सामाजिक परिचालिका हुँदै वडाध्यक्षसम्म- गण्डकी - कान्तिपुर समाचार

सामाजिक परिचालिका हुँदै वडाध्यक्षसम्म

स्याङ्जाका ९७ वडामध्ये दुईवटामा मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन्
प्रतीक्षा काफ्ले

स्याङ्जा — २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जित्ने महिला एक्लै थिइन् । फेदीखोला गाउँपालिका-५ को वडाध्यक्षमा एमालेबाट देउकुमारी गुरुङ विजयी भएकी थिइन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा महिला जम्मा दुई जना निर्वाचित भएका छन् ।


बिरुवा गाउँपालिका-३ को वडाध्यक्षमा माओवादी केन्द्रकी मनुकुमारी थापा र चापाकोट नगरपालिका-६ मा कांग्रेसकी तारा पोखरेल विजयी भएका हुन् । सामाजिक परिचालिकाको रुपमा काम गर्दै आएका दुवै जनाले राजनीतिमा फड्को मार्दै जनप्रतिनिधि भए । सामाजिक परिचालिका भएर गाउँमा काम गरिरहँदा राजनीति मोह जागेको उनीहरू बताउँछन् ।

चापाकोट-६ की पोखरेल स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)अन्तर्गत चापाकोटमा काम गर्दै गर्दा पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएको उनले बताइन् । नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा गरेकी ४१ वर्षीया पोखरेलले नेपाल महिला संघ चापाकोटको सचिव भएर काम गर्दै आएकी छन् ।

‘मलाई सानैदेखि राजनीति गर्ने इच्छा‚’ उनले भनिन्, ‘गाउँमा बसेर काम गर्दा महिला नेतृत्व भए जनताको घरदैलोमा पुगेर साना-साना समस्या बुझ्छन् भन्ने लाग्थ्यो यसैले पनि प्रेरण मिल्यो ।’

२०५८ सालदेखि राजनीति यात्रा सुरु गरेकी पोखरेलले महिलालाई आर्थिक रुपमा कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढ्ने सुनाइन् । खानेपानी, विद्युत्, बाटोको समस्या रहेको बताउँदै उनले आधुनिक कृषि प्रणलीमा पनि वडामा भूमिका खेल्नुपर्ने बताइन् । नमूना वडा बनाउने योजना उनको छ । यस्तै, बिरुवा ३ की मनुकुमारी थापा पनि राजनीति गर्दागर्दै जनप्रतिनिधि बनेको बताउँछिन् । माओवादीको वडाध्यक्ष हुँदै जिल्ला सदस्य भएकी उनी लामो समयदेखि महिला संगठनमा काम गरेकी छन् ।

‘पार्टीको पनि जिम्मेवारी भूमिकामा छु‚’ उनले भनिन्, ‘माओवादी भएर धेरै संघर्ष गरे । जनयुद्धदेखि नै माओवादीमा लागे पनि खुलेर राजनीति भने शान्ति प्रक्रियापछि नै गरेकी हुँ । घर परिवारले जनयुद्धमा धेरै दुःख गर्नुभयो‚ जसले राजनीतिमा होमिन बाध्य बनायो ।’

गाउँमा बसेर काम गर्दैगर्दा, जनताकै सेवामा खटिरहँदा जनताले विश्वास गरेर जनप्रतिनिधि बनाइदिएको उनको भनाइ छ । ‘अब झन् जिम्मेवारी बढेको छ‚’ उनले भनिन् । बिरुवा क्षेत्र जनयुद्धको बेलामा आधार क्षेत्र मानिन्थ्यो । स्याङ्जामा माओवादीले एउटा मात्र वडा जितेको छ । माओवादीबाट स्याङ्जाकै एकल जनप्रतिनिधि हुन मनुकुमारी । यसअघिको स्थानीय निर्वाचनमा पनि माओवादीले स्याङ्जामा एउटा मात्र वडा जितेको थियो ।

गत वैशाखको निर्वाचनमा महिला नेतृत्वमा आउन सकेनन् । जिल्लाका ११ वटा पालिका प्रमुखमा महिला नेतृत्व एउटा छैन । ९७ वडाका दुई अध्यक्ष मात्र महिला हुन् । मनुकुमारीले कृषिलाई प्रमुख प्राथमिकता दिएको बताइन् ।

गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षामा जोड दिने बताउँदै उनले वडाबाट तल्लो तहका महिलालाई आत्मनिर्भर बनाउन आफ्नो भूमिका रहने सुनाइन् ।

