२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

अशक्तलाई घरमै स्वास्थ्य सेवा

हरिराम उप्रेती

गोरखा — भीमसेन थापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक महिना पालिकाका ८ वटै वडाका घर र टोल पुगेर अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच हुनेछ ।

भीमसेन थापा–३ स्थित मानव सेवा आश्रमका वृद्धवृद्धाको स्वास्थ्य जाँच गरी गत बिहीबारबाट कार्यक्रम थालिएको हो । पछिल्ला ६ दिनमा स्वास्थ्यकर्मी प्रत्येक वडाका अधिकांश टोलमा पुगिसकेका र कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले दाबी गरे । निःशुल्क औषधि वितरण तथा स्वास्थ्य बिमामा समेटिएकालाई समेत कार्यक्रममार्फत नै सेवा दिइने उनको भनाइ छ ।

‘अहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई पनि कार्यक्रममा समेटेका छौं,’ उनले भने । शारीरिक रूपमा अशक्त रहेका व्यक्तिका हकमा घरमै पुगेर सेवा प्रवाह गर्ने पालिकाले जनाएको छ । ‘एउटा दर्ता किताब बनाएका छौं, कार्ड पनि वितरण हुन्छ । प्रत्येक महिना त्यही कार्डको आधारमा स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने काम हुन्छ,’ उनले भने, स्वास्थ्यमा के समस्या छ बुझ्छौं, हामीले सक्ने उपचार टोल र घरमै पुगेर दिन्छौं ।’ गम्भीर रोग र जटिल प्रकृतिको उपचारका लागि विशेषज्ञसम्म पुग्न परामर्श गरी सहजीकरण पनि गरिने उनले बताए ।

उनका अनुसार अब प्रत्येक महिना मिति तोकेरै टोलटोलमा स्वास्थ्यकर्मी खटाइनेछ । प्रत्येक महिना एकै दिन टोलमा पुग्दा सेवाग्राहीलाई पनि सम्झन सजिलो हुने पालिकाको विश्वास छ । स्वास्थ्य जाँचका लागि वडास्तरमा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पहिलो महिना मुटु, फोक्सो, थाइरोइडलगायत स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिक तथा अशक्तको पहिचान गरिने उनले बताए । ‘कस्ता स्वास्थ्य समस्या भएका कति छन् भनेर स्वास्थ्यकर्मीले थाहा पाइसकेपछि फलोअप गर्न पनि सहज बन्छ,’ उनले भने ।

हाल पालिकामा उपलब्ध जनशक्ति नै परिचालन गरी कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । ‘विशेषज्ञ सेवा पनि कसरी उपलब्ध गराउन सकिन्छ भन्नेमा छलफलमा छौं,’ उनले भने ।

प्रकाशित : असार २३, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?