कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा जलवायु परिवर्तनको प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

दीपक परियार

पोखरा — कृषि, वन, वातावरण र खाद्य सुरक्षामा विश्वव्यापी प्रयास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । जलवायु परिवर्तन र यसले पारेको प्रभावका सम्बन्धमा पोखराको वन विज्ञान अध्ययन संस्थानमा तीन दिन छलफल चल्नेछ ।

पोखरामा जलवायु परिवर्तनको प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

भारतको कृषि तथा वातावरण प्रविधि विकास समाज र पर्या–पुनर्वासका लागि वन अनुसन्धान केन्द्र, नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, कृषि तथा वन विश्वविद्यालय र गण्डकी विश्वविद्यालयको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । चीनको याङ्जी विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ रुट बायोलोजी र इजिप्टको माटो, पानी र वातावरण अध्ययन संस्थानले सम्मेलनमा सहकार्य गरेका छन् ।

सम्मेलन निर्देशक एवं वन विज्ञान अध्ययन संस्थानका सह–प्राध्यापक डा.अर्जुनप्रसाद बास्तोलाले नेपालसहित भारत, चीन, दक्षिण अफ्रिका, मलेसिया, बंगलादेश, युगान्डा लगायत १५ देशबाट सहभागी पोखरा आउनेछन् । वैज्ञानिक, अन्वेषक, शिक्षाविद्, पेशाकर्मी, अनुसन्धाता, गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी, उद्यमी, किसान लगायतको सहभागिता सम्मेलनमा हुने छ । विभिन्न विषयमा भारतका २ सय र अन्य देशका एक सय विज्ञले आफ्नो प्रस्तुति सम्मेलनमा राख्ने छन् ।

जलवायु परिवर्तनले कृषि, वन, वातावरण तथा खाद्य सुरक्षामा पारेका प्रभाव र त्यससँग जुध्न विभिन्न देशले गरेका अभ्यास र अनुभवको आदानप्रदान, अनुसन्धानको निष्कर्षमाथि एकैथलोमा छलफल गर्नु सम्मेलनको उद्देश्य रहेको उनले बताए ।

वन, कृषि तथा एलाइड साइन्समा नवीनतम पहूँच, कृषिवन, प्राकृतिक स्रोत व्यवस्थापन, खाद्य तथा वातावरणीय सुरक्षा, जलवायु परिवर्तन र यसका असर लगायत छुट्टाछुट्टै पाँच विषयमा विज्ञले आफ्नो प्रस्तुति राख्नेछन् । विज्ञको प्रस्तुतिमाथि खुला छलफल हुने छ । सम्मेलनमा विभिन्न देशका ३० देखि ४० विज्ञ अनलाइनमार्फत सहभागी हुने छन् । झण्डै एक हजार सहभागी ४–५ दिन पोखरामा रहँदा पर्यटन समेत प्रवद्र्धन हुने सम्मेलन निर्देशक बास्तोलाले बताए । ‘वन विज्ञान अध्ययन संस्थानको आफ्नो लगानी बिना नै अन्तर्राष्ट्रियस्तरको सम्मेलन भित्र्याउँनु ठूलो उपलब्धी हो,’ उनले भने, ‘यसले नीति निर्माण तहमा पनि सहयोग पुर्‍याउने छ ।’

प्रकाशित : भाद्र ३१, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?