कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुहानमै भेटियो हैजाको जीवाणु

पर्वतका ७ वटै पालिकामा वितरित खानेपानी आयोजनाको मुहानमा उच्च मात्रामा ‘कोलिफर्म’ पुष्टि
अगन्धर तिवारी

पर्वत — जिल्लावासीले पिउने पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ फेला परेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य कार्यालयको टोलीले जिल्लाका ७ वटै स्थानीय तहमा खानेपानी वितरण हुँदै आएका आयोजनाको मुहानको पानीमा गरेको परीक्षणका क्रममा कोलिफर्म भेटिएको हो । परीक्षणमा सहभागी ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा फेला परेको छ ।

मुहानमै भेटियो हैजाको जीवाणु

जिल्लाका अधिकांश स्थानमा मूलकै पानीलाई खानेपानीको रूपमा वितरण गरिँदै आइएको छ । परीक्षणका क्रममा मूलकै पानीमा यस्तो जीवाणु भेटिएको कार्यालयले जनाएको छ । उक्त नतिजाले जिल्लावासीले दूषित पानी खाइरहेको, यसले मानवस्वास्थ्यमा गम्भीर असर परिरहेको र यसबाट हैजालगायत रोग फैलिई महामारीकै ज्ञप लिन सक्ने भन्दै जनस्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

कुश्मा नगरपालिकाभित्रका ३१ स्थानका पानीको स्रोतमा गरिएको परीक्षणमा ८० प्रतिशत स्रोतमा कोलिफर्म फेला परेको हो । फलेवास नगरपालिकाका १४ वटा स्रोतमा परीक्षण गरिएकामा ७८ प्रतिशत स्रोत, मोदी गाउँपालिकाका १५ स्थानमा परीक्षण गर्दा ६६ प्रतिशत स्रोतमा कोलिफर्म फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा ६१ प्रतिशतमा, पैयुँ गाउँपालिकाका १४ मुहानमध्ये ५७ प्रतिशतमा र बिहादी गाउँपालिकाका १२ मुहानमध्ये ७५ प्रतिशत मुहानको पानी दूषित पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

कोलिफर्मयुक्त पानी पिउँदा झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको संक्रमण हुने खतरा बढेको उनले बताए । ‘पानीमा यस्तो जीवाणु देखिनु भनेको मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर हुनु भन्ने बुझिन्छ,’ उनले भने, ‘वर्षात्को समयमा भेलबाढी आउने, त्यही बाढी मूलमा पनि पस्ने भएकोले हिउँदको समयमा भन्दा बर्खायामको समयमा कोलिफर्म बढी भेटिन्छ ।’ वर्षाका कारण जमिनको बाहिरी सतहबाट बगेर आएको पानीबाट मूलहरू धमिलिन्छ । वर्षायाममा पानीसँगै एक ठाउँको फोहोर बगेर अर्को ठाउँमा जाने हुनाले पनि पानीका स्रोत दूषित बन्ने उनको भनाइ छ । ‘काठमाडौंमा फैलिएको हैजा पनि यसकै उपज हो,’ डा. मानव तिवारी भन्छन्, ‘कोलिफर्मयुक्त पानी शुद्धीकरण नगरी पिउँदा झाडापखाला र हैजा लाग्छ ।’

एक महिना लगाएर गरिएको पानी परीक्षणको नतिजा एक साताअघि सार्वजनिक गरिएको हो । पानीजन्य महामारी फैलिनबाट जोगिन उपभोक्ताहरूले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । वर्षायाममा धेरै कारणले पानीका स्रोत दूषित हुने गर्छन् । जमिनमा भएको फोहोर बाढीले बगाउँदै पिउने पानीका स्रोतमा मिसाउँदा धेरै प्रकारको संक्रमण फैलिने जोखिम रहने ल्याब टेक्निसियन सापकोटाले बताइन् ।

केही समयअघि कुश्मा–७ खरेहा र फलेवास–४ मुडिकुवामा एकैदिन २५–३० जनामा झाडापखाला लागेपछि स्वास्थ्यकर्मीले पानीको गुणस्तर परिक्षण गरेका हुन् । पानीमा कोलिफर्म फेला परेपछि जिल्लाभर खानेपानी शुद्धीकरणमा स्थानीय तहलाई गम्भीर कदम चाल्न स्वास्थ्य कार्यालयले सुझाव दिएको छ । ‘ठुल्ठूला विकासका पुर्वाधारको कुरा छोडेर स्थानीय तहहरूले पिउनेपानी वितरण हुनुपूर्व शुद्धीकरणमा ध्यान दिनैपर्छ,’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले भने, ‘एउटा मेसिन ल्याउन ५० लाख खर्च हुन्छ, त्यसले २ हजार परिवारलाई पुग्ने पानी शुद्धीकरण गर्छ । पालिकालाई यो ठूलो कुरा होइन ।’

प्रकाशित : असार २१, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?