एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

कान्तिपुर संवाददाता

कास्की — सरकारको आन्तरिक द्वन्द्वका कारण १५ दिनसम्म बजेटमाथि छलफल नभएपछि नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै दलका नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

सरकारले असार १ मा आगामी आवको बजेट पेस गरेपछि छलफल चलाएको छैन । एमालेले मुख्यमन्त्रीसँगै अर्थमन्त्री रामजीप्रसाद बरालको पनि राजीनामा माग गरेको छ । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा सरकारकै दुई मन्त्री सहभागी भएनन्,’ उनले भने, ‘सरकारकै कार्यक्रममा सरकारकै मन्त्री सहभागी नभएपछि नैतिकताले पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने थियो । तर, सरकारले बजेट ल्यायो सत्तासीन दलहरूकै द्वन्द्वका कारण अहिलेसम्म संसद् बन्द छ । आपसी झगडाले संसद् बन्धक बनाउन मिल्दैन । छलफल नै चलाउन नसक्ने भए, विधि र शासनमा चल्न नसकेपछि राजीनामा दिनुपर्छ ।’

अर्थमन्त्रीले बजेट र कार्यक्रम काटेछ भन्दै मुख्यमन्त्री तर्कन नमिल्ने बताउँदै उनले भने, ‘छलफल चलाएपछि अर्थमन्त्रीले सांसदको प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेस गर्न सकिन्थ्यो तर, छलफल नै रोक्न मिल्दैन ।’ गुरुङको मुख्यमन्त्रीले राजीनामा दिए पनि सरकार मिलेर चलाउन सकिने बाटो खुला रहेको समेत तर्क थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आवश्यक रहेको बताउँदै समेटिनुपर्ने एमालेको माग छ । विगतका वर्षमा पनि आवश्यक ठानेर नै राखेको र आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने एमालेले बताएको छ । अर्थ विविध शीर्षकबाट यस कार्यक्रमलाई निरन्तरता दिन अर्थमन्त्रीलाई एमालेले सुझाएको छ । संसद्लाई सरकारले एकपक्षीय रूपमा कब्जा गरेको आरोप पनि एमालेको छ ।

प्रकाशित : असार १६, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

सेनाको प्राथमिकता ‘शान्ति मिसन’

विश्व शान्तिका लागि सैनिक पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका अनुसार शान्ति स्थापनाका लागि बुधबारसम्म विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक खटिएका छन् ।
जगदीश्वर पाण्डे

काठमाडौं — लेबनान र सिरियामा शान्ति स्थापनाका लागि नेपाली सैनिकहरूले खेलेको भूमिकाबारे जानकारी लिएका प्रधानसेनापति प्रभुराम शर्मा त्यतैबाट अमेरिकाको औपचारिक भ्रमणमा निस्किएका छन् । शर्माको अमेरिका भ्रमणको मुख्य उद्देश्य नेपाली र अमेरिकी सेनाबीचको सम्बन्धलाई सुमधुर बनाउने हो ।

सँगसँगै उनले संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यालयमा नेपाली सेनाको शान्ति मिसनका बारेमा छलफल गर्नेछन् । असार ४ देखि १२ सम्म लेबनान र सिरियामा शान्ति सैनिकका काम र त्यहाँ सरकारका पदाधिकारीसँग भेटवार्ता गरेका उनले यूएनको मुख्यालयमा शान्ति मिसन र अन्य सम्बन्धका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका अनुसार बुधबारसम्म विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक शान्ति स्थापनाका लागि खटिएका छन् । नेपाल सन् १९५५ मा यूएनको सदस्य भएको थियो । त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मेलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएर नेपाली सेनाले विश्व सुरक्षाका लागि कदम अघि बढाएको हो । हालसम्म नेपाली सेनाले विभिन्न मुलुकका ४४ भन्दा बढी मिसनमा १ लाख ४० हजार ३ सय ५४ शान्ति सैनिक पठाइसकेको छ ।

