१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिनाप्रतिस्पर्धा आफन्तलाई नियुक्ति

प्रकाश बराल

बागलुङ — धौलागिरि अस्पतालले बिनाप्रतिस्पर्धा स्थायी प्रक्रियामा लैजाने गरी आठ जना कर्मचारी भर्ना गरेको छ । अस्पताल व्यवस्थापन समितिले आफन्तलाई कर्मचारीको रूपमा भर्ना गराएको हो । अस्पतालको ल्याबमा २, काउन्टरमा ५ र फार्मेसीमा १ जना भर्ना गरेको हो । स्वयंसेवक भनेर भर्ना गरेपछि एक महिनापछि ज्यालादारी बनाएर क्रमशः स्थायी प्रक्रियामा लगिएको हो । 

बिनाप्रतिस्पर्धा आफन्तलाई नियुक्ति

अस्पतालभित्रकै कर्मचारीले पदको दुरुपयोग गर्दै आफन्त र राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप लगाए । ‘कर्मचारी राख्ने हो भने स्वच्छ प्रतिस्पर्धाबाट राख्नुपर्छ,’ ती कर्मचारीले भने, ‘आफ्ना मान्छे ल्याएर राखेका छन्, उनीहरूकै हालीमुहाली बनाउन खोजिएको छ ।’ यसअघिका समितिले पनि आफ्ना मानिस ल्याएर स्वयंसेवकदेखि करार हुँदै स्थायी प्रक्रियामा लगेका थिए ।

नियुक्ति भएकाहरू समिति सदस्यका आफन्त र नेताका पत्नि समेत छन् । अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्वयंसेवामा लगाउनुपरेकोले ल्याइएको बताए । उनले राजनीतिक भागबन्डामा कर्मचारी नियुक्ति भएको संकेत गरे । अस्पतालमा छ दलीय गठबन्धनबाट समिति निर्माण भएको छ । नियुक्ति भएका कर्मचारी क्रमशः स्थायी प्रक्रियामा जाने पौडेलले बताए । ‘राम्रो काम गरेको खण्डमा ज्यालादारीमा लैजाने हो,’ पौडेलले भने, ‘स्थायी गर्न त नमिल्ला ।’

कर्मचारी भर्ती गर्ने स्थल बनाएको भन्दै विरोध आउने डरले व्यवस्थापनले स्वयंसेवकबाट स्थायी प्रक्रियामा लैजाने सम्झौता गरेको हो । ‘काम राम्रो गरे भने प्रक्रियामा लैजाने हो, नत्र करार गर्दैनौं’, पौडेलले भने, ‘स्थायी दरबन्दीमा लैजाने कुरा भएको छैन ।’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले स्वयंसेवकलाई ज्यालादारी र करारमा लैजान सकिने बताए । ‘सम्झौता गरेर ल्याएको होइन, तर आवश्यक स्थनमा करार गर्न सकिन्छ,’ उनले भने, ‘अस्पतालमा अत्यावश्यक काम सक्नका लागि दक्ष जनशक्ति चाहिएको छ ।’ उनले दैनिक आउने ४ सय देखि ५ सय बिरामीको उपचार र व्यवस्थापनमा धेरै कर्मचारी आवश्यक भएको बताए ।

यसअघि लामो समय सम्म ज्यालादारीमा राखेर एक महिना मात्रै करार भएका एक डाक्टरलाई भने अस्पतालले हटाएको छ । ‘मलाई समिति र प्रशासनले लामो समय करार गरिदिन्छु भन्दै झुलायो, करार भएको एक महिनापछि सम्झौता तोडेर नियोजित रूपमा हटाएको छ,’ डा.मोहमद वसिम अन्सारीले भने ।

प्रकाशित : आश्विन ९, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?