अस्पतालमा छिटो सेवा नपाएकामा गुनासो- गण्डकी - कान्तिपुर समाचार

अस्पतालमा छिटो सेवा नपाएकामा गुनासो

प्रकाश बराल

बागलुङ — सदरमुकामदेखि २० किमि दक्षिणको अमलाचौरबाट मिर्गौलासम्बन्धी उपचारका लागि गत बिहीबार धौलागिरि अस्पताल आएका ४० वर्षीय टुकबहादुर नेपालीले दिनभरि लाइन बसेर पनि उपचार पाएनन् । लाइन लागेर टिकट काट्नै उनलाई दुई घण्टा लाग्यो ।


ओपीडीमा परीक्षण गर्दा एक घण्टा बिताएपछि फेरि भिडियो एक्सरेका लागि शुल्क तिर्न उनले थप २ घण्टा लाइन बसे । दिउँसो १ बजे शुल्क तिर्ने काउन्टरमा पुग्दा उनलाई फर्काइयो । भिडियो एक्सरे गर्ने ५० जना पुगिसकेको भन्दै काउन्टरले पैसा बुझ्न मानेन ।

मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका नेपालीले अझै भिडियो एक्सरे गर्न पाएका छैनन् । गत बिहीबार लाइन बसेर फर्केपछि शुक्रबार र शनिबार बिदा भनेर नआएका उनी आइतबार पनि घरधन्दामै भुले । ‘बेलाबेला समस्या बल्झेकाले उपचार पाइएला भनेर गएको थिएँ, दिनभरि बसेर पनि केही भएन,’ उनले भने, ‘मेलापात छाडेर दिनदिनै अस्पताल जाने फुर्सद छैन, मौका पारेर जानुपर्ला ।’ पत्थरीको भिडियो एक्सरे गर्नुपर्छ भनेर डाक्टरले लेखाइदिए पनि गर्न नपाएको उनले गुनासो गरे । पैसा तिर्ने बेलामा काउन्टरको कर्मचारीले आज पालो आउँदैन, भोलि आउनुस् भनेर फर्काएपछि उनको भिडियो एक्सरे गर्ने दिन घर्केको हो ।

पर्वतको जलजलाका हिरालाल रेग्मीले पनि उस्तै सास्ती खेपेको गुनासो गरे । पैसा तिर्ने लाइन नबस्दै पालो आउने/नआउने कुरा कर्मचारीले जानकारी नदिँदा घण्टौं लाइनमा बसेर रित्तो हात फर्कनुपरेको गुनासो छ । दैनिक ५० जनाको मात्रै एक्सरे गरिने भएकाले आएका सबैले पैसा बुझाउन पाउँदैनन् । चार घण्टा लगाएर पनि उपचार पाउन नसकेपछि बिरामीको गुनासो बढेको हो । स्त्री रोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्न आएकी बानपा–८ सिगानाकी लीलाकुमारी कार्कीले पनि भिडियो एक्सरेको लाइनमा सास्ती खेपेको गुनासो गरिन् । ‘दिनमा ५० जनाको मात्र भिडियो हुने रहेछ, त्यस्तो हो भने ५१ नम्बर पर्नेलाई समयमै फर्काइदिनुपर्नेमा दिनभरि लाइनमा राखियो,’ उनले भनिन्, ‘घरको काम पनि भएन, उपचार पनि भएन ।’ यस्तो सास्ती खेप्ने धेरै बिरामीले दैनिक गुनासो गर्न थालेका छन् । धौलागिरि अस्पताल व्यवस्थापन समिति र प्रशासनले बिरामीको भीड मात्रै गरेर उपचार नदिएको आरोप बिरामीले लगाउन थालेका हुन् ।

अस्पतालमा यस्ता गुनासो गर्नेहरू दिनदिनै बढेका छन् । सामान्य उपचार पाउने कुरा मात्र नभई विशेषज्ञ सेवा पाउन पनि सास्ती बढेको छ । बिमा गरेकालाई उपचार सेवा झनै झन्झटिलो छ । साथै अस्पतालका डाक्टर र अन्य स्वास्थ्यकर्मीले गर्ने व्यवहार फरक भएको बिरामीले गुनासो गरे । अमलाचौरका ईश्वरी शर्माको गुनासो पनि उस्तै छ । बिमा गरेको व्यक्तिबाट फाइदा पाइँदैन भनेर स्वास्थ्यकर्मीले सित्तैमा उपचार गरिदिएझैं गरेको उनले गुनासो गरे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बिरामीले दुःख पाएको स्विकारे । उनले केही समय समस्या भए पनि अहिले भने व्यवस्थापन भइसकेको दाबी गरे । ‘एक जना मात्रै रेडियोलोजिस्ट हुनुहुन्छ, अन्य कर्मचारी पनि थिएनन् । त्यसैले समस्या परेको थियो,’ पोखरेलले भने, ‘अब आउनेलाई समस्या पर्दैन ।’ एक्सरे ल्याबमा कर्मचारी थपेर सहज बनाएको उनले बताए ।

