मनाङको नार्पाभूमिमा नि:शुल्क स्वास्थ्य शिविर

कास्की — मनाङको नार्पाभूमिमा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको मनाङस्थित इन्द्रदल गुल्मले नार्फाभूमि गाउँपालिकामा ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नार्पाभूमि गण्डकी प्रदेशकै सडक सञ्जालले नछोएको गाउँपालिका हो । भौगोलिक हिसावले विकट मानिने यस ठाउँमा सरकारले प्रदान गर्ने सेवा सुविधाबाट पनि स्थानीयहरू बञ्चित छन् ।
इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा नेपाली सेनाका ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । युद्धबाहेक सैनिक अपरेसनको क्षमता अभिवृद्धि गर्ने, नागरिक र सेनाबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले गुल्मले स्वास्थ्य शिविर सञ्चालन गरेको मल्लले बताए ।
उनका अनुसार नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाको ल्याबको उचार गरिएको छ । यस्तै च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब टेष्ट गरिएको बताइएको छ ।
फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको उपचार गरिएको मल्लले बताए । उपचारमा आएका स्थानीयलाई नि:शुल्क औषधिका साथै चस्मासमेत वितरण गरिएको थियो ।
प्रकाशित : भाद्र २९, २०७९ २०:३२