कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘ठेकेदार हराएको सूचना’

३ वर्षदेखि बेनी अस्पतालको भवन निर्माण अलपत्र छाडेका ठेकेदारको फोटो चोकमा टाँसेर विरोध
घनश्याम खड्का

म्याग्दी — तीन वर्षदेखि बेनी अस्पताल भवन निर्माण अलपत्र छोडेका ठेकेदार रवि सिंहको कालो ब्यानरमा सम्पर्क मोबाइल नम्बरसहित फोटो टाँसेर जिल्लामा विरोध भएको छ ।

‘ठेकेदार हराएको सूचना’

एमालेका युवा तथा विद्यार्थी संगठनहरुले भवन निर्माणस्थल बेनी अस्पताल र सदरमुकाम बेनीका चोकमा कालो ब्यानरमा ठेकेदार कम्पनी महादेव खिम्ती गल्वा रफिना जेभीका मुख्य सञ्चालक रवि सिंहको तस्बिरसहित ‘ठेकेदार हराएको सूचना’ टाँसेर विरोध गरेका हुन् ।

साबिक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाग्लुङले ०७३ पुस २१ गते महादेव खिम्ती/गल्वा/रफिना जेभी काठमाडौंलाई भ्याटबाहेक १८ करोड ९० लाख रुपैयाँमा ठेक्का दिएको थियो । सम्झौता अनुसार भवन ०७६ मंसिर २० गतेसम्म सम्पन्न हुनु पर्थ्यो । तर ५० बेड क्षमताको ३ तले बेनी अस्पताल भवनको ६० प्रतिशत भौतिक प्रगति रहेको नियामक सघन सहरी तथा भवन निर्माण कार्यालय बाग्लुङले जनाएको छ ।

अस्पतालजस्तो संवेदनशिल संस्थाको भवन तीन वर्षसम्म अधुरो राख्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका सिंहले सरकारलाई सार्वजनिक खरिद नियमावली संशोधन गर्न लगाई पुराना र म्याद सकिएका ठेक्कालाई एक वर्ष म्याद थपाउन सफल भएका छन् ।

‘सदरमुकामकै अस्पताल भवन निर्माण अलपत्र पर्दा जनताले हामीलाई कठालो समाए । जिल्लाबासीकै लज्जाको विषय बन्यो । नियामक निकायलाई बारम्बार दबाब दिएपनि कसैले केही गर्न सकेनन् त्यसैले ठेकेदारकै विरोधमा उत्रनु परेको हो,’ अनेरास्ववियुका अध्यक्ष सुभाष विकले भने, ‘जनताले जिल्लाका दल र नेताहरुलाई ‘लाक्षी’ भन्दै सरापेका छन् । कानुन कार्यान्वयन गर्नेहरु निरीह छन्, ठेक्का लिएर अलपत्र पार्ने सुदखोर ठेकेदारलाई जनकारबाही आवश्यक छ ।’

निर्माण व्यवसायीकै हेलचक्र्याइँले तोकिएको समयमा काम सम्पन्न नहुँदा बनेको संरचना रुग्ण भइरहेको अवस्थामा सार्वजनिक खरिद नियमावली सातौं पटक संशोधन भई एक वर्ष म्याद थपेसँगै बेनी अस्पताल भवन निर्माण थप अलपत्र बनेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय बाग्लुङ, जिल्ला प्रशासन कार्यालय म्याग्दीले समेत पटक–पटक ताकेता गरेपनि निर्माण व्यवसायीले बेवास्ता गर्ने र अटेरी गर्दै आएका छन् । प्रतिक्रियाका लागि ब्यानरमा उल्लेखित सिंह श्रेष्ठको मोबाइल नम्बरमा सम्पर्क गर्दा उठाएनन् ।

अस्पताल भवन समयमा निर्माण नहुँदा बिरामीले थप सास्ती खेप्नु परेको छ । अस्पतालमा दरबन्दी भएका विशेषज्ञ डाक्टरहरु पूर्वाधार नभएको भन्दै हाजिर हुन आएका छैनन् । हालै स्वास्थ्य विभागले ‘हब अस्पताल’ बनाउन प्रस्ताव मागेकोमा बेनी अस्पतालको भवन नभएको भन्दै पन्छ्याएको थियो ।

‘ठेकेदारले आउँदो पुससम्मको समय मागेका छन् । ठेकेदारले भने जसरी सरासर काम गरे, पुससम्म बेनी अस्पताल भवन तयार हुन्छ,’ कार्यालयकी अस्पताल भवन हेर्ने साइट इन्चार्ज इन्जिनियर बिना चाकटुले भनिन्, ‘सार्वजनिक खरिद नियमावली नै परिवर्तन भएपनि व्यवसायीलाई बारम्बार ताकेता गरेका छौं । थप काम गर्न दबाब दिन बिलमा कडाइ गरेका छौं ।’

प्रकाशित : भाद्र २०, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?