अस्पतालमै छैन न्यूनतम सेवा- गण्डकी - कान्तिपुर समाचार

अस्पतालमै छैन न्यूनतम सेवा

प्रकाश बराल

बागलुङ — संविधानले सबै नागरिकलाई न्यूनतम स्वास्थ्य सेवा पाउने हक दिएको छ । धारा ३५ ले दिएको स्वास्थ्यको हक पूरा गर्न सबै स्वास्थ्य संस्थामा न्यूनतम सूचक पूरा गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर बागलुङका सबै संस्थामा अझै न्यूनतम सूचक पूरा भएका छैनन् । कुल एक सय अंकमध्ये २० अंक सुशासनमा, ६० अंक चिकित्सकीय सेवामा र २० अंक सहयोग र व्यवस्थापनमा दिने प्रावधान छ ।

सोहीअनुसार स्वास्थ्य कार्यालयले जिल्ला भरका ६० वटा संस्थामा अनुगमन गरेर सूचकको पहिचान गर्न थालेको छ । काम थालिएका संस्थामा न्यूनतम सूचक पूरा हुन नसकेको भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

सदरमुकामस्थित धौलागिरि अस्पतालमा गरिएको अध्ययनमा अस्पतालले ८३ अंक पाएको छ । मापदण्डअनुसार कम्तीमा ८४ अंक ल्याएपछि उक्त संस्थामा हरियो संकेत गरिन्छ । हरियो संकेत भनेको न्यूनतम मापदण्ड पूरा गरेको भन्ने हो । उत्कृष्ट बन्नका लागि ९० देखि शतप्रतिशत अंक पाउनुपर्छ । ‘तोकिएका सूचक पूरा गरी ८४ अंक पाएको संस्थाले न्यूनतम सेवा दिएको भन्ने ठहर हुन्छ,’ घिमिरेले भने, ‘बागलुङमा त्यस्तो भेटिएका छैनन्, अनुगमन पनि हुँदै छ ।’ कार्यालयले अनुगमन मूल्यांकनको काम थालेको उनले बताए ।

कार्यालयले वर्षमा दुई पटक ती संस्थाको अनुगमन र मूल्यांकन गर्नुपर्ने प्रावधान छ । दुई वर्षअघि नै यो व्यवस्था सुरु भएपनि जिल्ला तहमा बल्ल सञ्चालनमा आउन थालेको हो । बागलुङले चालु वर्षदेखि मात्रै अनुगमनको काम थालेको हो । ‘एकैपटक सबै पालिका र स्वास्थ्य संस्थामा पुग्न नसकिने भएकाले पालिकाको समन्वयमा काम गर्छौं’, घिमिरेले भने, ‘सुधार गर्नुपर्ने विषय पनि औंल्याएपछि क्रमशः सुधार हुन सक्छ ।’ न्यूनतम सेवा मापदण्ड पूरा भएका संस्थालाई कार्यालयले हरियो रंग दिने गरेको हो । न्यूनतम अंक पाउन नसक्नेलाई क्रमशः नीलो, पहेँलो र सेतो रंग दिइन्छ ।

दुई वर्षअघिको तयारी भए पनि कार्यालयले हालै बागलुङ नगरपालिकाको नारायणस्थान स्वास्थ्य चौकीबाट अनुगमन थालेको थियो । उक्त चौकीले भने ७९ अंक मात्रै पाएको हो । सूचक अनुगमनमा फेयरमेड फाउन्डेसन र नगर स्वास्थ्य शाखाले साथ दिएका थिए ।

केही सूचक पूरा गर्न सुझाव दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । अनुगमनमा स्वास्थ्य संस्थाले २ सय ५८ वटा सूचकलाई आधार मानेर मापन गरेको हो । तीमध्ये नारायणस्थान स्वास्थ्य चौकीले २ सय ४ वटा सूचकमा गुणस्तरीय सेवा दिएको भेटिएको थियो ।

