१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘नाबालक’ लाई ३६ वर्षे भन्दै कारागार ?

चोरी आरोपमा पक्राउ परेका अन्दाजी १६ वर्षे ११ महिनादेखि थुनामा 
उमेर खुल्ने कागजात भेटिएन, दाँत परीक्षणको प्रमाण अदालतले मानेन 
प्रकाश बराल

बागलुङ — उमेर खुल्ने कागजात उपलब्ध गराउन नसक्दा यहाँका एक ‘बालक’ लाई अदालतले ३६ वर्ष कायम गर्दै कारागार चलान गरेको छ । ती बालक ११ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । चोरी आरोपमा गत असोजमा पक्राउ परेका ढोरपाटन नगरपालिका–९ सुपुर्दुङका एक बालकको जन्मदर्ता नभएकै कारण मुद्दामा सुनुवाइ भएको छैन ।

वडासचिव थमप्रसाद घर्तीले अदालतबाट पत्र नआएको र ताकेता पनि नगरिएको बताए । गत साताको पेसीमा जन्म मिति खुल्ने कागजात नभएपछि उनी फेरि कारागार चलान भएका छन् ।

ती ‘बालक’ ले आफू अहिले १७ वर्ष पुगेको बताएका छन् । गत कात्तिक ११ मा पुर्पक्षका लागि भन्दै अदालतले पठाएको पत्रमा उनको उमेर ३६ वर्ष कायम छ । ‘हेर्दा पाको उमेर जस्तो लाग्दैन तर अदालतको कागजले उनको उमेर ३६ वर्ष बोल्छ,’ जिल्ला कारागार प्रमुख डिलबहादुर केसीले भने, ‘बयान दिँदा, हिरासतमा राख्दा पनि यो मानिस कति उमेरको हो भन्ने बुझ्नुपर्ने हो ।’ ढोरपाटन–९ का तुलबहादुर विकको जाहेरीपछि ती बालक पक्राउ परेका थिए । विकको पसलबाट ४ लाख रुपैयाँ चोरेको आरोपमा उनलाई प्रहरीले पक्रेको थियो । प्रहरीले उनको साथबाट रकम भने भेटेको थिएन ।

जिल्ला अदालतका तहसिलदार जगतबहादुर भण्डारीले कागजातमा ३६ भनेर आएको र पछि १८ वर्षको भनिएपछि केरेर सच्याइएको बताए । ‘जन्मदर्ता प्रमाणपत्र नभएसम्म उनको उमेर थाहा पाउन सकिँदैन,’ उनले भने, ‘वडा कार्यालयलाई पत्र पठाइएको तर जवाफ आएको छैन ।’ जवाफ नआएसम्म उनको मुद्दामा सुनुवाइ नहुने भएको हो । चोरी गरेको ठहर भए पनि उनलाई बालसुधार गृहमा पठाइनुपर्ने हो । तर, कागजातमा नाबालिग दाबी गरिएकाले त्यसैअनुसार उनले ११ महिना कैद भुक्तान गरिसकेका छन् ।

उनको घरमा केही वर्षअघि आगो लागेकाले उनको जन्म मिति खुल्ने काजगात नभएको बताइएको छ । उनले पढेको सरस्वती आधारभूत विद्यालय पनि ३ वर्षअघिको भुजीखोला पहिरोले बगाएकाले त्यहाँ पनि उनी सम्बन्धित कागजात छैनन् । उनले कक्षा ६ सम्म मात्रै पढेका छन् । ११ वर्षका उनका भाइ अहिले घरैमा रहेको उनकी आमाले बताइन् । कानुन व्यवसायी हरिप्रसाद गौतमले उनी बालक भएकोले सुधार गृह पठाउन माग गरिए पनि अदालतले कारागार पठाएको बताए ।

कागजात नभेटेपछि उनको दाँत परीक्षण भएको थियो । दाँत परीक्षणमा १३ देखि १९ वर्षको भनेर लेखिएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टले बालबालिकासम्बन्धी मुद्दामा अदालत लचिलो बन्ने बताए । ‘उमेर खुल्ने प्रमाण आयो भने हामीले तल्लो उमेर हेर्ने गर्छौं,’ उनले भने, ‘बेस्ट इन्ट्रेस्ट अफ चाइल्ड भन्ने मान्यता हेर्नुपर्ने हुन्छ ।’ न्यायाधीश भट्टको भनाइलाई आधार मान्दा पनि दाँत परीक्षणअनुसार उनको उमेर १३ वर्ष मात्रै मानिनुपर्ने हो । तर, यसअनुसार फैसला भएको छैन ।

प्रकाशित : भाद्र २६, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?