कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्सेनि भीरबाट खसेर मर्छन् खच्चड

‘एक महिनामा ६०/७० हजार कमाइ हुन्छ, एउटा मर्दा महिना दिनको कमाइ जान्छ’
हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–२ केरौजाका राज गुरुङ १७ वर्षदेखि खच्चड व्यवसायमा छन् । अहिलेसम्म उनका ३१ खच्चड मरिसके । अधिकांश खच्चड भीरबाट खसेर मरेको राजले सुनाए ।

बर्सेनि भीरबाट खसेर मर्छन् खच्चड

‘सुरुमा पालेका नौ वटा खच्चडमध्ये अहिले एउटै छैनन्,’ उनले भने, ‘धेरैजसो भीरबाट खसेर मरे । केही पिसाब बन्द हुने समस्या र सिंगाने रोगले मरे ।’ उत्तरी गोरखामा ढुवानीको भरपर्दो साधन खच्चड हो । यो क्षेत्रमा सय जनाभन्दा बढीले खच्चड व्यवसाय अँगालेका छन् । सडक यातायात नपुगेका गाउँमा चामल, नुनतेललगायत उपभोग्य सामग्री पुर्‍याउने खच्चड भने बाटोको कारणले मर्ने गरेका छन् । भीरबाट खस्ने समस्याले खच्चड व्यवसायी आजित छन् ।

धार्चे–१ का नवीन घलेका ४ वर्षमा चार वटा खच्चड मरे । मनास्लु पदमार्गअन्तर्गत दोभान उकालो, राना, नाम्रुङ र स्यालामा चार वर्ष एक/एक गरी खच्चड भीरबाट खसे । ११ वटा खच्चड किनेर व्यवसायमा होमिएका घलेलाई बर्सेर्नेि खच्चड मर्दा घाटा लागेको छ । ‘एक महिनामा ६०/७० हजार कमाइ हुन्छ,’ उनले भने, ‘एउटा मर्दा महिना दिनको कमाइ जान्छ ।’ भारीसहित भीरबाट खसेका खच्चडको उद्धार गर्न सहज नरहेको उनले सुनाए । ‘बुढीगण्डकीको किनारको बाटो जोखिमपूर्ण छ । आफ्नै ज्यान जोखिममा राखेर उद्धार गर्न पनि कठिन हुन्छ,’ उनले भने, ‘लडेर छटपटिएको खच्चड हेर्दै मन भारी बनाएर छाडेर हिँड्नुको विकल्प हुँदैन ।’

सीमा क्षेत्रको सामागाउँ, छेकम्पार, ल्होका स्थानीय तिब्बतको बजार क्षेत्र पुगेर चौंरीमार्फत पनि ढुवानी गर्छन् । तर स्थानीयले खच्चडलाई ढुवानीको भरपर्दो साधन मान्छन् । ‘चौंरी गर्मी ठाउँमा जान सक्दैन,’ अर्का खच्चड व्यवसायी मानबहादुर गुरुङले भने, ‘खच्चड नै भरपर्दो माध्यम हो, सडक बिस्तार भएपछि खच्चडको हिँड्ने क्षेत्र पनि खुम्चँदै गएको छ ।’ बिरामी बनेर, बाटो र जीर्ण पुलको कारणले खच्चड मर्ने समस्या रहेको उनले सुनाए । उत्तरी गोरखा पुग्न दर्जन बढी ठाउँमा झोलुङ्गे पुल छन् । कतिपय पुल जीर्ण बन्दा खुट्टा खट्किएर खच्चड घाइते हुने र मर्ने समस्या रहेको गुरुङले सुनाए ।

गत जेठ १९ मा चुमनुव्री गाउँपालिका–३ फिलिम जोड्ने झोलुङ्गे पुलबाट बुढीगण्डकीमा खसेका ८ मध्ये पाँच वटा खच्चड मरे । ३ वटा घाइते भए । जीर्ण पुलको सल्याबमा खुट्टा खट्किएर दिनहुँजसो खच्चड घाइते बन्छन् । फिलिम पुलबाट खसेर मरेका पाँचमध्ये दुई खच्चड धार्चे गाँउपालिका–५ का सूर्य गुरुङका हुन् । पुलबाट ढुंगामा बजारिएर छट्पटिँदै मरेको खच्चड सम्झदा गुरुङको मन भारी बन्छ । दुई खच्चड मर्दा डेढ लाख घाटा लागेको सूर्यले बताए । ‘पैसा कमाउने साधन मर्दा कसलाई पो पीर पर्दैन,’ उनले भने, ‘एक महिनामा तीन वटा खच्चड मरे । दुई वटा पुलबाट खस्यो, सामागाउँ सामान पुर्‍याउन जाँदा एउटा हिँड्दा हिँड्दै छटपिटएर मर्‍यो ।’

यस क्षेत्रमा बर्सेनि एक सय हाराहारीमा खच्चड मर्ने गरेको खच्चड व्यवसायी बताउँछन् । एउटै खच्चडको मूल्य ८० देखि एक लाखसम्म पर्छ । यसले व्यवसायीलाई लाखौँ घाटा लाग्ने खच्चड व्यवसायी समूहका पूर्वअध्यक्ष कान्छा गुरुङले बताए । ‘आधा जति बाटोकै कारण भीरबाट लडेर र माथिबाट खसेको ढुंगा लागेर मर्ने हो,’ उनले भने । आरुघाटलाई मुख्य व्यापारिक केन्द्रको रूपमा लिने स्थानीय माछाखोलासम्म गाडीमार्फत सामान पुर्‍याउँछन् । माछाखोलाबाट भने खच्चडमा बोक्नुको विकल्प छैन ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?