लगातारको झरीपछि पहिरोले म्याग्दीका सडक अवरुद्ध

म्याग्दी — मंगलवार साँझदेखिको लगातारको वर्षापछि पहिरोले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सडकमा यातायात अवरुद्ध भएको छ ।
बेनी–जोमसोम सडक अन्तर्गत रघुगंगा गाउँपालिकाको चमेरे, बैसरी र अन्नपूर्ण गापा, ३ दानाको गुईठे र रुप्से झरना नजिक पहिरो झरेपछि यातायात अवरुद्ध छ ।
त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ६ को बाङ्गेपहिरोमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
यी बाहेक पनि जिल्लाका ग्रामिण सडकहरु पनि स–साना पहिरोले अवरुद्ध भएका छन् ।
‘लगातारको वर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन्’ जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले भने, ‘ग्रामीण भेगका सडकमा पहिरोले धेरै स–साना अवरोध छन । ठूला बाढीपहिरो र विपतको खबर छैन ।’
प्रकाशित : आश्विन १९, २०७९ १५:१६