कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

बागलुङमा केसीलाई सहज, पौडेललाई चुनौती

गण्डकी प्रदेश ब्युरो

पोखरा — बागी उम्मेदवारी दिएका गण्डकी प्रदेशका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।बागलुङ (१) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीविरुद्धका बागीले उम्मेदवारी फिर्ता लिएका छन् ।

बागलुङमा केसीलाई सहज, पौडेललाई चुनौती

कांग्रेसका कृष्णशंकर श्रेष्ठले केसीविरुद्ध बागी उम्मेदवारी दिएका थिए । केसी गठबन्धनका साझा उमेदवार हुन् । ‘म अस्वस्थ्य प्रतिस्पर्धा गर्न आएको होइन, जनताको मन जितेरै जाने हो,’ केसीले भने । अब केसीविरुद्ध एमाले उम्मेदवार सूर्य पाठक प्रमुख चुनौती बनेका छन् । पाठक यसअघि वाम गठबन्धनको उमेदवारको रूपमा थिए ।

बागलुङ (२) मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भने चुनौती देखिएको छ । माओवादीका तुलसी अर्यालले पौडेलविरुद्धको बागी उम्मेदवारी फिर्ता लिएनन् । केही अघि पौडेलसँग हात हालाहालको अवस्थामा पुगेका अर्यालका भाइ चन्द्र अर्याल गत स्थानीय निर्वाचनमा नगरप्रमुखको उम्मेदवार थिए । गठबन्धनबाट निर्वाचन हार्ने अर्याल मात्रै थिए ।

ढोरपाटन नगरपालिकामा अर्यालविरुद्ध उठेका एमालेका देवकुमार नेपालीले प्रमुखमा निर्वाचन जितेका थिए । बागलुङ (१), अमलाचौरका पौडेल पाहुना नेता भन्दै आलोचना खेपिरहेका उम्मेदवार हुन् । एमालेले कांग्रेसबाट हालै एमाले प्रवेश गरेकी मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको छ ।

कास्कीमा भने प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभाका ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र (१) प्रतिनिधिसभा सदस्यमा राप्रपा नेपालका महेन्द्र खत्री, स्वतन्त्रबाट घननाथ सापकोटा र आनन्द सापकोटाले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र (१) को प्रदेशसभा (१) बाट भरतराज तिवारी र (२) बाट दिलमाया मुक्तान (पहारी) ले उम्मेदवारी फिर्ता लिए । क्षेत्र (२) मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका अजय विश्वकर्माले फिर्ता लिएका छन् । क्षेत्र (२) को प्रदेशसभा (१) बाट जसपाका ईश्वरकुमार गुरुङ, राप्रपा नेपालका दीपक विश्वकर्मा र स्वतन्त्र उम्मेदवारी दिएका सुन्दर बरालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

कास्की (३) मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका एमालेका बागी उम्मेदवार जगन्नाथ बाँस्तोला, राप्रपा नेपालका राजाराम दाहाल र स्वतन्त्रका एमकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । क्षेत्र (३) को प्रदेश (१) बाट जसपाका जगतबहादुर गुरुङ र स्वतन्त्रबाट लीलाधर ढकाल तथा चन्द्रबहादुर गुरुङ, प्रदेश (२) बाट राप्रपा नेपालकी चीना दवाडीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

क्षेत्र (२) प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा एसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेता महादेव गुरुङले भने उम्मेदवारी फिर्ता लिएनन् । यसैगरी सत्ता गठबन्धनबाट कास्की (३) बाट उम्मेदवारी दिएका माओवादीका रामजी बरालविरुद्ध उम्मेदवारी दिएकी अनीता भुर्तेलले पनि फिर्ता लिइनन् । कास्की (१) प्रतिनिधिसभातर्फ १४, प्रदेशसभा (१) मा ८ र (२) मा ७ उम्मेदवार छन् । २ मा प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा (१) मा ८, (२) मा ६ उम्मेदवार मैदानमा छन् । क्षेत्र ३ प्रतिनिधिसभामा १५, प्रदेशसभा (१) र (२) मा ७/७ जना उम्मेदवार छन् ।

गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादीका अध्यक्ष रहेको प्रतिनिधिसभा क्षेत्र (२) मा स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्ट पराजुलीले फिर्ता लिइन् । सोही क्षेत्रको प्रदेश ‘१’ मा स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, नेकपा एसका जुद्धविलास भण्डारी र नेमकिपाका वेलबहादुर बस्नेतले पनि फिर्ता लिए । क्षेत्र (१) को प्रदेश सभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्ण दाहाल, राजकुमार ढकाल र नेकपा एसका टेकराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

तनहुँमा प्रतिनिधिसभा सदस्यतर्फ १ र प्रदेशसभा सदस्यतर्फ ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसका पूर्वसचिव विश्व बास्तोलाले तनहुँ (१) को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी (१) को प्रदेशसभा (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका नगेन्द्र पौडेलले पनि फिर्ता लिएका छन् । (२) को प्रदेशसभा (१) बाट नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवारी दर्ता गराएका श्रेषरमण न्यौपाने, स्वतन्त्र उम्मेदवार प्रेमकुमार परियार र (२) को प्रदेशसभा (२) बाट जनता समाजवादी पार्टीका पूर्णबहादुर गुरुङले फिर्ता लिएको निर्वाचन अधिकृत गोविन्द उपाध्यले बताए । यससँगै जिल्लामा ६ पदका लागि ५७ जनाको उम्मेदवारी कायम छ ।

म्याग्दीमा १ र मुस्ताङका ४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । प्रदेशसभा (१) मा गठबन्धनका माओवादी उम्मेदवारविरुद्ध बागी उठेका कांग्रेसका नेत्र महतले उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा ९ जनाको उम्मेदवारी कायमै छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका मानबहादुर विक, स्वतन्त्र उम्मेदवार सुरज लालचन र डा. सुरेन्द्र शेरचनले उम्मेदवारी फिर्ता गरेका छन् । प्रदेशसभा (२) बाट उम्मेदवारी दिएका राप्रपा नेपालका जेम्स हिराचनले उम्मेदवारी फिर्ता गरेका छन् ।

स्याङ्जामा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ३ जनाले फिर्ता लिएका छन् । क्षेत्र (१) प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कांग्रेसका गोविन्दबहादुर रानाभाट, एसका विष्णु गिरी र स्वतन्त्र अर्जुनप्रकाश पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र (१) को प्रदेशसभा (१) बाट काँग्रेसका मेखलाल श्रेष्ठ, प्रदेशसभा (२) मा एसकी शर्मिला पौडेल र मनोज नेपाली घर्तीले पनि फिर्ता लिए । श्रेष्ठ गण्डकी प्रदेश सरकारका शिक्षामन्त्री पनि हुन् । लमजुङमा २ स्वतन्त्रसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यसमा प्रतिनिधिसभाका २ जना र प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभा उम्मेदवार स्वतन्त्र उम्मेदवार प्रकाश जोशी र नेकपा माओवादी समाजवादीका विना गोतामेले गठबन्धनलाई समर्थन गर्दै मनोनयन फिर्ता गरे । प्रदेश (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेस ‘बीपी’ का अस्मिता गुरुङले गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताइन् । प्रदेश (२) मा हाम्रो नेपाली पार्टीका विमल घिमिरेले एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइन् । पूर्वी नवलपरासीमा प्रतिनिधिसभामा ४ र प्रदेशसभाका ४ जनाले उम्मेदवारी फिर्ता लिए ।

प्रतिनिधिसभातर्फ क्षेत्र (२) का माओवादी उम्मेदवार बालकृष्ण गैरे, (१) बाट नेपाली कांग्रेस बीपीका मोहन आचार्यलगायतले फिर्ता लिएका हुन् । ६ पदका लागि ७६ जनाले उम्मेदवारी दिएकोमा अब ६८ जना चुनावी मैदानमा छन् ।

प्रकाशित : आश्विन २७, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?