कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उमेरले नछेकेको जाँगर : कृषि कर्ममा सक्रिय वृद्ध

अगन्धर तिवारी

पर्वत — उमेर ७४ वर्ष । वृद्धभत्ता खान सुरु गरेको ४ वर्ष भइसक्यो । सरकारले पनि ७० वर्ष उमेर माथिका नागरिकलाई निष्क्रिय नागरिकको सूचीमा राखेको छ । तर, कुश्मा नगरपालिका–९ का वासुदेव लामिछानेलाई आर्थिक सम्पन्नता, उमेर र बुढ्यौलीको कुनै पर्वाह छैन ।

उमेरले नछेकेको जाँगर : कृषि कर्ममा सक्रिय वृद्ध

लामिछानेको आर्थिक अवस्था राम्रै छ । जेठो छोरा अमेरिकामा हाडजोर्नी विशेषज्ञ छन् । घरसँगै जोडिएको पक्की सडकले छोएको करिव २५ रोपनी जमिन छ । उमेरका हिसाबले उनी सरहका ज्येष्ठ नागरिक पिंढीको कुनामा बस्ने र लठ्ठीको सहाराले भित्रबाहिर गर्छन् । तर, साइकलचोकस्थित उनको घरवरपर उनले लोभ लाग्ने गरी कृषि र पशुपालन गरिरहेका छन् । दारीकपाल सेतै फुलेका लामिछाने गर्मी होस् या जाडो, हरेक सिजनमा बिहान सबेरैदेखि साँझ अबेरसम्म तरकारी, कुखुरा र माछाको स्याहारमा व्यस्त हुन्छन् । युवावस्थादेखि नै कृषिका विभिन्न विधामा सक्रिय लामिछानेले समयानुसार कृषि पेसालाई रूपान्तरण गर्दै अहिले आधुनिक कृषिमा जमेका छन् ।

बेमौसमी तरकारी, कुखुरा र माछा खोज्दै सदरमुकामका व्यवसायी उनकोमा पुग्छन् । २०७० मा १५ सय कुखुराका चल्लाबाट व्यवसाय सुरु गरेका उनले अहिले ६५ सय लेयर्स कुखुरा पुर्‍याएका छन् । ‘सुरुमा ब्रोइलर पालें । त्यसबाट पहिलो लटमै घाटा परेपछि यता लागेको हुँ,’ लामिछाने भन्छन्, ‘अहिले राम्रो कमाइ छ ।’ उनको फर्ममा अहिले दैनिक ३५ देखि ४५ सय गोटा अन्डा उत्पादन हुन्छ । पर्वतकै कुश्मा र दक्षिणको हुवास बजारबाहेक बागलुङ बजार, बुर्तिबाङ, बेनी र पोखरासम्म अन्डाको माग हुन्छ । मासिक अढाइ लाखसम्म आम्दानी गर्ने लामिछानेले सबै खर्च कटाएर १ लाख २० हजारसम्म बचत हुने बताए ।

उनको फर्ममा अहिले ६५ सय लेयर्स छन् । त्यसबाहेक १२ हजार माछा र २० रोपनी खेतमा सिजनअनुसारको तरकारी छ । घरवरपर पर्याप्त जग्गा भएकाले उनले माछा, कुखुरा र तरकारी खेती मन फुकाएर गर्न पाएका छन् । अन्डा दिने कुखुराका लागि कम्तीमा दुई हजार क्षमताका छुट्टाछुट्टै चारवटा आधुनिक खोर छन् । माहुर जातका माछा किन्न फर्ममै ग्राहक आउँछन् । आधुनिक हाइटेक टनेलमा अहिले काउली, गोलभेंडा, काँक्रा, रायोसाग, बोडी, सिमीलगायतका तरकारी छन् । बिहान ६ बजेभित्र खेतबारी र कुखुराको स्याहारमा सक्रिय हुने लामिछाने साँझ ९ बजेसम्म बारीमै व्यस्त हुन्छन् । पछिल्लो ४ वर्षयता व्यवसाय बिस्तार गरेसँगै अरु ३ कर्मचारी राखेका छन् ।

२५ वर्षे उमेरमा गाउँमै पहिलोपटक डिजेलको कुटानीपिसानी मिल चलाएर लामिछानेले गाउँलेलाई सहज बनाएका थिए । उतिबेला कुटानी र पिसानीका लागि मोदीबोणीको उकालो र ओरालो हुँदै बागलुङ, कुश्मासम्म पुग्नुपर्ने अवस्था थियो । ‘त्यो कहालीलाग्दो अवस्थाको अन्त्य गरेकोमा धेरै गाउँलेले आशिष दिन्थे,’ लामिछानेले भने, ‘त्यही आर्शिवादका कारण अहिलेसम्म बाँचेको छु । यो उमेरमा पनि मलाई कुनै रोग र अल्छीपन छैन ।’ एक दशकयता गाउँगाउँ विद्युतीय मिल सञ्चालन हुन थालेपछि भने लामिछानेले आफ्नो मिल बन्द गरे । ‘अहिले घरघरै मिल छन् । अब पुरानै पेसा गर्न मन नमानेर यतातिर लागें,’ उनले भने ।

मिल चलाएकै बखत करिब दुई दशकसम्म दर्जन बढी उन्नत जातका गाई पालेर कुश्मासम्म दूध बिक्री गर्दथे । ‘अहिले कुश्मा जान १० मिनेट पनि लाग्दैन,’ उनी सम्झन्छन्, ‘उतिबेला मोदीवेणी झरेर कुश्माको उकालो उक्लिन निकै कठिन थियो । ‘अहिलेजस्तो पुल र बाटो भइदिएको भए अझ कति गाई पालेर दूध बेच्न सकिन्थ्यो,’ उनले भने, ‘मोदीवेणीको उकालो–ओरालोकै कारण गाईपालन घटाउँदै लगेर कृषि कर्ममा लागेको हुँ ।’

दैलाकै बाटो हुँदै ०५७ सालमा दोबिल्ला–फलेबास निर्माण भएपछि तरकारीले पोखरासम्म सिधै बजार पाउने आशामा उनले तरकारी पेसामा जोड दिन थाले । दूध एक दिनमै बिग्रिने तर, तरकारी केही दिनसम्म नबिग्रिने भएपछि उनले सातामा दुई पटकसम्म तरकारी पोखरा पठाउँथे । ०६७ मा कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि भने उनलाई झनै सहज भयो ।

लामिछानेका छोराबुहारी र श्रीमतीले पनि बँचेको समयमा सक्दो सहयोग गर्छन् । वृद्ध उमेरमा पनि सक्रिय भएर कृषिमा लागेका लामिछाने जिल्लाकै अग्रणी किसानको सूचीमा रहेको कृषि ज्ञानकेन्द्र पर्वतकी प्रमुख मनिता थापा बताउँछिन् । ‘लामिछाने बुबाको सक्रियता युवाका लागि समेत प्रेरणादायी छ,’ थापा भन्छिन्, ‘रोजगारी पाइएन भन्ने युवा एकपटक उहाँकोमा गएर हेर्दा हुन्छ ।’ हरेक दिन फर्ममै व्यस्त हुनाले सरकारी अनुदानको पछि लाग्न नभ्याएको बताउने लामिछानेले कुश्मास्थित नेपाल बैंकबाट सहुलियत कृषि कर्जा भने लिएको बताए ।

प्रकाशित : भाद्र २७, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?