‘बालिकालाई आत्मरक्षाका लागि के गर्न सकिन्छ ? यो पनि सोचिरहेको छु‚’ उनले भनिन् । सदरमुकामबाट टाढा नभए पनि दुर्गम मानिने बिरुवालाई नमूना वडा बनाउन आफू तत्पर रहेको उनले बताएकी छन् । विभिन्न सामाजिक संघसंस्थामा काम गरेकी थापासँग भू-संरक्षणमा समाज परिचालक भएर काम गरेको अनुभव छ ।

रेडक्रस र सहकारीमा पनि उनले लामो समय काम गरेकी थिइन् । जसका कारण आर्थिक क्रान्तिमा नै जोड दिनुपर्ने उनको धारणा छ । निर्वाचनमा महिलाको भूमिका महत्त्वपूर्ण मानिने भए पनि पार्टीले महिलालाई नेतृत्व तहमा पुर्‍याउन आनाकानी गर्दा महिला अध्यक्ष न्यून छन् ।

स्याङ्जाका दुई गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार बनाएको भए पनि दुवै जना पराजित भए । जसका कारण नेतृत्वमा पुरुषकै दबदबा हुन पुग्यो । गण्डकी प्रदेशका ८५ पालिकामा ७ सय ५९ वडा छन् । जसमा १८ वडामा मात्र वडाध्यक्ष पदमा महिला निर्वाचित भए ।

गण्डकीका केही पालिकामा महिला र दलित महिला सदस्य पदसमेत खाली छ । हिमाली जिल्लाका २७ वडामा दलित महिला सदस्य र एउटा वडामा महिला सदस्य पद रिक्त छ ।

स्याङ्जाको बिरुवा-३ र चापाकोट-६ मा वडाध्यक्ष पदमा निर्वाचित मनुकुमारी थापा र तारा पोखरेल

प्रकाशित : जेष्ठ ९, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

दुई दिने बिदाले सेवाग्राहीलाई मर्का

शनिबार र आइतबार दुई दिन सार्वजानिक बिदा दिने संघीय सरकारको निर्णयले सेवाग्राहीलाई सरकारी कामकाजका लागि खर्च बढाउनुको साथै समयसमेत बढाएको छ । 
प्रतीक्षा काफ्ले

कास्की — गोरखाको चुमनुव्रीवासीलाई सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम गोरखा बजार आइपुग्न पाँच दिन लाग्छ । हालसम्म मोटरबाटोको सुविधा नपुगेको चुमनुव्रीबाट सदरमुकाम आएर सरकारी काम लिएर फर्किदा अर्को पाँच दिन लाग्छ । सरकारी काम लिन १० दिन हिँड्नुपर्ने त छँदै छ अझ थपिएको सरकारी बिदाले चुमनुव्रीवासीलाई सरकारी कामकाज लिन थप दुई दिन कुर्नुपर्ने बाध्यता बनाएको छ । 

सामागाउँका पासाङ शेर्पा भन्छन्, ‘सदरमुकाम गएर एक दिनको सरकारी काम गर्न हामीलाई ११ दिन लाग्छ । अहिले सरकारले दिएको सार्वजानिक बिदाले गर्दा दुई दिन थपिएको छ । सरकारी बिदाका कारण हाम्रो खर्च पनि बढेको छ ।’ उनले सार्वजानिक बिदाले आफूहरू मारमा परेको बताए । यस्तै, गण्डकीमा मोटरबाटोले नछोएको मनाङको नार्पाभूमि गाउँपालिकाका बासिन्दालाई पनि जिल्ला सदरमुकाम चामे आएर सरकारी सेवा लिन उस्तै सास्ती छ । सदरमुकाम पुगेर फर्किन यहाँका बासिन्दालाई ४ दिन लाग्छ भने सरकारी कामका लागि छुट्टै एक दिन लाग्छ ।

चुमनुव्री र नार्पाभूमिका स्थानीयलाई मात्र होइन, थप भएको सार्वजानिक बिदाले आम सर्वसाधारणलाई समेत असर पारेको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सरकारी सेवा लिन जनता दुर्गम क्षेत्रबाट मात्र होइन, अमेरिकाबाट पनि आउने भएकाले यसमा बढाइचढाइ गर्न आवश्यक नरहेको बताए । ‘नेपालमा शनिबार मात्रै बिदा दिने भएकाले यो नौलो लागेको हो,’ उनले भने, ‘यसभन्दा पनि पहिले साताको दुई दिन बिदा दिने निर्णय भएको नै थियो ।’

