भने, ‘सुधार गर्नुपर्ने विषय पनि औंल्याएपछि क्रमशः सुधार हुन सक्छ ।’ न्यूनतम सेवा मापदण्ड पूरा भएका संस्थालाई कार्यालयले हरियो रंग दिने गरेको हो । न्यूनतम अंक पाउन नसक्नेलाई क्रमशः नीलो, पहेँलो र सेतो रंग दिइन्छ । दुई वर्षअघिको तयारी भए पनि कार्यालयले चालु वर्षबाट अनुगमन मूल्यांकनको कामलाई निरन्तरता दिएको हो ।

कार्यालयले बागलुङ नगरपालिकाको नारायणस्थान स्वास्थ्य चौकीबाट अनुगमन थालेको थियो । उक्त चौकीले भने ७९ अंक मात्रै पाएको हो । सूचक अनुगमनमा कार्यालयले फेयरमेड फाउन्डेसन र नगर स्वास्थ्य शाखाको साथ लिएको थियो । केही सूचक अझै पूरा गर्न सुझाव दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । अनुगमनमा स्वास्थ्य संस्थाले २ सय ५८ वटा सूचकलाई आधार मानेर मापन गरेको हो । तीमध्ये नारायणस्थान स्वास्थ्य चौकीले २ सय ४ वटा सूचकमा गुणस्तरीय सेवा दिएको भेटिएको थियो । हरेक संस्थाको प्रकृति हेरी उनीहरूले पूरा गर्नुपर्ने सूचक कार्यविधिमा तोकिएको छ । बर्थिङ सेन्टर भएमा सबैभन्दा धेरै सूचक पूरा गर्नुपर्ने प्रावधान छ । ‘केही सूचक पूरा छन्, केही पूरा गर्न खोजेका छौं, छिटै हामीले ८५ अंक पाउने प्रयासमा छौं,’ नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले भने, ‘अर्को ६ महिनामा हामीले निलो रंग पाउँछौं ।’ गुणस्तरीय सेवा हरेकले पाउन भन्नका लागि मापदण्ड अनुगमनको काम थालिएको हो । सूचकमा सरसफाइ र सेवाप्रवाहलाई बढी चासोका साथ अनुगमन गरिन्छ ।

प्रकाशित : आश्विन २८, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?