शान्ति मिसनमा खटिने क्रममा नेपालका ७० सैनिकले ज्यान गुमाएका छन् भने ६७ जना घाइते भएका छन् । नेपालले सैनिकका साथै इन्जियिनर, मेडिकल टिम र स्पेसल फोर्ससमेत मिसनमा पठाइरहेको छ । सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकमा नेपाली सैनिकले शान्ति स्थापनाका लागि काम गरेका छन् । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा चार वर्षअघि नेपालले करिब १० हजार शान्ति सैनिक एक वर्षमा पठाउने प्रस्ताव गरेको थियो । कुल सैनिक संख्याको १० प्रतिशत शान्ति मिसनमा जान पाउने निर्णय सरकारले गरेको छ । नेपाली सेनामा हाल करिब ९६ हजारको दरबन्दी छ ।


यूएन मिसनमा हालसम्म नेपाली सैनिकले उच्च तहमा ‘फोर्स कमान्डर’ को जिम्मेवारी सम्हालिसकेका छन् । रथी ईश्वर हमाल अहिले ‘फोर्स कमान्डर’ छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्वरथी बालानन्द शर्मा तथा अन्य जर्नेलहरू कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा र पवनजंग थापाले पनि नेपालको तर्फबाट फोर्स कमान्डरको जिम्मेवारी सम्हालिसकेका छन् । सेनाका अनुसार दुई उपरथीले ‘फोर्स कमान्डर’ का लागि निवेदन दिएका छन् ।

सेनाले सञ्चालन गर्दै आइरहेको सैनिक कल्याणकारी कोष विश्व शान्तिमा योगदान गरेरै आएको पैसाबाट ०३२ सालमा स्थापित संस्था हो । कोषमा अहिले ६० अर्बभन्दा बढी पैसा छ । विश्व शान्तिका लागि योगदान हुने र सैनिकलाई आयआर्जनका लागि लाभ हुने कारणले गर्दा प्रधानसेनापति शर्माले पनि आफ्नो भ्रमणका क्रममा शान्ति मिसनलाई प्राथमिकता दिएका छन् । ‘मिसनहरूमा प्रधानसेनापति शर्माले गर्नुभएको भ्रमणले प्रमुखता पाएको छ, संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा नेपाल र नेपाली सेनाको निरन्तरता, दिगो र प्रभावकारी सहभागिताका लागि महत्त्वपूर्ण छ,’ सैनिक प्रवक्ता नारायण सिलवालले भने ।

शर्माको टोलीमा न्युयोर्कस्थित यूएनका लागि नेपालका नियोग प्रमुख अमृतकुमार राई, रक्षासचिव किरण शर्मालगायत थिए । भ्रमणमा उपस्थित एक सैनिक अधिकारीका अनुसार शर्माको प्रतिनिधिमण्डलले प्रत्येक मिसनका नेतृत्वसँग अन्तक्र्रिया गरी शान्ति सेनाको कार्यसम्पादनबारे जानकारी लिएको थियो । सेनाका अनुसार भ्रमणले नेपाल र शान्ति मिसन खटिएका राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरेको छ ।

पूर्वउपरथी पूर्ण सिलवालले बंगलादेशपछि नेपाल दोस्रो ठूलो शान्ति सैनिक पठाउने मुलुक भएकाले पनि प्रधानसेनापति शर्माले आफ्नो भ्रमणमा प्राथमिकता दिएको बताए । ‘नेपाली सेनालाई यूएनमा पनि प्राथमिकतामा राख्छन् किनकि हामी धेरै शान्ति सैनिक पठाउनेमध्ये दोस्रोमा छौं,’ उनले भने, ‘हामीले यूएनको डिपान्र्टमेन्ट अफ पिसकिपिङ फोर्सअन्तर्गत रहेर काम गरिरहेका हुन्छौं । नेपालले लिबिया र इराकमा डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्सअन्तर्गत पनि काम गरिरहेको छ ।’

प्रकाशित : असार १६, २०७९ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×