कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीलाई कम बजेट

पोखरा — संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि गण्डकी प्रदेशलाई १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । 

गण्डकीलाई कम बजेट

वाग्मती प्रदेशलाई सबैभन्दा बढी २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ विनियोजन भएको छ । गण्डकीलाई समानीकरण अनुदानतर्फ ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट छ । यस्तै ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख, विशेष अनुदान ८६ करोड, समपूरक अनुदान ८३ करोड ७० लाख रुपैयाँ राखिएको छ ।

गण्डकीका ११ जिल्लाका लागि केन्द्रबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सो रकमबापतको बजेट आएको हो । अघिल्लो आर्थिक वर्षमा प्रदेशलाई १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । समपूरक अनुदान अघिल्लो आर्थिक वर्षभन्दा ३ करोड ६६ लाख कम हो । अघिल्लो वर्ष पनि गण्डकी प्रदेशले ७ प्रदेशमा सबैभन्दा कम अनुदान पाएको थियो । बजेटले गण्डकी प्रदेशमा पूर्वाधारलाई जोड दिएको छ ।

गण्डकीमा विभिन्न क्षेत्रमा समेटिएको बजेटले संस्कृति जगेर्नालाई पनि जोड दिइएको छ भने कृषि उत्पादनलाई पनि प्राथमिकता दिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको हिमाली जिल्लामा स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउने कार्यक्रमलाई संघीय सरकारले पनि प्राथमिकता दिएको छ । गण्डकीलाई सडक मानवमुक्त सडक बनाउन संघले पनि पहल गरेको छ । निजी क्षेत्रको लगानीमा चितवन–रामपुर–पोखरा द्रुत मार्ग निर्माण गरिने भएको छ ।

मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ । पोखरामा रहेको गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यक्रमलाई सहयोग गर्ने र मुक्तिनाथ–उपल्लो मुस्ताङ जोड्ने सडक स्तरोन्नतिका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

बागलुङको बलेवा विमानस्थलको स्तरोन्नति गर्ने भएको छ । विमानस्थल पूर्वाधारका लागि १२ अर्व २४ करोड विनियोजन भएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?