बर्थिङ सेन्टरमा सबैभन्दा धेरै सूचक पूरा गर्नुपर्ने प्रावधान छ । ‘केही सूचक पूरा छन्, केही पूरा गर्न खोजेका छौं, छिटै ८५ अंक पाउने प्रयासमा छौं,’ नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले भने, ‘अर्को ६ महिनामा निलो रंग पाउँछौं ।’ बिरामीले गुणस्तरीय सेवा पाउनका लागि अनुगमनको काम थालिएको हो । सूचकमा सरसफाइ र सेवाप्रवाहलाई बढी चासोका साथ अनुगमन गरिन्छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

हुलाक बैंक पीडितहरूले फिर्ता पाउँदै

वसन्तप्रताप सिंह

बझाङ — बझाङको हुलाक बचत बैंकमा जम्मा गरेको रकम बचतकर्ताहरूले तीन वर्षपछि फिर्ता पाउन थालेका छन् । तत्कालीन जिल्ला हुलाक कार्यालयका प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताले आफुले जम्मा गरेको रकम झिक्न पाएका थिएनन् । 

आर्थिक वर्ष ०७०/७१ बाट सेवा सुरु गरेको हुलाक बचत बैंकमा बझाङका होटल व्यवसायी, महिला समूह, विभिन्न सहकारी, विद्यालय र व्यक्तिगत गरी १ हजार ७ सय जना बचतकर्ताहरूले झन्डै ५ करोड बढी जम्मा गरेका थिए । तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको थियो । रकम हिनामिना भएपछि बचतकर्ताहरूमा साँवा गुम्छ कि भन्ने चिन्ता थियो ।

बचतकर्ताहरूको बचत गरेको पैसा हुलाकको खातामा आई रकम भुक्तानी दिन सुरु भइसकेको जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए । आर्थिक बर्ष ०७५/०७६ मा हिनामिना भएको साँवा ४ करोड ९५ लाख र हालसम्मको ब्याजसहित ५ करोड ५९ लाख १४ हजार रुपैयाँ हुलाक सेवा विभागअन्तर्गतको केन्द्रीय धनादेश कार्यालयलले रकम दिएपछि भुक्तानी सुरु भएको उनले जनाए ।

हुलाक कार्यालयले एक सूचना जारी गर्दै बचतकर्ताहरूलाई चेकबुक, पासबुक, र खातावालाको नागरिकताको प्रतिलिपिसहित रकम लैजान अनुरोध गरेको छ । बचतकर्ताहरूको रकम हिनामिना भएको बारे कान्तिपुरमा ०७७ फागुन १६ गते र ०७८ पुस ७ मा समाचार प्रकाशित भएको थियो ।

हुलाक बैंकमा जम्मा गरेको रकमको साँवा नै गुम्ने होकी भन्ने चिन्तामा रहेका बचतकर्ताहरू रकम फिर्ता पाउने भएपछि खुसी भएका छन् । रकम झिक्न हुलाक कार्यालयमा बचतकर्ताको भीड लाग्न थालेको छ । ‘पेट काटीकाटी जम्मा गरेको पैसा फिर्ता नपाइने होकी भनेर चिन्ता लागेको थियो,’ जयपृथ्वी नगरपालिका वडा नं ८, बारिलकी राममती बोहराले भनिन्, ‘ढिलै भए पनि फिर्ता पायौं, खुसी लागेको छ,’ उनले आफूले पेवाको ४० हजार रकम जम्मा गरेको र सो रकम झिक्न नपाउँदा यो अवधिमा निकै तनाव ब्यहोरेको सुनाइन् ।

बचत बैंकको रकम लामो समयसम्म झिक्न नपाएपछि न्यून आय भएका बचत कर्ताहरूले राममतीको जस्तै हैरानी मात्रै ब्यहोरेका थिएन, ठूलो रकम बचत गरेका कतिपय बचतकर्ताको परिवारले नै मानसिक समस्या भोग्नुपरेको थियो । रकम झिक्न नपाउँदा कतिपयको दैनिक घर खर्च चलाउन समस्या भएको थियो भने कतिपयले उपचार गराउनसमेत सकिरहेका थिएनन् ।

