कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्लड बैंक सञ्चालनको तयारी

गोरखा — स्थापना भएको दुई वर्षपछि जिल्लामा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनको तयारी थालिएको छ । जिल्ला रेडक्रसले २०७७ मा ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण ल्याएको थियो । शिक्षा विकास तथा समन्वय इकाइसँगैको भवनमा आवश्यक उपकरण जडान गरिएको छ । 

ब्लड बैंक सञ्चालनको तयारी

तर जनशक्ति अभावमा दाताले दिएको झन्डै ३ करोडको उपकरण त्यसै थन्किएको थियो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्ट्रेलियाको ग्याप र बेल्जियम रेडक्रसको सहयोगमा ब्लड बैंकका लागि आवश्यक उपकरण दिएका थिए । बेल्जियम र नेदरल्यान्ड रेडक्रसले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने ब्लड कनेक्सन मोनिटर, ट्युब सिलर, स्टेरेलाइज ओभन, इक्युभेटर, फ्रिज लगायतका सामाग्री सहयोग गरेको छ । दुई सातामा ब्लड बैंक सञ्चालनमा आउने रेडक्रस जिल्ला सभापति यदुविलास भट्टराईले बताए । ब्लड बैंक सञ्चालनका लागि दुई जनालाई तालिमसमेत दिएको उनले बताए । जिल्लामा दैनिक दुई पोका रगत खपत हुन्छ । गोरखा र आँपपीपल अस्पतालले दिनमा रगत आवश्यक परे ‘ब्लड ग्रुप’ पहिचान भएकालाई सोधीखोजी गरेर बोलाउने गरेका छन् । राति आवश्यक पर्ने रगतका लागि भने स्वास्थ्यकर्मीबाटै जुटाउने गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकाल बताउँछन् । ‘दिउँसोमा रगत चाहिए अरू खोज्छौं, रातिमा आकस्मिक पर्दा कसलाई खोज्ने,’ ढकालले भने, ‘हाजिर कापीमा प्रत्येकको ब्लड ग्रुप टिपेर राखेका छौं, जुन ग्रुपको ब्लड आवश्यक पर्छ, भित्रकै स्टापबाट म्यानेज गर्छौं ।’

२०६६ सालबाट अस्पतालले आकस्मिक रक्तसञ्चार सेवा सुरु गरेको थियो । सेवाका लागि अस्पतालले ‘ब्लड ग्रुप’ पहिचान गरी एक सय जनाको नाम र फोन नम्बर राखेको छ । यसरी ब्लड ग्रुप पहिचान भएका स्वंयसेवी रक्तदाताबाट संकलित रगतबाट अस्पतालले माग पूर्ति गर्दै आएको छ । ‘रगत चाहिए एकैखाले मान्छेलाई बोलाउने गरेका छौं,’ ढकाल भन्छन् । आँपपीपल अस्पतालको अवस्था पनि उस्तै छ । अस्पतालको कर्मचारी र केही स्थानीयको ब्लड ग्रुप पहिचान गरेर राखिएको पालुङटार नगरपालिकाका हेल्थ असिस्टेन्ट दीपेन्द्र गिरी बताउँछन् । ‘डाक्टरले रगत चाहियो भनेपछि बल्ल मान्छे खोज्न थाल्छौं,’ उनले भने, ‘कहिले तत्कालै भेटिन्छ, कहिले समस्या पर्छ ।’

स्थानीय तहलाई योजना संकलनको चटारो

प्रकाशित : असार ७, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?