२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नाकामा नेपालीलाई सास्ती, भारतीय गाडी खुलेआम

नारायण शर्मा

पूर्वी नवलपरासी — त्रिवेणी नाका हुँदै भारतमा नेपाली सवारी साधन लैजान तीन सातादेखि भारतले प्रतिबन्ध लगाएको छ । सोही नाकाबाट भने हरेक दिन तीन सयभन्दा धेरै भारतीय गाडी नेपाल भित्रिने गर्छन् ।

नाकामा नेपालीलाई सास्ती, भारतीय गाडी खुलेआम

उक्त नाका हुँदै नेपालका सरकारी गाडीसमेत लैजान दिइँदैन । कुटनीतिक नियोगका कागजात भएका गाडी बाहेक अरु कुनै पनि सवारी साधन यो नाका हुँदै भारत जान दिइएको छैन ।

नेपालस्थित एक सुरक्षा अधिकारीले भने आफूहरूले माथिल्लो निकायमा जानकारी गराएको तर पहल नभएको जानकारी दिए । उक्त नाकाबाट गाडी लैजान नपाउँदा स्थानीयहरुलाई दैनिक रुपमा आवतजावत गर्न पनि समस्या हुने गरेको छ ।

दैनिक ७ सयको हाराहारीमा नेपालीहरु दिनहुँ उक्त नाका हुँदै भारतीय बजारमा किनमेलका लागि आउजाउ गर्छन् । शनिबार भने यो संख्या १५ सयको हाराहारीमा पुग्ने गरेको भन्सारको तथ्यांकमा छ । विदाको दिन भएका कारण शनिबार धेरै नेपाली किनमेलका लागि जाने गर्छन् ।

गण्डकी प्रदेश र भारतसँगको सिमानामा पर्ने त्रिवेणीस्थित गण्डक ब्यारेज पुल हुँदै नेपाल-भारत गाडी ओहोरदोहोर गर्दै आएकोमा तीन साताअघिदेखि भारतले आफ्नो देशमा नेपाली गाडी प्रवेशमा रोक लगाएको हो ।

नवलपरासी, चितवन र पाल्पाका स्थानीयहरु दिनहुँ सैयौंको संख्यामा पैदल भएर त्रिवेणीपारिको भैसालोटनमा किनमेलका लागि जाने गर्छन् । त्रिवेणी नाकाबाट भने भारततर्फबाट हरेक दिन तीन सयभन्दा बढी भारती गाडी (मोटरसाकल समेत) नेपाल भित्रिने गरेका छन् ।

स्थानीय अगुवा राम थापाका अनुसार भारततर्फ सीमा सुरक्षाको जिम्मा लिएको भारतीय अर्धसैनिक बल (एसएसबी)को टोलीको ड्यूटी फेरिनासाथ फरक फरक व्यवहार हुने गरेको छ । त्यहाँ हरेक १५ दिनमा नयाँ सरक्षाकर्मीको टोली राख्ने गरिन्छ । तर भारतमा किनमेल गरेर फर्किने नेपालीहरुलाई एसएसबीले जाँचका नाममा घण्टौं घाममा लाइन उभ्याएर दुःख दिँदै आएको थापाको गुनासो छ।

त्रिवेणी नाका गण्डकी प्रदेशसँग जोडिएको एक मात्र सीमा नाका हो । यहाँको नारायणी नदी दुइ देशबीचको सीमा नदी पनि हो । साथै गण्डक पुल नै नेपाल-भारत आउजाउ गर्ने एक मात्र सडक हो । पुलको दायाँबायाँ नारायणी नदी भएकाले अन्यत्रबाट भारत जान सकिँदैन ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने त्रिवेणी नाका हुँदै नेपाली गाडी भारत लैजान नदिएकोबारे आफूलाई जानकारी नै नभएको बताए । 'त्यस्तो नहुनु पर्ने हो, म बुझौँला,' उनले भने ।

विनयी त्रिवेणी गाउँपालिकाका ६ र ७ नम्बर वडा त्रिवेणीमा पर्छन् । त्यहाँका नवनिर्वाचित गाउँपालिका अध्यक्ष घनश्याम गिरीले भने भारतीय नम्बर प्लेटका गाडी बिना रोकतोक नेपाल आउने गरेकोमा यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताए ।

भारतीय प्रशासनले गर्ने यस्तो व्यवहारलाई लिएर उनले खेद व्यक्त गरेका छन् । भारतमा किनमेल गरेर पैसा बुझाएर आउने नेपालीलाई दुःख दिने गरेको भन्दै उनले यसमा स्थानीय पहलले काम नगर्ने तर गृह वा परराष्ट्र मन्त्रालयबाटै समाधान खोजनुपर्ने प्रतिक्रिया दिए ।

तीन वर्षअघि सरकारले त्रिवेणी भन्सारलाई मूल भन्सारमा स्तरोन्नती गर्ने निर्णय गरे पनि भन्सारको क्षमता विस्तारको काम अघि बढेको छैन । अर्थमन्त्रालयले मूल भन्सारमा स्तारोन्नती गरे पनि पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले नै यो भन्सार हेर्दै आएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?