कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली प्रमाणपत्र बनाएर पैसा असुल्ने दुई युवक पक्राउ

प्रकाश बराल

बागलुङ — सवारी लाइसेन्स निकाल्नका लागि नक्कली निरोगिताको प्रमाणपत्र बनाएर पैसा असुल गर्दै आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै बसेर नक्कली चिकित्सक बनेका शंकर पोलिक्लिनिक चलाउने धादिङका २१ वर्षीय राम अर्याल र नवलपुरका २१ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले यातायात कार्यालय अगाडि बसेर सवारी लाइसेन्स बनाउनेलाई नक्कली निरोगिता प्रमाणपत्र दिने गरेका थिए । पटकपटक उनीहरूले नक्कली कागजात बनाएको उजुरीपछि प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले स्वास्थ्य परीक्षणसमेत नगरी नक्कली कागजात बनाउने गरेको खुलेको छ ।

उनीहरूले फरक फरक चिकित्सकको नाम दिएर कागजात बनाउने गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्द्रबहादुर रानाका अनुसार पोलिक्लिनिकबाट विवरण नभरेका छाप, दस्तखत नमूना र अन्य लेटरप्याड तथा रसिदसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई म्याद थप गरेर थप अनुसन्धान थाल्ने प्रहरीको भनाइ छ । कानुन बमोजिम उनीहरूलाई अदालतमा मुद्दा दायरसमेत गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २२, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?