अस्पतालको सेवा प्रवाह चुस्त बनाउन दक्ष जनशक्ति अभाव भएको प्रशासन शाखाका निमित्त प्रमुख ताराप्रसाद शर्माले बताए । ‘डाक्टर संख्या कम छ, बिरामीको चाप बढेको छ, त्यसैले सबैले एकै पटक पालो नपाएका हुन्,’ उनले भने, ‘भिडियो एक्सरेलगायत सेवा पनि दैनिक ५० जनाभन्दा बढीको गर्न नसकिएको हो ।’ गुनासो आइसकेपछि पालो आउने/नआउनेबारे सुरुमै जानकारी दिन थालिएको उनको दाबी छ । बागलुङ बजारकी मेलिना श्रेष्ठले लाइनमा बसिसकेको बिरामीको ढिला भए पनि उपचार गरिदिनुपर्ने बताइन् । ‘आज उपचार छैन भनेर फर्कनु पीडादायी हुन्छ,’ उनले भनिन्, ‘यत्तिको अस्पतालले चौबिस घण्टे सेवा दिनुपर्छ ।’ सामान्य उपचार गर्न पनि बिरामीले होटल खोजेर बास बस्नुपर्ने बाध्यता हटाउनुपर्ने उनले सुझाव दिइन् ।

गर्मी बढेदेखि नै यहाँ दैनिक ५ सयसम्म बिरामी आउने गरेका छन् । तीमध्ये नभ्याएकाले भोलिपल्ट सेवा पाउने भए पनि भोलिपल्टका थपिँदा संख्या बढिरहेको हो । सार्वजनिक बिदाको दिनमा विशेषज्ञ सेवा नहुने कारणले धेरै बिरामी मर्कामा परेको गुनासो गरे ।

प्रकाशित : श्रावण ३०, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

देश जोड्ने खेलाडी

सेनामा भर्ती हुने पारिवारिक इतिहास पछ्याएर पढ्न गएका बेला फुटबलर बनेका श्याम थापाका भोगाइ उनलाई चिन्ने मात्रै नभई नेपाल–भारत फुटबल बुझ्नेका लागि चाखलाग्दा छन्
भारतीय फुटबल भन्नु नै कि त इस्ट बंगाल थियो, होइन भने मोहन बगान, दुवै एक–अर्काका प्रतिद्वन्द्वी मात्र थिएनन्, शत्रु जस्तै थिए
हिमेश

काठमाडौँ — भाषा नेपाली नै । त्यसमा अलिकति हिन्दी । अनि अलिकति बंगाली पनि मिसिएको । जति–जति बेला श्याम थापा यो विशिष्ट शैलीमा बोल्न थाल्छन्, सुन्दा त्यसको मिठास नै बेग्लै हुने गर्छ । दक्षिण एसियाकै फुटबलका सर्वाधिक ठूला स्टार ।

नेपाली मूलका फुटबल खेलाडीमध्ये निर्विवाद सबैभन्दा ठूलो नाम । त्यसो भनेको तिनै श्याम थापा । साता दिनका लागि उनी अहिले काठमाडौंमा छन् । भ्याइनभ्याइको स्थिति छ उनलाई ।

नहोस् पनि किन र ? उनी जत्तिको फुटबल व्यक्तित्वलाई भेट्न पाउनु नै ठूलो । त्यसमाथि अलि सरल र भलाद्मी मान्छे । लगभग १५ वर्षपछि उनी आइतबार औपचारिक रूपमा नेपाली मिडियासामु आए । सन् २००७ मा उनले अन्तिम पटक यसरी नै आधिकारिक कार्यक्रममा बोलेका थिए, प्रशिक्षकका रूपमा । अवसर थियो, सन् २००७ को विश्वकप छनोटको दोस्रो लेगको खेल । ओमानविरुद्धको खेलपछि उनले दशरथ रंगशालामा आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा आफ्नो मुख खोलेका थिए ।

