गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजनिक हुनुपर्छ : बिजुक्छे- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजनिक हुनुपर्छ : बिजुक्छे

प्रतीक्षा काफ्ले

कास्की — नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले दलहरूले गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारसँग भेटको क्रममा यस्तो बताएका हुन् । उनले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गर्दै घोषणपत्र सार्वजनिक गरेपछि मात्र जनताले मताधिकारको सदुपयोग गर्न पाउने बताए ।

‘घोषणपत्रमा के छ जनता स्वयं पढ्छन्,’ उनले भने, ‘जनतालाई लक्षित कार्यक्रम ल्याइएको रहेछ भने सोही अनुसार मतदान गर्छन् । उनीहरूको मत नेताको लागि निर्देशन हो ।’

उनले नेपालको परिवेशमा घोषणपत्र एउटा र काम अर्को हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ‘नेताले भोटका लागि घोषणपत्रमा राम्रा कार्यक्रम राख्छन् । सरकारमा गएपछि जनतालाई गरेका बाचा पूरा गर्दैनन् । यसकारण पनि घोषणपत्र पहिल्यै सार्वजनिक हुनुपर्छ । पछि जनताले किन यो काम भएन भनेर प्रश्न गर्न सकुन् ।’

घोषणपत्रकै आधारमा चुनाव लड्नुपर्ने उनको तर्क थियो । घोषणपत्रमा भ्रष्टाचारको विषय नलेख्ने तर, नेताले बढी भ्रष्टाचार गर्ने भन्दै उनले सुशासनका नारा झुटा हुन थालेको बताए ।

उनले सत्ता संचालनको विषय दिल्लीमा नभई जनताको माझमा छलफल गर्नुपर्ने विषय भएको पनि बताएका थिए । यस्तै नेता बिजुक्छेले एमसीसीको विषयमा पनि विरोध गरेका छन् ।

अमेरिकाले तेस्रो विश्वयुद्ध चाहेको भन्दै नेपाललाई युक्रेन र श्रीलंका बनाउन खोजेको उनको आरोप छ । अमेरिकाले कुनै पनि देशको आर्थिक, राजनीतिक दृष्टिकोणबाट अघि बढाउन नचाहेको पनि बताए ।

प्रकाशित : श्रावण २०, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

बिहारका जलसंसाधन मन्त्रीले भने : कोसीको पश्चिमी तटबन्धलाई मजबुत बनाउँछौँ

अवधेशकुमार झा

राजविराज — भारतको बिहार राज्यका जल संसाधनमन्त्री सञ्जयकुमार झाले कोसीको पश्चिमी तटबन्ध मजबुत बनाउने प्रतिबद्धता गरेका छन् । बिहीबार सुनसरीस्थित कोसीको तटबन्ध र संरचनाहरुको अवलोकनका लागि आएका मन्त्री झाले फर्किने क्रममा सप्तरीको हनुमाननगर हुँदै पश्चिमी तटबन्धको समेत अवलोकन गरेका थिए ।

बिहारका जल संसाधनमन्त्री सञ्जयकुमार झालाई स्वागत गर्दे हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझी । 

मन्त्री झा हनुमानननगर पुग्दा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रकुमार माझीले स्वागत गर्दे कोसीको पश्चिमी तटबन्धका संरचना कमजोर हुँदा जोखिम बढेको जानकारी गराएका थिए ।

‘भारदहस्थित कंकालिनी मन्दिरको दक्षिणदेखि नेपाल भारत सिमानाका रम्पुरा मल्हनिया डलवासम्म पश्चिमी तटबन्ध कमजोर छ, यसको मर्मत र केही स्थानमा पुनर्निर्माण नै आवश्यक रहेको कुरा मैले मन्त्रीसमक्ष राखे,’ नगरप्रमुख माझीले भने,‘जवाफमा मन्त्री झाले बिहार सरकार कोसीको पश्चिमी तटबन्धसहितका संरचनाहरुको मजबुतीकरण गर्ने तर्फ सकारात्मक रहेको बताए ।’

मन्त्री झाले १५ अगस्तमा बिहारको राजधानी पटना आउनसमेत नगरप्रमुख माझीलाई भने । पटनामा आएर कोसीको संरचना र समस्याबारे कुरा गर्न १५ अगस्तमा आउन मन्त्रीले आग्रह गरेको नगरप्रमुख माझीले बताए ।

केसी ब्यारेजदेखि नेपाल भारत सिमानाका डलवासम्म कोसीको पश्चिमी तटबन्ध र अन्य संरचना कमजोर रहेका कारण बाढीको दबाब अत्यधिक हुँदै आएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×