चितवन निकुञ्ज प्रवेश निषेध

पूर्वी नवलपरासी — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बुधबारदेखि निकुञ्जभित्र प्रवेशमा रोक लगाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलका स–साना खोलामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।

अर्को सूचना नआएसम्म जंगलमा जान नपाइने जनाइएको छ । यस क्रममा निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाक लगायत गतिविधि बन्द गरिएको हो ।
यस्तै वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई पनि बन्द गरिएको छ। निकुञ्जभित्र आएका पर्यटकबाट यस वर्षको गत वैशाखसम्म १० करोड भन्दा बढी राजश्व संकलन भएको निकुञ्जका सूचना अधिकृत तिवारीले जानकारी दिए ।
हरेक वर्ष सामान्यत: असारदेखि भदौसम्म निकुञ्जमा अफ सिजन मान्निछ । सौराहामा मानव चाप बढी भएका कारण गैंडा लगायत वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकहरू पूर्वी नवलपरासीको अमलटारी क्षेत्रमा आउने गरेका छन् । त्यहाँको फराकिलो घाँसे मैदानमा गैंडाको बथान नै देखिने गरेका कारण पर्यटकहरू नवलपरासीतर्फ बढी आउने गरेका हुन् ।
प्रकाशित : असार १, २०७९ १०:१२