कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकामाथि आफन्त र छिमेकीबाटै यौनजन्य हिंसा

हरिराम उप्रेती

गोरखा — गत माघ २५ मा ११ वर्षीय बालिकालाई फकाइफुल्याइ जबर्जस्ती करणी गरेको आरोपमा धार्चे गाउँपालिका–५ माछाखोलाबाट २६ वर्षीय रितेश क्षत्री पक्राउ परे । मानसिक अपांगता भएकी बालिकालाई मिठाई र सय रुपैयाँ दिई फकाएर करणी गरेको उजुरी उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । क्षत्री हाल गोरखा कारागारमा थुनामा छन् ।

बालिकामाथि आफन्त र छिमेकीबाटै यौनजन्य हिंसा

जिल्ला प्रहरी कार्यालय गोरखामा विगत ६ महिनामा करणी, करणी उद्योग र बालयौन दुर्व्यवहारका १३ वटा घटना दर्ता भएका छन् । १३ मध्ये सबैभन्दा बढी बालिकासँग सम्बन्धित ९ वटा छन् । धेरैजसो घटनामा बालिका आफन्त र चिनजानका व्यक्तिबाटै यौनजन्य हिंसामा पर्ने गरेको देखिएको छ । यस्तै घटना गत फागुन २९ मा पनि घट्यो । १३ वर्षीय बालिका २९ वर्षीय मामाबाटै बलात्कृत भएकी हुन् । धाकधम्की र फकाइफुल्याइ गरी पटकपटक बलात्कृत हुँदै आएकी पीडितले अन्ततः न्यायका लागि प्रहरीको सहारा लिएकी हुन् ।

त्यस्तै, गत चैत ५ मा २८ वर्षीय महिलामाथि ६५ वर्षीय वृद्धले बलात्कारको प्रयास गरेको घटना प्रहरीमा दर्ता भएको छ । उनीहरू नाताले ससुरा बुहारी हुन् । जबर्जस्ती करणी उद्योगमा आरोपित वृद्ध चैत २९ को अदालतको आदेशले पुर्पक्षका लागि कारागारमा छन् ।

प्रहरीमा दर्ता भएका यी प्रतिनिधि घटनाले बालिका र महिला घरभित्रै असुरक्षित रहेको देखाउँछ । अपांगता भएका महिला र बालिका पनि यौनजन्य हिंसाको सिकार भएका छन् । गत पुस २० मा राम्रोसँग बोल्न नसक्ने ४० वर्षीया महिला बलात्कृत भइन् । अर्को घटनामा अपांगता भएकी भतिजी बलात्कृत भएको भन्दै उनका काकाले प्रहरीमा उजुरी दर्ता गराए । अपांगता भएकाहरू एक्लै भएको मौका छोपेर यस्ता घटना हुने गरेको प्रहरी बताउँछ ।

९ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा वैशाख २२ मा ६४ वर्षीय वृद्ध पक्राउ परे । आरोपित ६० हजार बुझाएर धरौटीमा छुटिसकेका छन् । वैशाख २६ मा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भीमसेन थापा गाउँपालिका–३ का ४९ वर्षीय गोपाल विकलाई पनि प्रहरीले पक्राउ गरेको थियो । यी प्रतिनिधिमूलक घटनाले वृद्ध र जान्ने बुझ्नेबाटै बालिका तथा महिलामाथि यौनदुर्व्यवहार हुने गरेको देखाउँछ ।

बालिकालाई विवाहको प्रलोभन देखाएर करणी गरेको आरोपमा पनि प्रहरीमा उजुरी दर्ता भएको छ । त्यस्तै अभियोगमा माघ २५ मा पक्राउ परेका युवा अहिले पुर्पक्षका लागि कारागारमा छन् । गोरखा प्रहरीमा दर्ता हुने यौनजन्य दुर्व्यवहारका अधिकांश घटना आफन्त, नजिकका नातेदार र छिमेकीबाट हुने गरेको पाइएको प्रहरी प्रमुख एसपी केदार खनाल बताउँछन् ।

‘घटना भयो भनेपछि प्रहरीकोमा अभिभावकले उजुरी दिए, यस्ता घटनाको उजुरीलाई हामीले प्राथमिकतामा कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उनले भने । पछिल्ला समय यौनजन्य दुर्व्यवहारसम्बन्धी घटनाको उजुरी दर्ता हुने क्रम पनि बढेको उनले बताए ।

प्रकाशित : असार २१, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?