कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

लमजुङमा डेंगु संक्रमित बढ्दै

जिल्लामा गतवर्ष ८ जना संक्रमित भएकोमा यसपालि २ महिनामै १० जनामा डेंगु

लमजुङ — जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी विगत २ महिनामै डेंगु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।

लमजुङमा डेंगु संक्रमित बढ्दै

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेंगु संक्रमण देखिएका छन् । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । डेंगुबाट बेंसीसहर नगरपालिकाका ४ जना, राइनास र सुन्दरबजार नगरपालिकाका २/२ जना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण देखिएको छ । यसमा ७ महिना, १ वर्ष र ५ वर्षकादेखि ६० वर्षसम्मका छन् । ५ पुरुष र ५ महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उनले बताए ।

जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेंगु देखिएको हो । ‘धेरैजसो उपचार गरी घर फर्केका छन् । केही उपचारकै क्रममा छन्,’ उनले भने । उनका अनुसार डेंगु संक्रमण बढेसँगै अस्पतालमा आउने बिरामीलाई सचेत गराउँदै आइएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार डेंगु लागेका १ सयमध्ये २० देखि २५ जनामा मात्रै लक्षण देखिन सक्छ । तर, डेंगु संक्रमण हुनेहरू अरूलाई सार्न सक्रिय हुन्छन् । डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । अस्पतालका डा. शरण लिम्बूका अनुसार टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने उनी बताउँछन् । ‘यसबाट बच्न लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रणका उपाय अपाउनुपर्छ,’ उनले भने ।

पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएमा तत्काल मर्मत गर्ने, साँझ र बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा वा पार्कमा जाँदा तथा बालबालिकालाई लैजाँदा सावधानी अपनाउने गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित : भाद्र २७, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×