कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वत कांग्रेसमा आकांक्षी नै सय बढी

एमालेले बिहीबारसम्ममा आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाउने, माओवादीले केन्द्रको सहमतिबमोजिम निर्णय गर्ने 
अगन्धर तिवारी

पर्वत — संघमा एक र प्रदेशमा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न ४ मंसिरको चुनावी सरगर्मी सुरु भइसकेको छ । मुख्य ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जिल्लास्थित पार्टीका नेताले बताएका छन् ।

पर्वत कांग्रेसमा आकांक्षी नै सय बढी

कांग्रेसले शनिबार मात्रै उम्मेदवारको नामावली केन्द्रमा पठाउने गरी भएको निर्देशनबमोजिम पार्टीको प्रदेश ‘क’, प्रदेश ‘ख’ र जिल्ला कार्यसमितिको बैठक बसेर आकांक्षीको नाम सार्वजनिक गरेको छ । कांग्रेस पर्वतका प्रवक्ता एवं सहसचिव अच्युत तिवारीका अनुसार संघ र प्रदेशको खुला र समानुपातिक गरी एक सयभन्दा बढीले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । आकांक्षी सबैको नाम जिल्ला कार्यसमितिले संकलन गरिसकेको छ । जिल्ला कार्यसमितिमा संघीय सांसद बन्नका लागि ४२ जनाले नाम दर्ता गरेका छन् । संघीय सांसदको प्रत्यक्षतर्फ पूर्वसांसद अर्जुन जोशीदेखि वडा सदस्यमा उम्मेदवारी दिएकाको समेत नाम छ । कांग्रेस सभापति युवराज जोशीले प्रत्यक्षमा १८ र समानुपातिकमा २४ जनाले उम्मेदवारका लागि नाम दर्ता गराएको बताए । प्रदेश ‘ख’ मा १७ जना प्रत्यक्ष र १८ जना समानुपातिक गरी ३५ जना उम्मेदवारका आकांक्षी छन् ।

प्रदेश ‘क’ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ १८ जना गरि २८ जनाले उम्मेदवारको आकांक्षा व्यक्त गरेका छन् । प्रदेश र संघसमेत गरी उम्मेदवारको आकांक्षी मात्रै १ सय ५ पुगेको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । ‘आकांक्षी सकभर घटाएर पठाउँदा राम्रो हुन्छ,’ सभापति जोशीले भने, ‘हामीले छलफल गरेर निष्कर्षमा पुग्छौं ।’ पार्टीको निर्देशनबमोजिम बहुमत, सर्वसम्मत गर्ने र त्यो पनि नभए आकांक्षी सबैको नाम पठाउने तयारी जिल्ला कार्यसमितिले गरेको छ ।

त्यस्तै एमालेले आउँदो बिहीबारसम्म आकांक्षीका नाम केन्द्रीय कमिटीमा पठाउने तयारी गरेको जनाएको छ । जिल्ला कार्यसमितिको बैठक आह्वान गरिएकाले बैठकले गरेको निर्णयबमोजिम आकांक्षीको नाम संकलन गरिने एमालेका उपसचिव गणेश पौडेलले बताए । ‘ठूलो पार्टी भएपछि आकांक्षी धेरै हुनु स्वाभाविक हो,’ पौडेलले भने, ‘जिल्ला कार्यसमितिले निर्णय गरेर भदौ २३ भित्र केन्द्रीय कमिटीमा नाम पठाउने हो । आन्तरिक छलफल भइरहेको छ ।’

माओवादी केन्द्रको पनि जिल्ला कार्यसमिति बैठक निरन्तर बसिरहेको नेताले बताएका छन् । माओबादीले केन्द्रको सहमतिबमोजिम निर्णय गर्ने जनाएको छ । ‘केन्द्रदेखि तालमेलको कुरा छ । तालमेल भयो भने हामीले सोहीअनुसार उम्मेदवारी दिने हो,’ माओवादीका जिल्ला सदस्य ऋखिराम भुसालले भने, ‘तालमेल हुँदा हामीले प्रदेशको एउटा सदस्य पक्कै पाइन्छ । सोहीअनुसार नाम सिफारिस हुन्छ ।’ माओवादीले आकांक्षीलाई राखेर केही दिनदेखि निरन्तर छलफल र बैठक गरिरहेको छ ।

प्रकाशित : भाद्र २०, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?