चैनपुरमा चियापसल सञ्चालन गर्दै आएका डडेलधुराको अमरगढी नगरपालिका–५ का शिवराज पन्तले पनि पटकपटक गरी ११ लाख बढी रकम हुलाक बचत बैंकमा जम्मा गरेको भए पनि रकम गुम्ने डरले आफू डिप्रेसनको सिकार भएको बताए । ‘यत्रो वर्ष दुःख गरेको पैसा फिर्ता आउँदैन कि भनेर मेरो परिवार नै तनावमा परेको थियो ।’ उनले भने, ‘अस्ति भुक्तानी लैजानु भन्ने खबर पाए पछि खुशीको सिमा नै छैन,’ उनले यही कारणले परिवारका केही सदस्यको मानसिक उपचार समेत गराउनु परेको उनको भनाई छ ।

‘बचतकर्ता मात्रै होइन हामीले पनि लामो समय तनाव ब्यहोर्नुपर्‍यो । रकम फिर्ता माग्न आउनेलाई सम्झाउँदा सम्झाउँदा थाकिसकेका थियौं,’ कार्यालय प्रमुख बोहराले भने, ‘यो रकम फिर्ता गराउनका लागि विभागदेखि मन्त्रालय धाउँदाधाउँदा बल्ल सफल भइयो ।’ उनले न्यून आए भएका विपन्न बचतकर्ताहरूले दैनिक रकम माग्न आएर हैरानी गर्न थालेपछि कर्मचारी पनि समस्यामा परेको बताए ।

कसरी भयो हिनामिना ?

आर्थिक वर्ष ०७०/०७१ बाट बझाङमा हुलाक बचत बैंकले सेवा सुरु गरेको थियो । आकर्षक ब्याज पाउने विज्ञापनसहित हुलाकले बचत गर्न अनुरोध गरेपछि यहाँका स्थानीयहरू (खास गरी न्यून आयस्रोत भएका, महिला, बालबालिका र ज्येष्ठ नागरिक) यसतर्फ आकर्षित भएका थिए ।

फलस्वरूप पहिलो वर्ष नै ३ करोड ४९ लाख ७८ हजारभन्दा बढी रकम बचत भएको थियो । आकर्षक ब्याज आउने लोभले बचत गरेका एक हजार ७०१ जनाको ५ करोड ७८ लाख ६४ हजार रकम जम्मा गरेका थिए ।

जब हुलाकमा बचतकर्ताको भीड लाग्न थाल्यो । उनीहरूको बचत रकममाथि कार्यालय प्रमुखसहितका कर्मचारी नै आँखा लगाउन थाले । तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले पहिलो वर्ष नै ७४ लाखभन्दा बढी रकम हिनामिना गरे । ‘कार्यालयको लेजरमा बचत गरेको भनेर देखाउँदा रहेछन् तर रकम चाहिँ आफैं राख्दा रहेछन्,’ हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले भने, ‘हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने पैसा आफैले राखेर बाहिर ब्याजमा लगाउने, घर जग्गा खरिद गर्ने गर्दा रहेछन्,’ कोही बचत फिर्ता माग्न आएमा वा ऋण माग्न आएमा पनि खल्तीबाटै दिएर बैंक चलाउने गरेका कडायत र उपाध्यायले चार वर्षसम्म (०७०/७१ देखी ०७४/७५) जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको पाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यससम्बन्धी प्रतिवेदनमा पेस गरे । ‘जनताले जम्मा गरेको रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने निकायका कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले यहाँ व्यापक अनियमितता भएको देखिन्छ । त्यस सम्बन्धमा थप छानबिन गरी आयोगबाट कारबाहीको पहल होस्,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×