कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

असुरक्षित बन्दै एटीएम 

जिल्ला प्रहरीको तथ्यांकअनुसार पछिल्लो ८ महिनामा विभिन्न बैंकका ८ वटा मेसिन फुटालिएका छन्
प्रतीक्षा काफ्ले

कास्की — सुरक्षा गार्ड नभएको मौका पारी पोखरा महानगरपालिका–१७ विरौटमा रहेको एनआईसी एसिया बैंकको एटीएम मेसिन फोरियो । सूचनाको आधारमा कास्की प्रहरीले मेसिन फोर्ने क्रममा २३ वर्षीय कृष्णबहादुर विक पक्राउ गर्‍यो । पर्वतको कुश्मा नगरपालिका–३ का विकलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतमा चोरी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरेको छ । 

असुरक्षित बन्दै एटीएम 

सेवाग्राहीलाई मध्यनजर गर्दै छिटोछरितो सेवा दिन राखिएका एटीएम मेसिन पछिल्लोसमय असुरक्षित बन्दै गएका छन् । प्रहरीको अनुसन्धानले पनि एटीएम मेसिन जोखिममा रहेको बताएको छ । कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बदला लिने भावले बढी एटीएम मेसिन फोर्ने गरिएको बताए ।

विक यसभन्दा अघि पनि माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । तिवारीका अनुसार चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा गएका विक पछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी छुटेको अभिलेखबाट देखिएको छ ।

यस्तै, साउन ३ मा पोखरा महानगर–२६ लेखनाथमा रहेको एनएमबी बैंकको एटीएम मेसिन पनि फोरिएको थियो । एटीएम मेसिनमा नगद राख्ने २ थान क्यासकेटबस्कसहित चोरी भएको सूचना प्राप्त गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । ‘कसले फोर्‍यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने । त्यस्तै पोखरा–१७ तालचोमा रहेको एनआईसी एसिया बैंकको पनि साउन ३ मा नै मेसिन फोरिएको थियो । तत्काल प्रहरी परिचालन गर्दासमेत अभियुक्त भेटिएनन् । प्रहरीले मोटरसाइकल मात्रै लिन सफल भयो ।

अधिकांश एटीएम मेसिन सुरक्षा गार्ड नभएको मौका पारी फोरिने गरेको प्रहरीले जनाएको छ । असार ३१ मा पोखरा–८ न्युरोडमा रहेको एनआईसी एसिया बैंकको मेसिन फुटालियो । प्रहरीले चोरीको आरोपमा पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गर्‍यो । असार ३२ मा जिल्ला अदालतमा चोरी उद्योगमा मुद्दा चलाएर ५ दिनको म्याद थप गरिएको प्रहरीले जनायो ।

वैशाख ४ र २९ मा पर्स्याङ र पृथ्वीचोकमा रहेका माछापुच्छ्रे बैंकका एटीएमबाट रकम झिक्ने उद्देश्यले मेसिन फुटाइएको थियो । प्रहरीले सोही समयमै दीपक श्रेष्ठ भन्ने बेलेलाई पक्राउ गर्‍यो । प्रहरीले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अहिले बेले लागूऔषध मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरीको तथ्यांक अनुसार पछिल्लो आठ महिनामा विभिन्न वैंकका ८ वटा एटीएम मेसिन फुटालिएका छन् । वैशाख ८ मा पोखरा–१७ मा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोरियो । प्रहरीले पोखरा–७ बस्ने ३३ वर्षीय कृष्णबहादुर विक, पोखरा–१४ बस्ने ४५ वर्षीय ध्वज अप्तरे मगरलाई पक्राउ गरेको थियो ।

प्रहरीले दुवै जनालाई चोरी उद्योगमा मुद्दा चलाएको थियो । ‘माछापुच्छ्रे बैंकका एटीएम बढी फोरिएका छन्,’ डीएसपी तिवारी भन्छन्, ‘सबै मेसिन रातको समय सुरक्षा गार्ड नभएको मौका पारेर मात्र फोरिएका छन् ।’ गरिबीले भन्दा पनि बदला लिने र आर्थिक लाभ हुने हिसाबले मेसिन फोर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए । पोखरा महानगरको कार्यालयअघि रहेको एनआईसी एसिया बैंको एटीएम मेसिन पनि गत पुस ३० मा गार्ड नभएको मौका पारी फुटालिएको थियो ।

प्रकाशित : श्रावण २६, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×