कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकिङ कसूरकी आरोपित पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — बैंकिङ कसूर मुद्दाको आरोपमा कास्की प्रहरीले २७ वर्षीया दीक्षा पुनलाई पक्राउ गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२ मिरुवा बस्दै आएकी दीक्षालाई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीस्थित निगालोको घारीबाट शनिबार पक्राउ गरेको हो ।

घारीभित्र लुकेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

‘दीक्षा पुनउपर बैकिङ कसूर मुद्दा दर्ता गरी पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा झाडीमा भेटायौ,’ तिवारीले भने, ‘आइतबार उच्च अदालत पोखरामा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेका छौं ।’

पुनले पोखरा फाइनान्स लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा कुलबहादुर विकलाई गत वैशाख २६ मा ३ लाख रुपैयाँको चेक दिएकी थिइन् । खातामा रकम नभएको कारण उक्त चेक फाइनान्सबाट बाउन्स भएको डीएसपी तिवारीले बताए । उनका अनुसार कुलबहादुरले प्रहरीमा जाहेरी दिएका थिए ।

दीक्षाले विभिन्न व्यक्तिलाई यूके पठाइदिने भन्दै रकम ठगी गरेको सूचना सामाजिक सञ्जालमा सम्प्रेषण भएको हुँदा यस विषयमा पनि अनुसन्धान भइरहेको बताउँदै डीएसपी तिवारीले भने, ‘अन्य पीडित व्यक्तिहरु र प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।’

प्रकाशित : श्रावण २२, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?