कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा ‘ब्लड बैंक’ सञ्चालनमा

हरिराम उप्रेती

गोरखा —  जिल्लामा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । स्थापना भएको ३ वर्षपछि केन्द्र सञ्चालनमा आएको हो । केन्द्रका लागि शिक्षा विकास तथा समन्वय इकाइसँगैको भवनमा आवश्यक उपकरण जडान गरिएको छ ।

गोरखामा ‘ब्लड बैंक’ सञ्चालनमा

बुधबार जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले केन्द्रको उद्घाटन गरे । पहिलो दिन ६ जनाले रक्तदानसमेत गरेको रेडक्रस सोसाइटी गोरखा शाखाका कार्यालय प्रमुख सुवास घिमिरेले बताए । अब रगत अभावकै कारण बिरामी जिल्लाबाहिर रेफर हुन नपर्ने उनले बताए । रक्तदान गर्ने र रगत आवश्यक पर्ने दुवैलाई केन्द्र सहज बन्ने घिमिरेको भनाइ छ ।

केन्द्र सञ्चालनका लागि मासिक ७५ हजार खर्च लाग्ने रेडक्रस जिल्ला शाखाका सभापति यदुविलास भट्टराईले बताए । तत्कालका लागि ३ पालिकाबाट केही रकम विनियोजन गर्ने आश्वासन पाएको उनले बताए । ‘सहिद लखन, आरुघाट र सिरानचोक गाउँपालिकाले केही रकम सहयोग गर्ने बचन दिएका छन्,’ उनले भने, ‘जिल्लाका अन्य पालिकासँग पनि सहयोगको माग राखेका छौं ।’

केन्द्रमा एक जना ल्याब टेक्निसियनसहित कम्तीमा ४ कर्मचारी राख्ने गरी योजना बनाएको भट्टराईले बताए । ‘रक्त संकलन गाह्रो छैन, केन्द्रसँग दुई सय पिन्टसम्म रगत राख्न सक्ने क्षमता छ,’ उनले भने, ‘संकलित रकम ४२ दिनसम्म राख्न मिल्ने रहेछ, तर हामी यहाँ संकलित रगत ३० दिनभित्र खपत नभए अर्को ठाउँमा पठाउँछौं ।’ बढी भएको रगत चितवन तथा पोखरा पठाउने योजना रेडक्रसको छ ।

तीन वर्षअघि ब्लड बैंक सञ्चालनका लागि तीन करोड रुपैयाँ बराबरको उपकरण आए पनि जनशक्ति अभावमा केन्द्र सञ्चालनमा आउन सकेको थिएन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्ट्रेलियाको ग्याप र बेल्जियम रेडक्रसको सहयोगमा ब्लड बैंकका लागि आवश्यक उपकरण रेडक्रस सोसाइटी गोरखालाई सहयोग गरिएको थियो । बेल्जियम र नेदरल्यान्ड्स रेडक्रसले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने ब्लड कनेक्सन मोनिटर, ट्युब सिलर, स्टेरेलाइज ओभन, इक्युभेटर, फ्रिजलगायत सामग्री सहयोग गरेको छ ।

गोरखा अस्पतालमा रगत अभावमा शल्यक्रिया सेवामा समेत समस्या पर्दै आएको थियो । अस्पतालमा आउने प्रसूति, सडक दुर्घटना र डायलसिस गर्ने बिरामीलाई रगतको बढी आवश्यकता पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित : भाद्र ४, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?