पोखरामा एमालेको नाराबाजीले रोकिएको मतगणना पुन: सुरु- गण्डकी - कान्तिपुर समाचार

पोखरामा एमालेको नाराबाजीले रोकिएको मतगणना पुन: सुरु

कान्तिपुर संवाददाता

पोखरा — पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि मतगणना प्रभावित भएको छ । विवादका कारण केहीबेर मतगणना स्थगित भएको थियो । अहिले पुन: मतगणना सुरु भएको छ ।

सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवाद भएको थियो ।

वडा नम्बर ७ को मतगणना भइरहँदा एमाले प्रतिनिधिले नेपाली कांग्रेसले धेरै प्रतिनिधि प्रवेश गराएको आरोप लगाएका थिए । कांग्रेसका प्रतिनिधिले भने गठबन्धनका दलको तर्फबाट गणक प्रतिनिधि खटाएको दाबी गरेका छन् ।

त्यही क्रममा विवाद हुँदा केही बेर मतगणना स्थगित भएको हो । एमाले कार्यकर्ताले मतगणना भइरहेको हल बाहिर नाराबाजी गरेपछि मतगणना कार्य रोकिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि हाल मतगणना सुरु भइसकेको छ ।

पोखरामा हाल सत्तारुढ गठबन्धनबाट मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य एमालेका कृष्णबहादुर थापाभन्दा २ हजार भन्दा बढी मतले अगाडि छन् । वडा नम्बर १ र ५ एमालेले जितेको छ भने २, ३, ४, १२, १३, २३, २४ र २६ कांग्रेसले जितेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङको मध्यनेपालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखममा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार राजकुमार श्रेष्ठलाई ३ सय ३७ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । रमेशकुमारले ६ हजार ५ सय ५१ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २ सय १४ मत पाएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताए ।

उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई १ हजार ३ सय ४२ मत अन्तरले हराउँदै विजयी भएकी छन् । सीताले ६ हजार ४ सय १६ मत प्राप्त गरिन् । उपेन्द्रले ५ हजार ७४ मत पाए ।

प्रमुखका दाबेदार राप्रपाका प्रतापशाली घिमिरेले २ सय ५१, स्वतन्त्रका प्रभुराज घिमिरेले २१ र मंगोल नेश्नल अर्गनाइजेशनका महेन्द्र गुरुङले १९ मत पाएका छन् । उपप्रमुखका प्रत्यासी राप्रपाका शोभा रानागरमले ४ सय ४७, स्वतन्त्रका नारायणबहादुर कुँवरले ८५ र जसपाका गेहराज पौडेलले १ मत पाएका छन् ।

वडाअध्यक्षका कांग्रेस उम्मेदवारहरु वडा नं. २ मा पदमबहादुर थापा, ३ मा केशव न्यौपाने, ४ मा रामबहादुर श्रेष्ठ, ५ मा ओमवीर गुरुङ, ७ मा हिरा गुरुङ, ९ मा महेशकुमार पाण्डे र १० मा रामचन्द्र भण्डारी गरी ७ जना निर्वाचित भएका छन् । एमालेतर्फ वडा नं. १ मा सुदीप थापा, ६ मा विष्णुभक्त पौडेल र ८ मा चन्द्रप्रसाद गुरुङ एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×