कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिगलिगकोट म्याराथनको उपाधि आर्मी क्लवका तामाङलाई

हरिराम उप्रेती

गोरखा — लिगलिगकोटदेखि गोरखा दरबारसम्म भएको म्याराथन दौड प्रतियोगिताको उपाधि आर्मी क्लवका तीर्थबहादुर तामाङले जितेका छन् । भवानी दल गणमा कार्यरत तामाङले तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरे । 

लिगलिगकोट म्याराथनको उपाधि आर्मी क्लवका तामाङलाई

त्यस्तै निर्धारित दूरी तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो बनेका छन् । आर्मी क्लवकै मोहन देवी जोशी तेस्रो, आर्मी क्लवका देवराज महतरा चौथो र गोविन्द कार्की पाँचौं बनेका छन् । सोलुखुम्वुका अर्जुन राई कुलुङ छैटौं, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौं, गोरखा सिरानचोकका अशोक बरामले आठौं स्थान हासिल गरेका छन् ।

शाह वंशीय राजसंस्थाका संस्थापक द्रव्य शाहले लिगलिगकोट देखि तत्कालिन गोरखा राज्यमा आफ्नो प्रभुत्व स्थापना गर्न प्रयोग गरेको पदमार्गलाई पछ्याएर दौड भएको हो । लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबारसम्मको ४२ किलोमिटर दूरीको दौड प्रतियोगितामा ९३ जना धावक सहभागी थिए ।

नेपाली सेनाको रिपुमर्दन गण गोरखा, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । गोरखाका द्रव्य शाहले १६१५ मा लिगलिगे दौड जितेर राज्यको प्रचलन अनुसार आफ्नो राजकाज सुरु गरेका थिए ।

लिगलिगकोटलाई नेपाल राज्य स्थापनाको उद्गमस्थल पनि मानिन्छ । द्रव्य शाहले गोरखाका थरघर र भारदारहरुको हयोगमा वि.सं. १६१६ भाद्र २५ गते तत्कालीन गोरखा आक्रमण गरी गोरखा राज्यको राज्यभिषेक गरेको इतिहासमा उल्लेख भएकाले उक्त समयमा नै नेपालको एकीकरणको प्रारभ्भ विन्दु मानिन्छ ।

सोही इतिहासको निरन्तरताको रुपमा यहाँ दौड सञ्चालन गरिएको बताइएको छ । तत्कालीन समयमा द्रव्य शाहले लिगलिगकोटदेखि गोरखा राज्य आइपुग्न प्रयोग गरेको मार्गमा दौड भएको हो ।

लिगलिकोटदेखि गोरखा दरबारसम्मको ४२ किलोमिटर दूरी पार गरेर पहिलो हुने धावकले एक लाख ५० हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा १०औं स्थानसम्मका धावकलाई पुरस्कारको व्यवस्था गरिएको छ । ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ को अवधारणामा भएको म्याराथनले गोरखा जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ । राष्ट्रिय एकीकरणमा गोरखालीले देखाएको शाहस र चरित्रलाई प्रकाश पार्न पनि प्रतियोगिताले थप मद्दत पुग्ने रिपुमर्दन गणका प्रमुख सेनानी हेमराज विष्टले बताए ।

प्रकाशित : भाद्र २५, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?