त्यति बेला एउटा प्रश्नलाई लिएर उनी साह्रै रिसाएका थिए । प्रश्न थियो, ‘के ओमानविरुद्धको खेल नतिजामा मिलेमतोमा तय गरिएको हो ?’ प्रश्न भुइँमा पनि झर्न पाएको थिएन, त्यति धेरै भलाद्मी मान्छेको अनुहारमा पनि चर्को न चर्को आक्रोश देखिएको थियो । ‘मेरो त कञ्चट नै तातेको थियो,’ अहिले पनि सम्झेर उनी रिसाउने गर्छन् । भन्छन्, ‘खेलाडीले कति धेरै मिहिनेत गरेका थिए, कति दुःखले खेलेका थिए, तर प्रश्न खेल मिलेर खेलेको भन्नेमा थियो ।’

त्यो त्यस्तै दिन थियो, डेढ दशकपछि आइतबारको साइत जुरेको थियो । खेलाडी डटकमले आयोजना गरेको कार्यक्रममा थापाले लगभग दुई घण्टा धारा प्रवाह बोले । अलिकति बिर्सने बानी भइसकेका रहेछन् । हुन पनि उनी ७५ वर्षको छेउछाउ छन् । ‘अलिकति बुढो भएँ कि ?’ उनी बारम्बार ठट्यौली पारामा भन्ने गर्छन् । तर त्यति धेरै समय बोल्दा पनि उनलाई न त अल्छी लाग्यो, न त थाकेकै महसुस गरे । बरु मज्जा लिए, अनेक कथा सुनाए ।

तीन हजारको सुरुआती तलब

सन् १९६४ मा उनले पहिलोपल्ट सुब्रतो मुखर्जी कप खेले । त्यति बेला भर्खर १६ वर्षका थिए । त्यतिबेला नै उनी फुटबललाई सिरानी बनाएर सुत्थे, बाटो हिँड्दा पनि बल खेलाइ खेलाइ अगाडि बढ्थे । सुब्रतो कपमा उनको प्रदर्शन गज्जब रह्यो । इस्ट बंगालको आँखामा परिहाले । अनि १८ वर्षको उमेरमा इस्ट बंगालका लागि डेब्यु पनि गरे । डेब्यु आफैंमा गज्जब रह्यो, कोलकाता फुटबल लिगको राजस्थान फुटबल क्लबविरुद्धको खेलमा ह्याट्रिक गरे ।

त्यतिबेला उनलाई इस्ट बंगालले व्यावसायिक अनुबन्ध गरिसकेको थियो । उनको तलब थियो, वार्षिक तीन हजार भारतीय रुपैयाँ । त्यो बेला यो रकम निकै ठूलो थियो, विशेषतः १८ वर्षे ठिटोका लागि । त्यस अगाडि उनी परिवारबाट ‘पकेट’ खर्च भनेर महिनाको २५ रुपैयाँ जति पाउँथे । यो रकम उनले वास्तवमै के गरे, अहिले सम्झनामा छैन । उनले यसमध्ये केही रकम साथीहरूका लागि खर्चे, उपहार किन्नमा । त्यो तीन हजार सम्झेर अहिले पनि खुसीले दंग पर्ने गर्छन् ।

भागेर इस्ट बंगालबाट मोहन बगानमा उनको समयमा भारतीय फुटबल भन्नु नै कि त इस्ट बंगाल थियो, होइन भने मोहन बगान । अझ भनौं, यी दुई टिमबीचको प्रतिद्वन्द्वीता नै भारतीय फुटबल थियो । दुवै एक–अर्काका प्रतिद्वन्द्वी मात्र थिएनन्, शत्रु जस्तै थिए । सन् १९७७ मा उनी इस्ट बंगाल छाडेर मोहन बगान गए । भारतीय फुटबलमा यति धेरै विवादास्पद र सनसनीपूर्ण खेलाडी स्थानान्तर अरू बेग्लै होला । त्यति बेला दुवै क्लबले केही दादा पालेका हुन्थे, आफ्नो खेलाडी अन्यत्र जाला भनेर ।

थापाले यस्तै इस्ट बंगालका दादा छलेर मोहन बगानसम्म पुगेका थिए । यसका लागि उनले रक्सी खाएर मातेको अभिनयसमेत गर्नुपरेको थियो । मध्यरात पर्खाल चढेर उनले इस्ट बंगालको होटल छाडेका थिए । पर्खाल बाहिर उनलाई लिन मोहन बगानको गाडी पर्खिरहेको थियो । अनुबन्धपछि दसौं हजार मोहन बगान समर्थकले थापालाई स्वागत गरे । त्यस दिन इस्ट बंगालका त्यस्ता समर्थक पनि रहे, जसले थापा मोहन बगान गएका कारण भक्कानो छाडेर रुनबाट आफूलाई रोक्न सकेनन् ।

