कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरदैलोमै सेवा

सम्झना रसाइली

तनहुँ — जिल्लाका स्थानीय तहहरूले जनताको घरदैलोमै पुगेर सेवा दिन थालेका छन् । जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन पालिकाहरू घरदैलोमै पुगेका हुन् । म्याग्दे गाउँपालिकाले अघिल्लो आइतबारदेखि एकीकृत घुम्ति सिविर सञ्चालन गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

घरदैलोमै सेवा

उनले भने, ‘आर्थिक कारोबारबाहेक पालिका र वडाबाट हुने सम्पूर्ण काम प्रत्येक वडाको टोलटोलमा पुगेर गर्न थालेका छौं ।’ गाउँपालिकाले योजना सम्झौता, सुझाव तथा परामर्श, स्वास्थ्य परीक्षण, महिलाको पाठेघर परीक्षण, कोभिडविरुद्धको खोप, कृषि तथा पशुसम्बन्धी अनुदान, परीक्षण र औषधी वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भीआईए स्क्रिनिङ, व्यवसाय दर्ता, पञ्जीकरणका काम, निःशुल्क घर नम्बर प्लेट वितरण, ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचय पत्र वितरणलगायत काम जनताको घरदैलोमै पुगेर गरेको हो ।

आँगनमै ज्येष्ठ नागरिकको परिचयपत्र लिन पाउँदा म्याग्दे–१ वाख्रेका ६८ वर्षीय मैते कामी खुसी भएको बताउँछन् । उनले भने, ‘हामी बूढाबूढी भइसक्यौं । वडासम्म पुग्न पनि कहाँ सकिन्छ र ? अहिले पालिका नै दैलोमा आएर परिचय पत्र दियो, म धेरै खुसी छु ।’ यस्तै घुम्ति शिविरमार्फत नै ट्रस्ट निर्माणका लागि निवेदन दिएको मनकामना आमा समूहकी अध्यक्ष पूर्णिमाया थापा बताउँछिन् । ‘१०/१५ दिनअघिदेखि नै वडामा पुगेर योजना माग्ने सोचमा थियौं तर अन्य काम पर्ने भएकाले जान सकिरहेका थिएनौं’, उनले भनिन्, ‘अहिले जनप्रतिनिधि सहितका सम्बन्धित शाखाका कर्मचारी हाम्रो घरआँगनमा आइपुग्दा हामीलाई सेवा लिन सहज भयो ।’

पालिकाले टोलटोलमै पुगेर कोभिड–१९ विरुद्धको खोप पनि लगाउँदै आएको छ । म्याग्दे–२ रामथुम डाँडाका ६९ वर्षीय शेरबहादुर श्रेष्ठले आफ्नै बेडमा कोभिडविरुद्धको खोप लगाए । प्यारालाइसिसका कारण हिँडडुल गर्न नसक्ने अवस्था रहेका उनलाई घरैमा कोभिड १९ विरुद्धको खोप तथा स्वास्थ्य सेवा प्रदान गरियो । गाउँपालिकाले वडा १ बाट दुई दिनमा ११ योजना सम्झौता गरेको योजना शाखा प्रमुख श्रीराम खनालले बताए । उनका अनुसार सडक निर्माण, सडक ढलान, भवन तथा ट्रस्ट निर्माण, खानेपानी योजना, मर्मतसुधार लगायतका योजना माग भएका छन् । उनले भने, ‘सेवाग्राहीको आवश्यकतालाई मध्यनगर गर्दै घुम्ती शिविरमार्फत योजना पनि गाउँबासीको घरदैलोमै आएर मागीएको हो । उनीहरूको माग अनुसारको योजना गाउँपालिकाले सम्बोधन गर्ने छ ।’

हालसम्म सञ्चालित घुम्ती शिविर मार्फत २ हजार ४ सय ६३ स्वास्थ्यका विभिन्न सेवा लिइसकेका छन् । गाउँपालिकाले हालसम्म १ सय ५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । ३ सय ३ महिलाको पाठेघर परीक्षण गरिएको छ । जसमध्ये ६१ जनामा विभिन्न समस्या देखापरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी दिनेश पण्डित अनुसार उनीहरूमा शंकास्पद क्यान्सर, पाठेघरको मुखमा मासु पलाएको, आङ खसेकोजस्ता समस्या देखा परेका छन् । उनले भने, ‘आङखस्ने समस्या भएका १२ महिलाको रिङ्गप्रेसरीको प्रयोग गरी उपचार गरिएको छ ।’ एकीकृत घुम्ती शिविर असोज २ देखि ३१ सम्म गाउँपालिकाको ७ वटै वडामा सञ्चालन गर्ने कार्यक्रम बनेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

आँबुखैरेनी र बन्दस्पुर गाउँपालिकाले पनि जनताको घरदैलोमै पुगेर सेवा दिन थालेका छन् । योजना मागदेखि सामाजिक सुरक्षा भत्ता वितरण, परिचय पत्र वितरण, व्यवसाय कर, दर्ता तथा नवीकरणका काम पनि टोलटोलमै पुगेर सेवाप्रवाह गर्न थालिएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?