कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडामै पुगेर योजना सम्झौता

कान्तिपुर संवाददाता

बागलुङ — बागलुङ नगरपालिकाले वडा तहमै पुगेर योजना सम्झौता थालेको छ । दसैंतिहार पछिमात्रै उपभोक्ता समिति गठन गर्ने, मंसिर–पुसमा सम्झौताका लागि बोलाउने र काम सक्दा जेठ–असार हुने चलन हटाउन पालिकाले योजना सम्झौता थालेको हो ।

पालिकाले पहिलो दिन आइतबार वडा नम्बर ११ मा पुगेर योजना सम्झौतासहितको घुम्ती शिविर गरेको छ । उपभोक्ता समितिकी लक्ष्मी केसीले १५ लाख रुपैयाँ लागतको वडा कार्यालयदेखि रामतोला बस्ती जोड्ने नमुना सडक योजनाको सम्झौता वडामै गरिन् । योजनाको रकम भुक्तानीका लागि बैंक खाता पनि गाउँमै खोल्न पाइन् । उपभोक्ता समिति गठन गरेपछि पालिका पुगेर सम्झौता गर्नुपर्ने, खाता खोल्न बैंक धाउनुपर्ने र खाता सञ्चालनका लागि पदाधिकारी सबै पुग्नुपर्ने बाध्यता थियो ।

‘जेठ असारमा योजना सम्झौता गर्ने र हतारमा फरफारक गर्ने प्रवृत्तिविरुद्ध हामीले साउनबाटै योजना सम्झौता थालेर फागुन–चैतमा काम सक्ने लक्ष्य लिएका छौं,’ नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने, ‘अब रकमान्तर नभएका तथा केन्द्रबाट ढिला आएका योजना मात्रै चैतपछि सम्झौता हुनेछन् ।’ आइतबार ८ वटा सडक योजनाको सम्झौता गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जनाए । नगरपालिकाको योजनामा १५ प्रतिशत उपभोक्ताले लगानी गर्नुपर्छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?