पेलेको टिमविरुद्ध गोल

थापाको जीवनको सबैभन्दा खुसीको दिन यो पनि रह्यो, सन् १९७७ को सेप्टेम्बर २४ । त्यस दिन कोलकाताको प्रसिद्ध इडेन गार्डेनमा मोहन बगान र अमेरिकाको कसमसबीच मैत्रीपूर्ण खेल भएको थियो । कसमसबाट खेल्न आएका थिए, ब्राजिली पेले । भनिन्छ, त्यति बेला पूरा कोलकाता फुटबलका लागि पागल जस्तै भएको थियो । एउटा टिकटको मूल्य १० हजारसम्म पुगेको थियो, कालोबजारमा । खेल भने २–२ को बराबरीमा छुटेको थियो ।

त्यसमा कसमसले दुईपल्ट अग्रता लियो र दुवै अवसरमा मोहन बगानले पुनरागमन गरेको थियो । मोहन बगानका लागि दोस्रो गोल थापाले गरेका थिए । खेलको भोलिपल्ट जताततै खालि थापाकै मात्र चर्चा थियो । नहोस् पनि किन र ? भएछ के भन्दा खेलपछि पेलेलाई भारतीय पत्रकारले सोधेका रहेछन्, मोहन बगान टिममा सबैभन्दा मन परेको खेलाडी को हो ? पेलेको उत्तर थियो, २२ नम्बरका खेलाडी । उनलाई खेलाडीको नाम थाहा थिएन, तर ती अरू कोही नभएर, थापा नै थिए ।

रातभरि एक्लै रोएको दिन

थापाको जीवनमा सधैं खुसी, प्रशंसा, चर्चा मात्र रहेन । दुःख र निराशाका दिन पनि रहे । सन् १९७० र १९७४ को एसियाली खेलकुदमा भारतका लागि प्रतिनिधित्व गर्दै फुटबल खेले । सन् १९७८ को एसियाली खेलकुदमा पनि उनकै कप्तानीमा फुटबल टिम पठाउने तय जस्तै थियो । तर जति बेला प्रतियोगिताका लागि टिम घोषणा भयो, थापाको नामै थिएन । त्यस रात उनी एक्लै रोइरहे, त्यो पनि पूरा रात । त्यो दिन जत्तिको दुःख उनलाई कहिले पनि लागेको थिएन ।

त्यसको भोलिपल्ट नै उनले अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिए । फेरि उनी आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा थिए । यस्तोमा चारैतर्फबाट दबाब सिर्जना भयो । पत्रपत्रिकाले उनी किन परेनन् भने चर्को आवाज उठाए । नतिजा उनलाई टिममा फिर्ता बोलाइयो । तर उनी गएनन् । थापा यसलाई आफ्नो जीवनकै एक ठूलो गल्ती मान्छन् । सायद केही हदसम्म दम्भ पनि थियो । उनी टिममा फर्केको भए, धेरैथोक हुन सक्थ्यो, जुन अहिले कल्पना गर्न सकिन्न ।

राम्रो खेल्नु, अवसर आउँछ

‘श्याम थापासँगको कुराकानीमा’ उनी मात्र थिएनन्, पत्रकार मात्र थिएनन् । उनका कुरा सुन्न, उनका केही खास–खास प्रिय नेपाली खेलाडी पनि थिए । तिनलाई देखेर उनी साह्रै खुसी भए । उनले केहीका त नाम पनि बिर्सेका थिए, तर जति बेला उनीहरूले आफ्नो परिचय दिए, थापाको खुसीको सीमा रहेन । पुराना कुरा सम्झेर भावुक पनि भए । अनि तिनलाई एउटा काम पनि सुम्पे, नेपाली फुटबलमा कोही राम्रा खेलाडी छन् भने भन्नु ।

थापाले भने, ‘भारतीय फुटबलमा म राम्रै पदमा छु, नेपाली फुटबलका लागि केही गर्न सक्छु । अझै पनि इस्ट बंगाल र मोहन बगानमा मैले केही भन्दा नाइँ भन्दैनन् । नेपालमा कसैले राम्रो खेलिरहेका छन् भने मलाई भन्नु । म तिनलाई कोलकातामा बोलाउनेछु र तिनलाई ट्रायलमा राख्नेछु । ट्रायल पनि एक दिनको हुने छैन, एक महिना हाराहारीको हुनेछ । त्यहाँ मज्जाले अभ्यास गर्नेछन्, प्रशिक्षण पाउनेछन् । नेपाली फुटबलका लागि कम्तीमा यति त म गर्न सक्छु ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×