३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विपद् व्यवस्थापनको तयारी सुस्त

‘घटना भइसकेपछि उद्धारमा धेरै खटिन्छौं तर पूर्वतयारी गर्न सकेका छैनौं’ 
प्रकाश बराल

बागलुङ — वर्षात्पछिको बाढी र पहिरोले धनजनको क्षति भइसक्दा पनि जिल्लामा विपद् प्रतिकार्य योजना भने अझै बनेको छैन । विपद्का लागि चाहिने उद्धार सामग्री र उपकरणको समेत अभाव छ ।

विपद् व्यवस्थापनको तयारी सुस्त

स्थानीय तहदेखि प्रशासन र सुरक्षा समितिमा पनि विपद्को तयारी प्रभावकारी नभएको टिप्पणी भएको छ । विपद्का लागि उपयोग भएका सामग्री पुराना भइसकेका छन् । नयाँ प्रविधिका उपकरण छैनन् ।

बाढीपहिरो, आगलागी, सडक दुर्घटनासहितका विपद्मा निस्कनुपर्ने विपद् व्यवस्थापन गुल्ममा समेत पर्याप्त उपकरण नभएको विपद् व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक रोशन थापाले बताए । ‘अहिले आधुनिक उपकरण आएका छन् तर हामीसँग पुराना सामग्री मात्रै छन्,’ थापाले भने, ‘पुराना उपकरण भए पनि आवश्यक पर्दा उद्धारमा काम गरिरहेका छौं ।’ बागलुङमा वर्षात्मा बाढी र पहिरोको जोखिम बढी रहने गर्छ ।

गत साताको वर्षात्ले गलकोट क्षेत्रमा करोडौंका संरचना र सडक बगिसकेको छ । अझै धेरै सडक जोखिममा छन् । रातारात नेपाली सेना र स्थानीयले गरेको उद्धारले मानवीय क्षति हुनबाट जोगियो । ‘वर्षात्मा धेरै क्षति हुन सक्छ तर विपद्बारे हाम्रो तयारी राम्रो छैन,’ बागलुङ रेडक्रसका उपाध्यक्ष राजेन्द्र आचार्यले भने, ‘घटना भइसकेपछि उद्धारमा धेरै खटिन्छौं तर पूर्वतयारी गर्न सकेका छैनौं ।’ पूर्वतयारी स्वरूप केही सचेतनाका काम भने भएको उनले बताए ।

सेना, सशस्त्र प्रहरी र प्रहरीले रेडक्रस तथा स्थानीय तहको सहकार्यमा भूकम्प, बाढीपहिरो र आगलागीका नमुना घटना अभ्यास भने गर्ने आचार्यले बताए । ‘घटना अभ्यासमार्फत नागरिक सचेतना गर्ने पहल भएका छन्, रेडक्रसले जुनियर र युवा रेडक्रस सर्कलमार्फत अन्तरक्रिया पनि गरेको छ,’ आचार्यले भने, ‘अत्याधुनिक उपकरणको भने अभाव छ ।’ जिल्लाभरिमै एउटा मात्रै एम्बुलेन्स हुनु, सडक नराम्रो, खोजी उद्धारका अन्य सामग्री पनि थोरै हुनाले कठिनाइ भएको उनले बताए ।

विपद् व्यवस्थापन गुल्ममा पनि बाढी आएमा लगाउने लाइफ ज्याकेट, डोरी र केही खन्ने खोस्रने सामग्री मात्रै छन् । ‘हँसियादेखि गैंची र बेल्चासमेत पुराना छन्, काम लिन कठिन छ,’ ती प्रहरीले भने, ‘सामान छ भनेर खटिए पनि काम गर्न सास्ती हुन्छ ।’ महँगा सामग्री खरिद गर्न बजेट भने कहिले पनि नआएको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले छिट्टै विपद् प्रतिकार्य योजना बनाउने गरी बैठक बस्ने तयारी भएको बताए । ‘मनसुन छिटो सुरु भएको छ, हामीले केही योजना र तयारी गर्नुपर्नेछ,’ ढकालले भने, ‘के–कस्ता सामग्री आवश्यक छ त्योबारेमा छलफल भएपछि नभएका सामान जुटाउने छौं ।’ उनले सबै पालिका तहमा पनि समन्वय गरेर विपद् प्रतिकार्य योजना बन्ने उनले बताए ।

प्रशासनको पहलमा गृह मन्त्रालयबाट आएर वितरण गरिनुपर्ने अघिल्ला वर्षको राहत पनि अझै नआएको पीडितले गुनासो गरेका छन् । ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिकासहित विभिन्न स्थानमा भएका घटनाका ५ सय बढी पीडितले अझै राहत नपाएको गुनासो आएको हो । आवश्यक कागजात नपुगेको भन्दै प्रशासनले धेरै पीडितलाई राहत दिएको छैन ।

सेनाले विपद् तयारी गरेको बागलुङस्थित श्रीमेहर गणका प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठले बताए । ‘बाढी पहिरोका घटना भएमा तत्काल उद्धारमा खटिनका लागि सबै सामग्री तयार गरेका छौं,’ श्रेष्ठले भने, ‘ठूला घटना भएमा सबैको साथ र सहयोग चाहिन्छ, सामान्य घटनामा सेनाले पनि साथ दिन्छ ।’ बागलुङ नगरपालिकाले विपद् व्यवस्थापन, वन तथा वातावरण समिति गठन गरेर विपद् तयारी गरेको समितिका अध्यक्ष राजु थापाले बताए । जिल्लाका सबै पालिकाले विपद् व्यवस्थापन नीति भने बनाइसकेका छन् ।

प्रकाशित : असार ४, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?