कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'९ कक्षाका विद्यार्थी, जसले युट्युब हेरेरै एटीएमबाट पैसा चोरे'

उमेर २१, पढाइ ९ कक्षा । तर, आइटीमा 'पर्फेक्ट' । उनै ९ कक्षाका विद्यार्थीलाई एटीएम मेसिनबाट पैसा चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रतीक्षा काफ्ले

कास्की — अनिश तामाङ उमेरले २१ वर्ष पुगे । तर, उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । आइटीमा राम्रै ज्ञान भएको व्यक्तिमा पर्छन् उनी । जोकोहीलाई अचम्म लाग्ला तर प्रहरीको अनुसन्धानले उनलाई आइटीमा पोख्त व्यक्तिको रुपमा परिचित गराएको छ । कास्की प्रहरी प्रमुख अजय केसीका अनुसार तामाङ आइटीमा रुची राख्ने व्यक्ति हुन् ।

'९ कक्षाका विद्यार्थी, जसले युट्युब हेरेरै एटीएमबाट पैसा चोरे'

‘२१ वर्ष भए पनि अहिले उनी ९ कक्षामा पढ्दै छन्,’ उनले भने, ‘आइटी सम्बन्धी ज्ञान रहेछ । गुगल र युट्युबले पनि धेरै कुरा सिकाएको छ ।’

तामाङ आइटीमा सिपालु मात्रै छेनन्, उनी चोरीका अभियुक्त पनि हुन् । प्रहरीले एटीएम मेसिन फुटालेर रकम चोरेको आरोपमा उनलाई पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै अभियुक्त तामाङलाई सार्वजानिक गरिएको छ । गत साउन ३ गते राति २ बजेको कुरा हो, कास्की प्रहरीलाई पोखरा महानगर–२७ तालचोकमा रहेको एनआईसी एशिया बैंकको मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना बैंकको प्रधान कार्यालयबाट प्राप्त भयो । प्रहरी तत्काल एटीएम मेसिन भएको ठाउँ पुगे । तर, त्यहाँ प्रत्यक्ष प्रमाणका लागि केही भेटिएन ।

प्रहरीले मेसिन फोर्ने प्रयास भएको पत्ता लगायो । सीसी क्यामेराबाट हुलियाको आधारमा शंकास्पद व्यक्तिको खोजतलास भयो । बिहानै ३ बजेर १५ मिनेट जाँदा ग १० प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेल्मेट कोलेफाँटमा भेटियो । त्यस्तै, बिहान ६ बजे एनएमबी बैंक केन्द्रीय कार्यालयले पोखरा–३० अर्घौचोकमा रहेको एटीएम बुथमा रहेको मेसिन पनि फुटालेर चोरी भएको सूचना प्राप्त भयो ।

प्रहरी त्यहाँ पुग्दा मेसिन फोरिएको र दुई वटा क्यासकेटसहित नगद चोरी भएको देखियो । खोजतलास गर्ने क्रममा दुई वटा क्यासकेट फोरिएको अवस्थामा विचारी चौतारमा फेला पर्‍यो । प्रहरीले दुवै घटनास्थल फिङगर प्रिन्ट र सीसीटीभी फुटेज संकलन गरी मुचुल्का उठायो । दुवै एटीएम बुथमा एउटै हुलिया भएको व्यक्ति हो भन्ने पत्ता लाग्यो । एसपी केसीले भने, ‘त्यसपछि हामी गम्भीर भयौँ । प्रदेश प्रहरी, केन्द्रीय कार्यालयमा खबर गरी अनुसन्धान टोली गठन गरी थप अनुसन्धान अघि बढायौँ ।’

बुलेट मोटरसाइकल चोरीको लागि प्रयोग भएको खुल्न आएपछि मोटरसाइकल धनी खोजतलास गर्दा तालचोकका विजय गौतम रहेको र उनलाई सोधपुछ गर्दा सोही दिन राति मोटरसाइकल चोरी भएको बताए । एटीएम मेसिन भेन्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटीएम मेसिनको चावी पूर्णरुपमा बन्द नगरेको देखिएको प्रहरीले जनायो ।

‘बिमा गरेको हुन्छ सुरक्षाको विषयमा बैंक सिरियस देखिँदैनन्,’ एसपी केसीले भने, ‘प्रहरी प्रधान कार्यालयबाट सुरक्षाको लागि देशभर परिपत्र गरिएको छ ।’ पक्राउ परेका पोखरा–३० डुँडाको मुख बस्ने तामाङको साथबाट दुई वटा मोबाइल, १९ हजार नगद र कपडा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाइक पनि खरिद गरेको भेटिएको छ । प्रहरीले नेपाल भारत सिमाना नजिकै रुपन्देहीको बेलहियाबाट भदौ २ गते पक्राउ गरेको हो ।

भारत भाग्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपुरको देवचुली नगरपालिका घर भएका तामाङले सिसुवास्थित माझापसल ट्रेडर्स (हार्डवेयर पसल) मा काम गर्दै आएका थिए । सोही ठाउँको लक्ष्मी आदर्श माविमा अध्ययन गर्ने तामाङ पहिलो पटकमा एटीएम मेसिन फुटाल्दा १४ लाख ७१ हजार ५ सय रुपैयाँ निकाल्न सफल भएका थिए । तर, उनको दोस्रो प्रयास भने असफल भयो । आरोपित भन्छन्, ‘मेसिनभित्र पसेपछि प्रयास गरेको सजिलै निकाल्न सकेँ । तर, अर्को एटीएममा दुवै चाबी लगाइएको रहेछ, निस्किएन ।’ अर्घौंचोकबाट एनएमबीको पैसा राख्ने कालो एउटा बक्स, सिसुवाबाट चोरी गर्न जानुअघि लगाएको सिल्भर रंगको एउटा हेल्मेट, कोलफाँटबाट मोसा र मेसिनभित्र जाँदा लगाएको एउटा हेल्मेट, डोडामुखबाट एउटा कालो सर्ट, सेतो लेस भएको एक जोर कन्भर्स जुत्ता र कालो ट्रयाक प्रहरीले भेटाएको छ ।

तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरी ७ दिनको म्याद गरिएको छ । चोरिएको रकम कहाँ लगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । ‘संलग्न को थिए ? पत्ता लगाउँदैछौं’ उनले भने । आरोपीतले सोही रात घरमा र बाहिर दुई पटकसम्म खाना खाएको हुँदा प्रहरीले घरपरिवारका सदस्यलाई पनि शंकाको घेरामा लिएको छ । ‘तामाङ ठूलो चोर त होइन तर, राम्रो लगाउँ र मिठो खाउँ भन्ने सोखिन रहेछ,’ एसपीले थपे, ‘खत्र्याङखुत्रुङ किनेको देख्दा रुची अनुसार अपुग भएर चोरी गरेको हो कि ?’ प्रहरीले अन्य सतर्कता अपनाउन सबै बैंक तथा वित्तीय संस्थाका प्रदेश र शाखा प्रमुखलाई बोलाएर सुरक्षा सावधानीको लागि निर्देशन गरेको जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?