कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्षले एकलौटी गरेको भन्दै गाउँसभा बहिष्कार

हरिराम उप्रेती

गोरखा — भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले एकलौटी गरेको आरोप लगाउँदै उपाध्यक्षसहित २० जना सदस्यले गाउँसभा बहिष्कार गरेको बताएका छन् ।

गाउँपालिका अध्यक्षले योजना निर्माणमा हस्तक्षेप गरी उपाध्यक्षलाई भूमिकाविहीन बनाएको भन्दै गाउँसभा बहिष्कार गर्ने गाउँसभा सदस्यहरूले बताएका छन् । अध्यक्षले बहुमतको दम्भमा योजना कार्यपालिकामा पेस गरेको गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले आरोप लगाइन् ।

न्यायिक समिति गठनमा पनि उपाध्यक्षको परामर्शबिना सदस्यहरू प्रस्ताव गरेको उनले बताइन् । कार्यपालिका बैठकमा सर्वसम्मतिको प्रयास नगरी एकलौटी गाउँसभा संचालन गरेपछि बिहीबारको गाउँसभा बहिष्कार गरेको उपाध्यक्ष वस्तीको भनाइ छ । ‘वडाबाट आएका नीतिगत योजनालाई पनि सम्बोधन गरिएको छैन, अनुत्पादक क्षेत्रमा योजना बाँडफाँट गर्ने काम भयो,’ उनले भनिन्,‘कुनै पनि छलफलबिना नियतवस अतिआवश्यक कर्मचारीको करार अवधि थपिएन ।’

बुधबारको कार्यपालिका बैठकमै असहमति जनाए पनि पुन: कार्यपालिका बैठकमा आफ्ना माग सम्बोधन ननगरिकन गाउँसभाको आयोजना गरेपछि बहिष्कार गरेको उपाध्यक्ष वस्तीले बताइन् । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम कार्यपालिका बैठकको निर्णय सर्वसम्मति हुनुपर्ने भए पनि प्रयास नगरी आफूखुसी गाउँसभा संचालन गरेको असन्तुष्टहरूले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष बञ्जाराले भने आफूमाथिको आरोप गलत भएको दाबी गरेका छन् । असार १० गते स्थगित भएको गाउँसभा बिहीबार आयोजना भएको थियो । ‘कानुनमा के लेखेको छ, भूमिकाविहीनको विषय स्पष्ट छलफल बहस गरे भइहाल्छ, केही भएजस्तो लाग्दैन,’ गाउँपालिका अध्यक्ष बञ्जराले भने, ‘हामीले नीति बनाएका छौँ, भएको बजेट कार्यन्वयन गर्ने नत्र खोज्ने हो, विवाद गर्न हुँदैनथ्यो ।’

प्रकाशित : असार ३१, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?