उनले सरकारले दिएको बिदामा जतिसुकै टाढाबाट सेवाग्राही आए पनि सरकारी अड्डा बन्दै हुने बताए । काठमाडौंको एक कम्पनीमा कार्यरत स्याङ्जाको पुतलीबजार नगरपालिका–८ कोल्माका थमबहादुर गुरुङ आफ्नो जग्गाको कामले पोखरा आए । बिहीबार साँझ पोखरा आएका उनी शुक्रबार काम सकेर रात्रप बस अर्थात शनिबार बिहान काठमाडौं जाने तयारीमा थिए । जग्गाको झन्झटिलो काम । उनले योजना बनाएअनुसार शुक्रबार आफ्नो काम सकाएनन् ।

शनिबार मात्र नभई आइतबार पनि पोखरा नै बस्नुपर्ने गुनासो उनको छ । ‘यो कस्तो बाध्यता ?,’ आक्रोश पोख्दै उनले भने, ‘एक दिनको बिदा लिएर आएको थिए चार दिन यही भुल्नुपर्ने भयो ।’ यदि आइतबार सार्वजानिक बिदा नभएको भए उनी आइतबारै काम सकेर काठमाडौं फर्किन्थे । ‘पोखराको महँगी, होटलमा बस्नुपर्‍यो, खानै पर्‍यो,’ उनले थपे, ‘न काम हुन्छ भन्ने ढुक्क छ । खाली खर्च मात्रै बढ्यो ।’

शुक्रबार बिहान सुनसान कास्की मालपोत कार्यालय । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर

सार्वजानिक बिदा कर्मचारीको लागि फाइदा भए पनि आफू जस्ता सेवाग्राहीका लागि समयको बर्बादी र खर्च बढाउनेबाहेक अरु केही नरहेको उनले आक्रोश पोखे ।सेवाग्राहीको बढी भीड हुने मालपोत, नापीलगायतका कार्यालयमा बिहान साढे नौ बजे र बेलुका ५ बजेपछि स्थलगत रिर्पोटिङको लागि कान्तिपुरकर्मी पुगेका थिए । मालपोत र नापी कार्यालय खुलेका भए पनि सेवाग्राही थिएनन् ।

१० बजेअघि नै उपस्थित भए पनि ठीक साढे नौ बजे कुनै कर्मचारी उपस्थित थिएनन् । नापी कार्यालयमा पनि शुक्रबार बिहान कार्यालयका सवै कोठा खोलिएका थिए । फाटफुट कर्मचारी, कार्यालय सहयोगी भए पनि सवै कर्मचारी उपस्थित भएनन् । नापी कार्यालयका एक कर्मचारी भन्छन्, ‘सरहरु फिल्ड जानुभयो होला आउन समय लाग्छ ।’

मालपोत कार्यालयका प्रमुख राजेन्द्र पौडेलले निर्वाचनको समय भएकाले सेवाग्राही बिहानै कार्यालय नआएको बताए । ‘सरकारले बनाएको नियमअनुसार हामी बिहान साढे नौ बजे नै कार्यालय आएका छौँ,’ उनले भने, ‘शुक्रबार पनि बेलुका साढे ५ बजेसम्म बस्छौँ ।’ सेवाग्राहीमा अझै पनि बिहान १० बजे सरकारी कार्यालय खुल्छन् भन्ने मानसिकता छ । बेलुकाको समयमा भीडभाड भए पनि बिहानपख कार्यालय सुनसान हुने पौडेलले बताए ।

वैशाख १४ मा बसेको संघीय मन्त्रिपरिषद्को बैठकले आइतबार पनि सार्वजानिक बिदा दिने निर्णय गरेको थियो । मूलुकमा आर्थिक संकट परेको र इन्धन खपत कम गर्न भन्दै जेठ १ देखि लागू हुने गरी हप्तामा एक दिन सार्वजानिक बिदा थप गरेको थियो । काठमाडौं उपत्यकामा शनिबार र आइतबार सार्वजानिक बिदा दिने चलन भने विगतमा कार्यान्वयनमा आएको थियो । तर, सार्वजानिक सेवा सञ्चालनमा कर्मचारीले ध्यान नदिएपछि त्यो निर्णय कार्यान्वयन भएन । व्यवसायी सन्देश घिमिरेले बिदा दिएर मात्र आर्थिक संकट व्यवस्थापन नहुने बताए ।

‘हाम्रो जस्तो मुलुकमा दिनरात गरेर चौबीसै घण्टा काम गर्नुपर्ने हो । तर, त्यसविपरीत कर्मचारीको दबाब र प्रभावमा सार्वजानिक बिदा थप्ने काम भएको छ’ घिमिरेले भने, ‘यो प्रत्युत्पादक हो ।’ विकसित देशमा सातामा दुई दिन सार्वजानिक बिदा दिने चलन छ । तर, दक्षिण एसियाली देशमा भने सातामा एक दिन मात्र सार्वजानिक बिदा दिने चलन रहेको घिमिरे बताउँछन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×