कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँझो जमिनमा सामूहिक कागती खेती

अगन्धर तिवारी

पर्वत — करिब दशकअघिदेखि बाँझो रहेको जमिनमा फलेवासका १२ परिवार मिलेर व्यावसायिक कागती खेती सुरु गरेका छन् । फलेवास–८ अर्चलेका योगेन्द्र रिजाल, देवीप्रसाद तिमिल्सिना, कमल रिजाल, रमेश रिजाललगायतले १२ हेक्टर क्षेत्रफलमा उन्नत जातको कागतीको व्यावसायिक खेती थालेका हुन् । 

बाँझो जमिनमा सामूहिक कागती खेती

योगेन्द्र ग्रामीण विकास विषयमा विद्यावारिधि उपाधि प्राप्त हुन् भने देवीप्रसाद करिब दुई दशकदेखि विभिन्न गैरसरकारी क्षेत्रमा कार्यरत ग्रामीण विकासविज्ञ हुन् । उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै माटो सुहाउँदो कागती खेती सुरु गरिएको बताएका छन् । सबै परिवारको अधिकांश जमिन बाँझो बसेको लामो समय भइसकेको थियो । कतिपय जमिन झाडी र बुट्यानले ढाकेको थियो । अहिले झाडी र बुट्यान हटाएर ५ हजार ४ सय कागती र १ हजार हाराहारी सुन्तलाका बिरुवा रोपिएको छ । बाँझो जमिनलाई पुनः पहिलेकै अवस्थामा फर्काई आयआर्जनको बाटोमा लागेको योगेन्द्रले बताए । आफ्नो अनुभव र सीप गाउँमै लगानी गर्ने उद्देश्यले अन्य २ जनालाई पनि साथमा लिएर खेती सुरु गरेको उनले बताए ।

बजारमा बसेर जागिरको खोजीमा हराउनुभन्दा ग्रामीण क्षेत्रमा पनि सम्भावना छ भनेर देखाउन चाहेको उनको भनाइ छ । ‘हाम्रो महत्त्वपूर्ण स्रोत भनेकै पुर्खाले जोडेको जमिन हो,’ उनले भने, ‘यस्तो खेतीयोग्य जमिन खेर फालेर अमूल्य सम्पत्ति नदेख्ने अनि सहरमा भौंतारिनेका लागि केही देखाऔं भनेर लागिपरेको हुँ । मलाई थाहा छ, यसबाट राम्रो प्रतिफल आउँछ ।’ उनीहरूले ‘अर्चले एग्रो इन्डस्ट्री प्रालि’ कम्पनी दर्ता गरी खेती सुरु गरेका हुन् । नगदे बाली लगाउने योजनामा साथ दिँदै धान, मकैलगायत तीन खेती हुने करिब एक हेक्टर जमिनसमेत किसानले यही खेतीका लागि कम्पनीलाई दिएका छन् । कम्पनीले सबै किसानको जग्गा सुरुमा २० वर्षका लागि भाडामा लिएर खेती थालेको हो ।

अर्का लगानीकर्ता देवीप्रसादका अनुसार कागती खेतीमा ५ वर्षमा डेढ करोडसम्म लगानी गर्ने योजना छ । हाल भइरहेको भारतलगायत विदेशी बजारबाट हुने कागतीको आयात प्रतिस्थापनमा सघाउ पुर्‍याउने आफूहरूको योजना रहेको छ । हावापानी र तापक्रमको परीक्षणपछि सुन कागती–१ जातको कागती लगाएको रमेशले बताए । यो जातको कागतीले रोपेको छोटो समयमै राम्रो र लामो समयसम्म उत्पादन दिने उनको भनाइ छ । आगामी ७ वर्षपछि वार्षिक २ सय टन कागती उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । आगामी ३ वर्षपछि लगानी फिर्ता हुन सुरु हुने उनीहरूको अपेक्षा छ । उत्पादित कागतीलाई काठमाडौं, पोखरालगायत ठूला सहरमा पठाउने गरी व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।

उनीहरूलाई कागतीको व्यावसायिक खेती गर्न सोडेक नेपाल नामक संस्थाले उत्प्रेरित गरेको हो । करिब डेढ दशकअघि गाउँ वरपरको गौचरनमा सोडेकले किसानलाई सुन्तला खेती गर्न प्रोत्साहन गरेको थियो । सुन्तला खेती विस्तार भएसँगै किसानले सिर्जनशील बहुउद्देश्यीय सहकारीमार्फत तरकारी र फलफूलको व्यावसायिक खेतीलाई पनि अघि बढाएका थिए ।

प्रकाशित : असार १३, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?