तनहुँको बेरुजु ३२ करोड ४० लाख


तनहुँ — जिल्लाका स्थानीय तहको आर्थिक वर्ष ०७७/७८ को बेरुजु ३२ करोड ४० लाख ९४ हजार रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । ४ नगरपालिका र ६ गाउँपालिकामा १२ अर्ब ७६ करोड २२ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गरिएको महालेखा परीक्षक वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षभन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ ।


आव २०७६/७७ मा जिल्लाका स्थानीय तहको बेरुजु ३४ करोड ४९ लाख रहेको थियो । उक्त आवमा १२ अर्ब ३० करोड ३३ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी बेरुजु व्यास नगरपालिकामा देखिएको छ भने कम म्याग्दे गाउँपालिकामा देखिएको छ । व्यासमा ११ करोड ७२ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै, म्याग्देमा ४५ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
स्थानीय तहमा आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयस्रोतको पर्याप्त आधार बीना राजस्व छुट दिएको, राजस्व बक्यौता असुली लक्ष्यअनुसार नभएको, बजेट अबण्डा राखेको, अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम बेरुजु रहेको महालेखाले जनाएको छ ।
