कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बागलुङ–बेनी सडक सञ्चालन

रासस

काठमाडौँ — म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर मंगलबार साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । 

कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले ब्याकुहोलोडर परिचालन गरेर सडकमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालन हुन थालेको जानकारी दिए । पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरेर सडक मर्मत गरेको हो ।

हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएपछि बागलुङ तर्फबाट बेनी आउने सवारी साधनहरु खबरामै रोकिने गरेका थिए । बेनीबाट बाग्लुङ जान आउन बेनी–मालढुंगाको घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या थियो ।

बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुंगा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको थियो । बेनी–मालढुंगा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई बागलुङ भएर सञ्चालन गरिएको थियो ।

पहिरो पन्छाए पनि पहिरोको जोखिम कायमै रहेकाले आवतजावतका क्रममा सावधानी अपनाउन पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । गत बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिला चोट लागेर घाइते भएका थिए । पहिरोले गुब्डिरहेका सवारी साधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ ।

हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत असारमा खबरा र हाँडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

प्रकाशित : भाद्र १४, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×