कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

किसानलाई कहिले सिँचाइको पिरलो, कहिले मलको

७ किलो मल लिनका लागि दिनभरि लाइनमा बस्नुपर्ने बाध्यतामा  
 टाउका गनेर नभई खेतीका आधारमा मल वितरण गर्न माग
नवीन पौडेल

परासी — असारमा मल बिना नै रोपाइँ गरेका कावासोती–१७ की मुना न्यौपानेले धान गोडेर सकिँदासम्म पनि रासायानिक मल पाइनन् । रोपाइँको समय घर्किन लागिसक्दा पनि मल नपाएपछि जसोतसो प्रांगारिक मल छरेर रोपाइँ गरेकी उनी गोडेपछि पनि रासायानिक मल नपाएपछि उत्पादन घट्ने पिरलोमा छिन् ।

किसानलाई कहिले सिँचाइको पिरलो, कहिले मलको

‘रोपाइँको समयमा केही दिनपछि प्रशस्त मल आउने भन्दै आश्वासन दिएका सहकारी र कृषि सामग्री कम्पनी लिमिटेडले अहिले पनि आवश्यकताभन्दा कम मल वितरण गरेका छन्,’ उनले भनिन्, ‘सहकारीमार्फत वितरण गरिएको मल दुई दिनमै सकियो । २० किलो रासायानिक मल आवश्यक पर्ने हामीलाई जम्मा ७ किलो मात्र दिइयो । यसले मल राख्नु र नराख्नु एकै हो ।’

समयमा पानी नपर्दा ढिलो गरी रोपाइँ गरेका किसानलाई अहिले मल अभावले थप चिन्तित बनाएको छ । पूर्वी नवलपरासीको अधिकांश स्थानमा सिँचाइ अभाव छ । भूमिगत सिँचाइ प्रणालीमार्फत केही स्थानमा सिँचाइ हुने भए पनि अधिकांश किसान आकासेपानीको भरमा नै खेती गर्नुपर्ने बाध्यता छ । ‘किसानको टाउको गनेर मल वितरण गरेर हुँदैन । खेती गरेको क्षेत्रफलका आधारमा वितरण गर्नुपर्ने हो,’ देवचुली नगरपालिका–५ का गोकर्ण शर्माले भने, ‘२ कट्ठामा खेती गर्नेलाई र एक बिघामा खेती गर्नेलाई उति नै परिमाणमा मल वितरण गरेर हुँदैन । मल वितरणको वैज्ञानिक आधार हुनुपर्‍यो ।’

जिल्लामा ७ किलोदेखि १५ किलोसम्म समानुपातिक तबरले मल वितरण गरे पनि पर्याप्त छैन । मल लिनका लागि किसान तँछाडमछाड गरेर लाइनमा बसिरहेका छन् । ७ किलो मल लिनका लागि दिनभरि लाइनमा बस्नुपर्ने बाध्यतामा रहेका किसानले स्थानीय तह र सरकारका प्रतिनिधिप्रति आक्रोश पोख्दै बसिरहेका छन् ।

‘हरेक वर्ष एउटै समस्या आउँदासमेत समयमा नै तयारी नगर्ने जनप्रतिधि ठूलो ठूलो विकासको कुरा गर्छन्,’ कावासोती–८ का अर्जुन तामाङले भने, ‘करको दायरा बढाउने, खोला ठेक्का लगाउने र सडक पिच गरेर मात्र विकास हुन्छ र ? जनता आफूले लगाएको खेती पानी र मलको अभावमा खेतमा नै धान सुक्ने अवस्थामा पुगेका छन् । यसतर्फ कसले कुनै पनि जनप्रतिनिधिको चासो छैन ।’

जिल्लामा अहिले करिब ५ सय मेट्रिक टन मलको माग रहेको छ । तर मागअनुसारको आधा पनि मल आएको छैन । जिल्लामा यस वर्ष २ सय २४ मेट्रिक टन मल मात्र आएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुर शाखाका प्रबन्धक शोभा न्यौपानेले बताइन् ।

‘केन्द्रबाट उपलब्ध भएको रासायानिक मल जिल्लामा छनोट भएका सहकारीमार्फत वितरण गर्नका लागि सम्बन्धित बिक्री केन्द्रमा पठाइसकेका छौँ,’ उनले भनिन्, ‘माग उच्च रहेकाले मल पर्याप्त उपलब्ध नभएको हो । हामीले मागअनुसारको पत्र केन्द्रमा पठाएका छौँ ।’ जिल्लामा आएको मल हाल ५८ वटा सहकारी तथा एग्रोभेटबाट वितरण भइरहेको छ ।

प्रकाशित : भाद्र २, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×