डेंगी परीक्षण किट अभाव- गण्डकी - कान्तिपुर समाचार

डेंगी परीक्षण किट अभाव

कान्तिपुर संवाददाता

काठमाडौँ — डेंगीका बिरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा डेंगी रोग परीक्षण गर्ने किट अभाव भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संघीय सरकारले सीमित मात्रामा किट दिँदा गण्डकीमा अभाव भएको हो । निर्देशनालयकी ल्याब टेक्निसियन सुशीला कार्कीले गण्डकी प्रदेशमा डेंगीका बिरामीको संख्या बढ्दै गएकाले केन्द्रको मात्र आस गर्ने अवस्था नरहेको बताइन् । 

‘आपूर्ति स्वास्थ्य केन्द्रले केही मात्रामा किट दिएको थियो, अहिले सकियो,’ उनले भनिन्, ‘अब प्रदेश र स्थानीय सरकार पनि जिम्मेवार बन्दै आफैं किट किन्नुपर्छ । डेंगीका बिरामीको संख्या बढिरहँदा केन्द्रको किट कुर्ने समय नै छैन ।’ उनले अघिल्लो साता प्रदेश स्वास्थ्य निर्देशकले सबै प्रदेशका सबै पालिकालाई आफैं किट किन्नका लागि अनुरोध गरेको बताइन् ।

कार्कीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा महामारीको शीर्षकमा केही बजेट रहेकाले सोही बजेट खर्च गरी किट किन्ने विषयमा छलफल भइरहेको बताएकी छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीले आयोजना गरेको डेंगीसम्बन्धी अन्तरक्रियामा असोज र कात्तिकमा डेंगीको बढी जोखिम रहेको जनाइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी हेमन्त शर्मा पौडेलले डेंगीबाट बच्नु भनेको सरसफाइ नै रहेको बताए । डेंगीी भइहालेमा जथाभावी औषधि प्रयोग नगर्ने र सिटामोल मात्र खाने, झोलिलो खानेकुरामा जोड दिनुपर्ने उनले सुझाए । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले पोखरामा किट अभाव भएको हुँदा महानगरले केही दिनमै करिब ५ सय किट किन्ने तयारी गरेको बताए ।

‘पहिलो चरणमा ३ सय किट भए पनि पुग्छ,’ उनले भने, ‘अहिले ५ सय किट किन्ने हो भने समस्या हुँदैन ।’ प्रमुख अर्यालले ५ सय किट महानगरले किन्यो भने पोखराका जुनसुकै ल्याबमा पनि निःशुल्क डेंगी परीक्षण गर्न सकिने बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुदीप त्रिपाठीले डेंगीका बिरामीका लागि बेड अभाव भएको बताएका छन् ।

त्रिपाठीले प्रत्येक दिन बिरामीको संख्या बढ्दै गएकाले बेड अभाव भएको बताए । गण्डकी प्रदेश सरकारले कुनै पनि सरुवा रोगको उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना गरेको हो । सो अस्पतालमा अहिले डेंगीका बिरामी ५ जना मात्र छन् । अस्पताल लेखनाथमा भएकाले त्यति धेरै बिरामी नजाने र त्यही क्षेत्रका मात्र बिरामी जाने गरेको अस्पतालका चिकित्सक स्वयं बताउँछन् ।

गण्डकीमा आइतबारसम्म डेंगीका बिरामीको संख्या ६ सय ४ रहेको छ । यस्तै, दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिकाकी ज्योति तामाङ र पालुङटार नपाकी सुशीला अधिकारी छन् । उनीहरूको उपचारका क्रममा काठमाडौंमा नै मृत्यु भएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.नारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार हिमालपारिको जिल्ला मुस्ताङमा अहिलेसम्म डेंगीको संक्रमण फैलिएको छैन भने मनाङमा डेंगीका बिरामी दुई जना छन् । यस्तै, बागलुङमा ३९ जनालाई डेंगी भएको छ भने गोरखामा १ सय १३, कास्कीमा १ सय ३६, लमजुङमा ६२, म्याग्दीमा १५, पूर्वी नवलपरासीमा १७, पर्वतमा ६९, स्याङ्जामा ७३ र तनहुँमा ७८ जनालाई भएको हो । नेपालमा २०६१ सालदेखि देखापरेको डेंगी पछिल्लो वर्ष महामारीको रूपमै फैलिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्यले बताए ।

एडिस एजिस्टाई नामक लामखुट्टेले कुनै संक्रमितलाई टोकेपछि अन्यमा सार्ने हो । एकपटक संक्रमित भएको लामखुट्टे कहिल्यै निको नहुने हुँदा यस्ता लामखुट्टेको टोकाइबाट जोखिनु नै उपयुक्त रहेको उनले बताए ।

प्रकाशित : आश्विन १०, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लामा प्राधिकरणबाटै म्याद गुज्रिएको चिम वितरण

कान्तिपुर संवाददाता

हुम्ला —  नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रले म्याद गुज्रिएको सीएफएल चिम वितरण गरिरहेको खुलेको छ । प्राधिरकरणकै लोगो रहेको ‘यो चिमले काम नगरे डिसेम्बर २०१४ मा प्रतिस्थापन गरिने छ’ भनी लेखिएको सीफएल चिम अहिले बल्ल वितरण भइरहेको हो ।

प्राधिकरणले कर्णाली प्रादेशिक कार्यालय हुँदै हुम्लाको लागि ४ हजार थान सीएफएल चिम पठाएको थियो । जसमध्ये अहिलेसम्म १ हजार ७२ थान चिम वितरण भइसकेको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । उनका अनुसार विद्युत्का ग्राहकबाट समयमा विद्युत् महसुल असुलीमा सहयोग पुर्‍याउन र विद्युत् खपत कम गर्न सीएफएल चिम वितरण गर्न थालिएको हो । उनले उक्त चिम निःशुल्क वितरण भइरहेको बताए ।

‘चिमको कभरमा यो चिमले काम नगरे डिसेम्बर २०१४ मा प्रतिस्थापन गरिने छ भनेर लेखेको देख्दादेख्दै किन पठाइयो हामीलार्ई पनि थाहा छैन,’ उनले भने, ‘प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशनअनुसार चिम वितरण गरिएको हो, अरु कुरा जानकारी भएन ।’ यो केन्द्रअन्तर्गत झण्डै २ हजार ग्राहक छन् । केन्द्रले महसुल तिर्न आएका ग्राहकलाई उनीहरूका घरमा कति चिम प्रयोग हुन्छ, सोहीअनुसार वितरण गरिरहेको छ ।

प्राधिकरणले ग्राहकले समयमै महसुल तिरुन् भन्ने उद्देश्यले यो नीति लिए पनि अहिले कम विद्युत् खपत हुने १ र २ वाटका एलईडी चिमको प्रयोग अधिक रहेको उनको भनाइ छ । ८ वर्ष पहिले नै म्याद गुज्रिएको चिम दिनुको साटो विद्युत् कम खपत हुने आधुनिक प्रविधिका चिम वितरण गरेको भए ग्राहकलाई सुविधा हुने स्थानीय सरोज रावतले बताए ।

‘हुम्ली भनेर हामीलाई झन् हेप्ने काम भयो, ८० वटा कार्टुनमा सीएफएल चिम पठाइएको भनेर सुनेका थियौं,’ उनले भने, ‘हामीलाई महँगो हवाइ भाडा तिरेर निःशुल्क चिम वितरण गर्नुभन्दा नियमित विद्युत् वितरण गरिदिए राम्रो हुन्थ्यो ।’

प्रकाशित : आश्विन १०, २०७९ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×