कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाइभर्सन निर्माण गरेर गैंडाकोटमा बाटो खुुलाइयो

नारायण शर्मा

पूर्वी नवलपरासी — बाढीले बगाएको डाइभर्सन सडक निर्माणपछि महेन्द्रराजमार्गको गैंडाकोटमा केही घण्टादेखि बन्द रहेको यातायात पुन: सञ्चालनमा आएको छ । गैंडाकोटको जयश्री खोलादेखि पश्चिमतर्फको डाइभर्सन बगाएको र त्यहाँ एउटा मालवाहक गाडी पल्टिएका कारण बिहानदेखि सडक अवरुद्ध थियो ।

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम गरिरहेका सयौं गाडी गैंडाकोट र भेडाबारीमा रोकिएका थिए । यस क्षेत्रमा वर्षामा आएको बाढीले दिनहुँजसो यस्ता दर्जनौं डाइभर्सन बगाउने जोखिम हुन्छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको १ सय १४ किलोमिटर क्षेत्रमा दर्जनौं डाइभर्सन रहेका छन् ।

साथै सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

आगामी साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तरन्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि उसले १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

कछुवा गतिमा काम गरेका कारण राजमार्गमा खाल्डैखाल्डा छन् । कल्भर्ड र नयाँ बनाइएका पुल निर्माण स्थलका अस्थायी डाइभर्सनमा पानीले निकास नपाउँदा सडक नै बगाउने गरेको छ । यस्तै बाढीका कारण महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम यात्रा गर्नेहरू जोखिममा परेका छन् । दाउन्नेमा पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन । वर्षात नरोकिएसम्म दाउन्नेमा यातायात सुरु गर्न कठिन हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १५, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?