कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

३ पक्की हेलिप्याड बनाउन बजेट

कुश्मीसेरा, माथिल्लो दमेक र छिस्तीमा पक्की हेलिप्याड र अन्य सबै वडामा अस्थायी हेलिप्याड बनाउने नगरको योजना
प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ । सबै वडामा अस्थायी हेलिप्याड बनाउने र तत्काल ३ स्थानमा पक्की बनाइने नगर उपप्रमुख हरिहर शर्माले बताए । गर्भवती, सुत्केरी तथा अन्य दुर्घटनामा परेका बिरामीको उद्धारका लागि सहज होस् भनेर पालिकाको पहिलो नगरसभाले उक्त निर्णय गरेको हो ।

३ पक्की हेलिप्याड बनाउन बजेट

निर्णयअनुसार बजेटसमेत विनियोजन गरिएको शर्माले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा वडा–१ को कुश्मीसेरा, वडा–३ को माथिल्लो दमेक र वडा–८ को छिस्तीमा हेलिप्याड बन्नेछ ।

पालिका मुकाम कुश्मीसेरा बजारदेखि सबै वडामा कच्ची सडकले मात्रै छोएको छ । समयमा सवारीसाधन नपाइने र गाडी भेटिँदा पनि मुकाम पुग्नै तीन/चार घण्टा लाग्ने अवस्था भएकाले हेली उद्धारलाई प्राथमिकता दिएको शर्माले बताए । ‘एउटा पक्की हेलिप्याड बनाउन ५ लाखजति खर्च हुने रहेछ, सोहीअनुसार १५ लाख बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘अस्थायी हेलिप्याड भने श्रमदान र केही वडा तहको बजेट परिचालन गरेर बनाइनेछ ।’ नगर कार्यपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क हेली उद्धार र उपचारमा पठाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा चालु वर्षमा ३ र गत वर्ष ७ हेली उद्धार भएका थिए । ती सबै प्रसूति सेवाका बिरामी थिए । जैमिनी, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाबाट धेरै हेली उद्धार भएका छन् । निजी खर्च र व्यवस्थापनमा त्योभन्दा धेरै हेली उद्धार भएका छन् । निजी खर्चमा जाने पनि अधिकांश बडिगाड र जैमिनीका छन् । एकपटकको उद्धारमा २ लाख रुपैयाँसम्म शुल्क तिरेको बिरामीका परिवार बताउँछन् ।

ग्रामीण क्षेत्रमा हुने दुर्घटनामा पनि हेलिकोप्टरकै भर भएकाले हरेक वडामा हेलिप्याड बनाउने नीति लिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । यहाँ भौगोलिक कठिनाइ भएका वडा बढी छन् । ‘नीति तथा कार्यक्रममा हामीले हरेक वडामा हेलिप्याड बनाउने व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘अध्ययन गरेर चाहिने खर्च लगानी गर्न सकिने व्यवस्था बजेटमा व्यवस्था छ ।’

पालिकाको केन्द्रबाट सबै वडासम्म पुग्ने सडकलाई बाह्रै महिना चल्ने गरी स्तरीय बनाउन पनि बजेट विनियोजन गरिएको उनले बताइन् । ‘कतिपय स्थानबाट तत्काल गाडीमा स्वास्थ्य चौकी र अस्पताल लगे पनि हुन्छ, त्यसैले सडक पनि स्तरीय चाहियो,’ उनले भनिन्, ‘पक्की हेलिप्याडसमेत बनाउने योजना छ ।’ तोकेर बजेट नराखे पनि स्वास्थ्य क्षेत्रको पूर्वाधार र कार्यक्रमबाट हेलिप्याड बनाउने लक्ष्य रहेको उनले सुनाइन् ।

हाल सदरमुकामबाटै उद्धार गरिँदा धौलागिरि बहुमुखी क्याम्पसको चौर प्रयोग गरिन्छ । वर्षमा दर्जनौं पटक यही चौरमा हेलिकोप्टर बसेको छ । अन्यत्र कुनै पनि हेलिप्याड छैन । हेली प्याड नहुँदा मुस्ताङमा मौसम खराब भएर फर्केका हेलिकोप्टरसमेत धौलागिरि क्याम्पसमा राख्नुपरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । ‘बेलाबेला इमर्जेन्सी पर्छ, क्याम्पसमा विद्यार्थी हटाएर राख्नुपर्छ,’ ढकालले भने, ‘वडा तहमा हेलिप्याड बनाएमा अनुकूल परेको स्थानमा राख्न सकिन्थ्यो ।’ बलेवा विमानस्थल कालोपत्र भएकाले अबदेखि त्यता पनि पठाउन सकिने उनले बताए ।

प्रकाशित : असार १३, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?